logo-img

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच शिष्टाचार भेट

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छिन् । सो भेटका क्रममा नेपाल-भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । परराष्ट्रमन्त्रीको भ्रमण दुई देश बीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा अनुरूप रहेको छ । भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको उल्लेख गरिएको छ ।

परराष्ट्रमन्त्री डा.राणाले आजै भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । आज दिउँसो उनीहरूबीच भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।

त्यसअवसरमा उनीहरूबीच नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको थियो ।



भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा मन्त्री डा.राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी थिइन् ।





  • प्रकाशित मिति : भदौ ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया