logo-img

श्रावण शुक्ल पूर्णिमा : यस्तो छ जनै र हातमा रक्षासूत्र लगाउनुको कारण

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी पर्वको अलग्गै महत्त्व छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । घर घरमा पनि पूजा आराधना गरेर रक्षा बन्धन गर्छन् । वास्तवमा जनै लगाउने नलगाउने जोसुकैको लागि जनै पूर्णिमा भन्ने गरिन्छ । तर नेवार समुदायले जनै पूर्णिमा भन्दैनन् । उनीहरूले विशेष गरी क्वाँटी पूर्णिमा भन्छन् ।

जनै पूर्णिमामा ऋषिहरूको पूजा गरिन्छ । ऋषि भनेको रिसर्चर हुन । ऋषिहरूले बाँच्नको लागि हाम्रो शास्त्रहरूलाई आधार मानेर विभिन्न विधिहरू तयार गरेका छन् । वेद, कर्मकाण्ड ऋषिहरूले नै लेखेका हुन् । कष्यभ, विश्वामित्र, अत्रि, गौतम, भारद्वाज, वाशिष्ठलगायतका ऋषिहरूको पूजा हुन्छ । ब्राह्मण, क्षेत्री, बैष्य र शूद्र गरेर चार वर्णका व्यक्तिहरु भएपनि सबैले जनै लगाउँदैनन् ।

बाहुन र क्षेत्री बाहेक अरुले जनै नै लगाउँदैनन् । गिरि, क्षत्री वर्गमा पर्नेहरू प्रायजसोले जनै लगाउँदैनन् । हिजोआज त ८० प्रतिशत वाहुनले जनै लगाउँदैनन् । किनभने हामीले जनैको महत्त्व बुझाउन सकेका छैनौं । हाम्रो सबैभन्दा ठूलो मन्त्र गायत्री मन्त्र त्यसको महत्वको बारेमा बुझाउन सकेनौ । त्यो कमजोरी हाम्रो हो । ऋषिहरूले धेरै शास्त्र छाडेर गएकाले त्यसलाई सम्झना मात्र गर्नसके राम्रो हुन्छ । 

भोलानाथ घिमिरे

डोरा लगाउने भन्दैमा पसलबाट किनेर लगाउँदैमा हुँदैन । त्यसका लागि रुद्री गर्नुपर्छ, शिवजीको रुद्री गरिन्छ, मन्त्र पढिन्छ । त्यसपछि मात्र डोरोलाई प्रसादको रूपमा लिने हो ।  तर अहिले बिहान ३ बजे मन्दिरमा कोही मान्छे पुग्छ, वाहुनको बस्त्र लगाएको जुनसुकै जातको व्यक्तिसँग डोरा बानिन्छ । कसैलाई मतलब छैन । वस्त्रमा लगाउँदैमा वाहुन भइदैन सङ्कल्प पनि गर्न जान्नुपर्छ । ३ बजे मन्दिरमा जान्छ न मुख धुन्छ, न नुहाउँछ त्यस्ता मान्छे गएर दिनभर डोरा बानेर बस्छ । त्यो डोराको के महत्त्व हुन्छ । तपाईँको आफ्नो बाहुन छ, घरमा आउँछ भने डोरा लगाउनु नत्र नलगाए पनि हुन्छ ।

कुरा यत्ति हो हामीले जनै सधैँ लगाउनुपर्छ । ऋषिको पूजा गर्दा दाँयापट्टी र पृतिको पूजा गर्दा बायाँ पट्टी लगाउनुपर्छ । जनै पूर्णिमामा बाँधेको डोर लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा बाँध्ने चलन छ । ऋषिहरूले के पत्ता लगाएको थियो भने गाइभन्दा असल प्राणी मनुष्यको लागि कोही पनि छैन भन्ने हिसाबले नै गाईको पुच्छरमा बाँध्नु भनेको हो । जसका कारण हामी स्वर्ग पुग्छौ, गाईले स्वर्ग लान्छ भन्ने मान्यता छ ।



०००

जनै लगाउने र नलगाउनेबीच केही भिन्नता हुन्छ । जनै लगाउने तागाधारीहरू र नलगाउनेहरूको खानपान एकदमै फरक हुन्छ । जनै लगाउनेहरूमा कब्जीयतका सङ्केतहरू बढी हुन्छन् । 



पुरुषहरूको भित्री आँखामा जनै पूर्णिमाको महत्वलाई नबुझेर अहिले आपराधिक घटना बढेको छन् । जनै लगाउने भनेको उपनयन गरेपछि हो । उपनयन भनेको भित्री आँखा हो । भित्री आँखा भनेको यो गर्न हुने–नहुने भन्ने छुट्याउनु हो । 

जनै फेर्ने भनेर जनै शब्द आयो । पूर्णिमा तिथिमा मनाउने पर्व भएको भएर पूर्णिमा भन्ने शब्द आयो । यसमा पनि रक्षा बन्धन, रक्षा सूत्र भन्ने हुन्छ । रक्षा सूत्र धार्मिक पद्धति हो । रक्षा सूत्रसँग रक्षा बन्धन जोडिने भएकाले यसको विशिष्ट मान्यता छ । पौराणिक कालसँग जोडेर हेर्ने हो भने इन्द्र इन्द्रायणी, वृहस्पति ग्रहले रक्षा सूत्रलाई जगाएर इन्द्रायणीमार्फत अलग्गै व्याख्या गरेको छ । इन्द्र लगाएर युद्ध जितेको हुनाले श्रीमतीलाई रक्षा सूत्र लगाएर काममा पठाउने भन्ने अर्थमा रहेको मानिन्छ । पछिल्लो समय यमुना यमराजसँग जोडिएर बहिनीले दाजुलाई दाजुले बहिनीलाई रक्षा सूत्र लगाएपछि यसले राम्रो गर्छ भन्ने धार्मिक मान्यता छ ।

कतिपय अवस्थामा विश्वासको कुरा पनि हुन्छ । म रक्षा सूत्रमा बाँधिएको छु, म युद्ध लड्न योग्य छु भन्ने विश्वास हुन्छ । रक्षा सूत्रले राम्रो गर्छ भन्ने आत्मबल पनि बढाउँछ । मैले रक्षा बन्धन बाँधेको छु, म सुरक्षित छु भन्ने आत्मबल बढ्छ । र हाम्रो पहिचान पनि हो यो । हामी हिन्दु भनेर भन्छौँ तर यसो हेर्दा पनि पहिचान चाहिँ केही पनि छैन । 

तुलसी भारद्वाज निरौला

अहिले रक्षा बन्धनको समयमा घरमा बेसारले भिजाएको डोरो भन्दा बजारबाट किनेर ल्याए सजिलो हुन्छ भनेर सजिलोको लागि बजारबाट किनेको राखिको प्रयोग गरिन्छ । तर त्यो बजारबाट ल्याएको राखिलाई पनि विधि पुर्‍याएर मन्त्र पढेर लगाउने हो भने राम्रो हुन्छ । 

हुन त सनातनकै पद्धति हो । यमुनाले यमराजलाई लगाएको भनेर सुरु भएको हो । सबै धार्मिक पद्धति नै हो तर कतिपय पद्धतिहरू कुनै ठाउँमा धेरै मानिन्छ कुनै ठाउँमा मानिदैन । नेपालको कुरा गर्ने हो भने बाहुनले घर घरमा आएर डोरो बान्ने चलन बढी थियो, अहिले पछिल्लो समयमा राखी बान्ने भारतबाट चलन आएको छ । यसलाई त्यति ठूलो विकृति भन्न मिल्दैन । डोरो बान्ने चलन वर्तमान समयमा आएर राखीमा परिणत भएको हो । 

जनैपूर्णिमाको दिन क्वाटी खाने चलन पनि छ । नेपाल कृषिप्रधान देश हो, यहाँ दिनभर काम गरेर हाम्रो शरिर कमजोर भएको हुन्छ । क्वाँटीमा धेरै थरीका गेडागुडी भएकाले प्रोटिनहरु बढी हुन्छ । त्यसले हाम्रो शरीरमा ऊर्जा जगाउने काम गर्छ । असार, साउनका काम गरेको सबै थकान कम गर्नको लागि पनि क्वाँटी खानु राम्रो हुन्छ । यो एकदमै राम्रो पद्धति हो । जनै पूर्णिमा मात्र होइन, हामीले मान्ने सबै प्रकारको चाडपर्वमा राम्रा वैज्ञानिक आधारसहितका पद्धतिहरू रहेका छन् ।  

  • प्रकाशित मिति : भदौ ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया