logo-img

आवरणमा ‘महाराज’, आचरणमा ‘गुण्डाराज’ [भिडियोसहित]
थानकोटदेखि पशुपतिसम्म ‘महाराजको’ ठगी यात्रा !

साउन १ देखि ३२ सम्म पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन भएको ‘कोटिहोम महायज्ञ’ अहिले सकिएको छ । तर, यसले उब्जाएका विवाद भने अझै बाँकी छन् । मानव सेवा फाउन्डेसनको आयोजनामा भएको भनिएको ‘ज्ञान महायज्ञ २०८१’ कोटिहोमको अन्तिम दिन अर्थात् साउन ३२ गते शुक्रबार भएको विवादले कोटिहोमको आयोजक संस्थाका अध्यक्ष विजय भण्डारी अर्थात् ‘बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराज’को ठगी यात्रालाई उदांगो पारिदिएको छ ।

धर्मका नाममा ठगीयात्रा उनको यो पहिलो होइन । उनी यसअघि नै विभिन्न विवादमा मुछिएर जेल परेका व्यक्ति हुन् । विगगतका काला कर्तुतलाई गेरुवस्त्रले छोप्न खोज्दैमा अतीत लोप भएर जाँदैन । रत्नाकर डाँकु सुध्रिएर विद्वान् वाल्मीकि बन्न सक्छ । आवरण फेरिएको छ, तर आचरण उही छ भने त्यसलाई ठगी भनिन्छ । हो, भण्डारी यही गेरुवस्त्रको आवरणमा फेरि विवादमा तानिएका छन् ।

उनको आवरण मात्रैलाई देखेर भण्डारी साँच्चै धर्मगुरु नै हुन् कि भन्ने भान पनि कतिलाई परेको हुन सक्छ । तर, उनी साँच्चै धर्मगुरु थिए भने आलोचकका पनि कुरा सुन्थे । विगगतमा आफूबाट जान–अञ्जानमा गल्ती भएका भए पनि आगामी दिनमा त्यसलाई सुधार्ने प्रण गर्थे । तर, कोटीहोम समापनको अन्तिम साँझ उनले आफ्नो असली रूप पुनः देखाइछाडे, समाचार लेखेकै भरमा एक पत्रकारलाई मरणासन्न हुनेगरी रामधुलाइ गरेर । 

उनको अघि–पछि हिँड्ने एकाध अन्धभक्तले सञ्चारकर्मी मात्र होइन, कोटिहोममा पुगेका केही व्यक्तिलाई हातपात गरेपछि उनको असली रूप पुनः एकपटक बाहिर आएको हो । समाचार लेखेकै कारण कोटिहोमको अन्तिम दिन नेपालभ्युजका सञ्चारकर्मी श्यामसुन्दर पुडासैनीलाई भण्डारीका भक्तहरूले दुव्र्यवहार गरेका थिए । सञ्चारकर्मी पुडासैनीले समाचार लेखेकै कारण आफूमाथि हातपात भएको बताए । 

फरकधारसँग कुराकानी गर्दै पुडासैनीले भने, ‘घटनाको दिन रिपोर्टिङकै सिलसिलामा कोटिहोम पुगेको थिएँ । त्यहाँ एकजना युवाले कोटिहोमको हिसाबकिताब माग्दै थिए । उनलाई भण्डारीका समर्थकले हातपात गर्दै कुनातिर लगेका थिए । हिसाब माग्ने ती युवाको अत्तोपत्तो छैन । मैले ‘आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल’ शीर्षकमा घटना हुनुभन्दा तीन दिनपहिले समाचार लेखेको थिएँ । त्यही समाचार लेखेकै कारण ममाथि हातपात भयो ।’ 



आफूमाथि भएको दुव्र्यवहारविरूद्ध उजुरी दिने तयारीमा रहेको पुडासैनीले जानकारी हामीलाई दिएका छन् । उक्त दिन आफूमाथि हातपातसँगै लुटपाटसमेत भएको उनको भनाइ छ । धर्मको आडमा ठगीधन्दा चलाइरहेका भण्डारीले उनको विगतबारे खोतल्ने र धर्मको नाममा गरेको व्यापारको हिसाब–किताब माग्नेलाई अन्धभक्त लगाएर कुटपिट गर्न पछि हट्दैनन् ।

कोटिहोममा राखिएका ‘स्किम’हरूले पनि उनले धर्मका नाममा पैसा उठाउनकै लागि कोटिहोम सञ्चालन गरेका हुन् भन्ने कुराको पुष्टि गर्छ । उनी अध्यक्ष रहेको मानव सेवा फाउन्डेसनले कोटिहोममा पुगेका भक्तजनहरूका लागि राखेको स्किम यस्तो थियो कि जति धेरै दान दियो त्यति धेरै मान पाइयो । व्यक्तिको धार्मिक आस्थामा उत्तेजना मिसाएर सकेको लुट्ने अभिप्रायले नै कोटिहोम सञ्चालन गरिएको कुरा उक्त स्किमले पनि पुष्टि गर्छ ।



उक्त फाउन्डेसनले एक लाखदेखि पाँच लाख ५५ हजार रुपैयाँसम्म दान गर्नेहरूका लागि विभिन्न प्याकेजसहितको अफर ल्याएको थियो । एक लाखदेखि तीन लाख रुपैयाँसम्म दान गर्नेको परिवारका ६ जना सदस्यलाई सम्मान गर्ने र तीमध्ये चारजनालाई दुबोको माला लगाएर घरबाटै बाजा गाजासहित महायज्ञ परिसरमा ल्याउने । उसलाई विशेष सम्मान गरी आश्रमको अभिभावक सदस्यमा मनोनीत गर्ने र उक्त दिनको एक सत्रको प्रमुख अतिथिको रूपमा विशेष अभिनन्दनको व्यवस्था गरिएको थियो ।

यो कोटिहोममा अचम्मको अर्काे ‘स्किम’ त के छ भने एक लाख रुपैयाँ दान गर्नेलाई अनाथ बालबालिकाको अभिभावक बन्ने अफर फाउन्डेसनले प्रदान गरेको थियो । फाउन्डेसनले ‘मामाघर अनाथालय आश्रम’मा रहेका एक वा सोभन्दा बढी अनाथ बालबालिकाको अभिभावक बन्न पाउने घोषणा गरेको छ । यो अफरको अर्थ के हो ? प्रश्न उठ्छ, एक लाख रुपैयाँ दिएकै भरमा कोही अनाथ बालबालिकाको अभिभावक बन्न सक्छ ? अनाथ बालिबालिकाको अभिभावक बन्ने छुट्टै प्रक्रिया छ, त्यसका लागि छुट्टै कानुन छ । जसलाई बेवास्ता गर्दै फाउन्डेसनले पैसा दिएकै भरमा बालबालिकालाई कुनै पनि व्यक्तिको जिम्मा लगाउन पाउँछ ? 

को हुन् विजय भण्डारी ?

विजय भण्डारी हालसम्म अन्य तीनवटा नामले परिचित छन् । ‘विष्णु प्रपन्नाचार्य’, ‘बाल योगेश्वर महाराज’ र ‘बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराज’का नामले चिनिन्छन् उनी । ०४४ सालमा गुल्मीमा जन्मिएका विजय भण्डारीले गाउँकै हिमालय उच्च माध्यमिक विद्यालयमा कक्षा ८ सम्मको अध्ययन गरेका थिए । 

जनयुद्धकालमा प्रहरीको नजरमा परेपछि ८ कक्षा पास गरेलगत्तै काठमाडौं आएका उनी आफन्तको सहयोगमा थानकोटस्थित अरबिन्दो योगा मन्दिर आश्रममा बसेका थिए । आश्रमकै सहयोगमा माउन्ट भ्याली विद्यालयबाट कक्षा १० सम्मको अध्ययन पूरा गरेका छन् । यहीँदेखि सुरु हुन्छ, विजयको चोरी र ठगी धन्दा । आश्रममा रहेकै बेला गाडीको टायर चोरी गरेको प्रमाणित भएपछि उनलाई आश्रमले निकालेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका छन् । 

०६८ सालमा आफैँले पाँच लाख रुपैयाँ खर्चेर काठमाडौंको कलंकीमा भागवत पुराण लगाएका विजयले सोही समयदेखि गेरुवस्त्र धारण गरेका थिए । सोही समयदेखि धर्मको नाममा व्यापार गर्दै आएका उनले त्यसपछि विस्तारै आफूलाई कथावाचकका रूपमा चिनाउन थाले । हिन्दू देवीदेवता र धर्मशास्त्रको आडमा कथा वाचन गर्दै भक्तजनबाट चन्दा संकलन गर्नु नै उनको धन्दा बन्दै आएको छ । 

भण्डारीले ०६८ मा ‘श्री मानव कल्याण आध्यात्मिक परोपकार संघ’ नामक संस्था खोलेका थिए । यही संस्था स्थापना नै उनको ठगी गर्ने पहिलो ‘प्लेटफर्म’ बनेको देखिन्छ । उनले सोही संस्थामार्फत विभिन्न व्यक्तिलाई अमेरिका पठाउँछु भन्दै रकम असुली सुरु गरेका थिए ।

अमेरिकामा हुने धार्मिक कार्यक्रममा लैजाने भन्दै उनले विभिन्न व्यक्तिसँग रकम असुली गर्न थाले । प्रतिव्यक्ति सात लाख रुपैयाँ उठाए पनि अमेरिका पुर्याउन नसकेपछि उनीविरूद्ध उजुरी परेको थियो । उजुरी परेपछि भण्डारीलाई प्रहरीले ०७१ भदौ ७ गते पक्राउ गरेको थियो । उनी पक्राउ परेको समाचार तत्कालीन समयमा विभिन्न सञ्चारमाध्यममा छापिएका थिए । 

उनले अमेरिका लैजाने भन्दै विभिन्न ३३ जनासँग १ करोड २७ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए । तत्कालीन समयमा सरकारी वकिल कार्यालयले भण्डारीसहित चारजनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ०७३ मंसिर ६ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजलासले विष्णु प्रपन्नाचार्य भनिने विजय भण्डारीलाई दुई वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको फैसला गरेको थियो ।

सुन्धारास्थित केन्द्रीय कारागारमा ०७१ असोज ६ गते पुर्पक्षका लागि थुनामा पुगेका उनी अदालतको फैसलापछि कैद सजाय भुक्तान गरेर ०७३ चैत १४ मा रिहा भएका थिए । तर, उनीविरूद्धको अर्काे मुद्दाको फैसला भइसकेको थिए ।

०६९ कात्तिकमा उनीविरूद्ध वैदेशिक रोजगार विभागमा केही व्यक्तिले ठगी मुद्दामा जाहेरी दिएका थिए । जसकारण जेलबाट रिहा भएको केही समयभित्रै पुनः गुल्मीबाट पक्राउ गरी प्रहरीले उनलाई वैदेशिक रोजगार विभागमा बुझाएको थियो । विभागले अनुसन्धान गरी उनीविरुद्धको मुद्दा वैदेशिक रोजगार न्यायाधिकरण कार्यालयमा दर्ता गरिसकेको थियो ।

लामो बहसपछि न्यायाधिकरणको कार्यालयले ०७५ जेठ २७ गते उनलाई एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार बिगो जरिवाना ठहर गरेको थियो । यही क्रममा विभिन्न समय पक्राउ परेको दिन घटाएर भण्डारीले एक वर्ष ५ महिना २७ दिन कैद सजाय भुक्तान गर्नुपर्ने भए पनि  फैसलाको निर्णय बुझ्न नआई फरार भए । त्यसपछि ०७५ चैत २४ गते न्यायाधिकरणको कार्यालयले उनको घरमा अन्तिम फैसलाको सूचना टाँस गर्न जिल्ला अदालत गुल्मीलाई पत्राचार गरेको थियो । न्यायाधिकरणको फरार सूचीमा रहेका उनलाई हालसम्म प्रहरी प्रशासनले पक्राउ गर्न सकेको छैन ।

कोटिहोमको अन्तिम दिन अर्थात् साउन ३२ गते शुक्रबार उनलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरेको थियो । तर, त्यो प्रयास विफल भयो । कोटिहोममा आफूलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी आइपुगेको सुइँको पाएपछि भण्डारीले आफ्ना समर्थकलाई प्रहरीसँग भिडाए । त्यहाँबाट उनी भाग्न सफल भएका थिए । विदेशीको इसारामा प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै फेसबुक लाइभमार्फत उनले बंगलादेशको आन्दोलन सल्किएको भड्काउ अभिव्यक्ति दिएका थिए । सरकारविरुद्ध नाराबाजी र प्रहरीमाथि हातपात तथा गालीगलौज गरेको त उनकै फेसबुक लाइभ भिडियोमा देख्न र सुन्न सकिन्छ । तीमध्ये दुईजनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसअघि पनि प्रहरीले पक्राउ गर्ने प्रयास गर्दा कथित महाराज प्रहरीको पञ्जाबाट उम्किँदै आएका थिए । ०७६ भदौ २८ देखि असोज ११ सम्म गुल्मीको रिडीमा आयोजित महायज्ञमा भण्डारी उपस्थित हुने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो । तर भण्डारीले पक्राउ हुनबाट जोगिन न्यायाधिकरणको आदेशविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदनको उजुरी दिएर आफू पक्राउ हुनबाट जोगिएका थिए ।

विवादै विवादमा सकियो एकमहिने कोटिहोम

पशुपतिनाथ मन्दिरपरिसरमा साउन महिनाभर चलेको कोटिहोममा एकपछि अर्काे विवाद आएको थियो । कहिले कथावाचकले बोलेका शब्दले कोटिहोम विवादमा तानियो त कहिले कोटिहोम आयोजकले देखाएको अराजकताले कोटिहोमलाई विवादमा ल्यायो ।

कोटिहोम महायज्ञ ज्योतिषशास्त्रको सिद्धान्तविपरीत रहेको विषयले पनि कोटिहोममाथि प्रश्न उठाएको छ । महायज्ञको साइत नमिलेको र शास्त्रीय मान्यताको परिपालना नगरेकाले यो कोटिहोम नै नभएको भन्नेहरू पनि यसैबीच भेटिए । हिन्दू धर्मशास्त्रका ज्ञाता एवं पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले यज्ञमा सम्पूर्ण रूपले शास्त्रहरूको उल्लंघन गरिएको बताएका छन् । उनका अनुसार कोटिहोममा औँशी पार्नुहुँदैन, तर साउन २० गते औँसी परेको थियो । औँसी पारेर यस्तो यज्ञ गर्नै नहुने उनको भनाइ छ ।


यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकूलपति डा. जगमान गुरुङले पनि कोटिहोम अवधिभर अग्नि र रुद्री नजुर्ने हुँदा यो कोटिहोम ज्योतिषशास्त्रको सिद्धान्तविपरीत रहेको बताएका छन् । गुरुङले सामाजिक सञ्जाल फेसबुकमा कोटिहोम ज्योतिषशास्त्रको सिद्धान्तविपरीत रहेको उल्लेख गरेका थिए ।

यस्तै, कोटिहोममा हवनका लागि भनेर पशुपतिनाथ क्षेत्रभित्र खनिएका खाल्डोका कारण पनि कोटिहोम विवादमा परेको छ । विश्वसम्पदामा सूचीकृत र त्यस क्षेत्रमा उत्खनन् गर्दा महत्वपूर्ण ऐतिहासिक संरचनाको संकेत पाइएपछि पुरातत्व विभागले सार्वजनिक रूपमै असन्तुष्टि जनाएको थियो । कैलाश क्षेत्रमा कोटिहोमका लागि मनपरी ढंगले खाल्डो खनिएकोमा विभागले आपत्ति जनाएको थियो । 

जथाभावी रूपमा खाल्डो खन्दा सो ऐतिहासिक संरचनाको नास हुने विभागले उल्लेख गरेको छ । विभागको पत्र हेर्दा पशुपति विकास कोषले पुरातत्व विभागको अनुमति नै नलिई कोटिहोमका आयोजकलाई खाल्डो खन्ने अनुमति दिएको देखिन्छ ।

त्यस्तै कथावाचिका देवी प्रतिभा ‘प्रतिभा पराजुली’ र चन्द्रकला सखी पनि विवादित बनेका छन् । रुढिवादी चिन्तन, आफ्नो उमेर र वैवाहिक स्थिति लुकाउँदा देवी प्रतिभा विवादित बन्न पुगिन् । २३ वर्षको बताउने उनको वास्तविक उमेर २८ वर्ष रहेको खुलेको छ । यस्तै, एक टेलिभिजन अन्तर्वार्तामा प्रतिभाले आफूलाई अविवाहित रहेको बताएकी थिइन् । तर, १४ वर्षकै उमेरमा उनको विवाह भएको तथ्य सार्वजनिक भयो । 

लण्डनबाट कोटिहोममा भाग लिन आएकी अर्की कथावाचिका चन्द्रकला सखीले, ‘गोरुको प्रिय भोजन मयूर हो’ भनेपछि उनी पनि ट्रोल हुन पुगेकी थिइन् । त्यस्तै, कोटिहोममा आएका अनिरुद्राचार्यले नेपालको कूटनीतिक सम्बन्धमाथि आँच आउने अभिव्यक्ति दिएका कारण विवादमा तानिएका थिए । 

भण्डारीको प्रहरी आचरण प्रमाणपत्रबारे बुझ्न खोजेका हौँ : प्रहरी प्रवक्ता कार्की

कोटिहोमको अन्तिम दिन विजय भण्डारीलाई पक्राउ गर्न नभई उनले लिएको प्रहरी रिपोर्ट (प्रहरी आचरण प्रमाणपत्र)बारे बुझ्न प्रहरी त्यहाँ पुगेको थियो । तर, उनको आह्वानमा उनका समर्थकहरू नै प्रहरीमाथि जाइलागेको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।

उनले भने, ‘विभिन्न घटनामा संलग्न रहेको प्रमाणित भएर जेलसमेत बसिसकेको व्यक्तिले कसरी प्रहरी रिपोर्ट लियो भन्नेबारे बुझ्न मात्र खोजेका थियौँ । उनी आफैँ र उनका कार्यकर्ताले ढाकछोप गर्न खोज्दा घटना बाहिर आयो ।’ प्रवक्ता कार्कीका अनुसार यसअघि उनीमाथि लागेका आरोपमा मिलापत्र गरिसकेको देखिन्छ । अन्य घटनामा संलग्न रहेको उजुरी वा प्रमाण नपुगेसम्म पक्राउ गर्ने अवस्था देखिँदैन ।

  • प्रकाशित मिति : भदौ ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया