विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मंगलबार ११७ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ ।
गिनिज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरिएको थियो । 'मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो,' उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् । 'हामी उहाँको सम्झना सधैँ रहनेछ ।'
क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आएकी ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताएकी थिइन् ।
'मेरो समय आइसकेको छ । मेरा लागि कोही नरुनु, मलाई आँसु मन पर्दैन । मेरा लागि दुःख नमान्नुहोस्। म जहाँ रहेपनि खुसी रहनेछु,' उनले आफ्नो परिवारद्वारा सञ्चालित सामाजिक सञ्जाल एक्समा बताएकी हुन् ।
अमेरिकास्थित जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार ब्रान्यासको मृत्युपछि विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति जापानकी टोमिको इटुका हुन् । सन् १९०८ मे २३ मा जन्मनुभएका टोमिको हाल ११६ वर्षका छन् ।
सन् १९१८ को फ्लु, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र स्पेनको गृहयुद्धबाट गुज्रिएकी ब्रान्यासलाई सन् २०२० मा ११३औँ जन्मदिनको केही हप्तापछि कोभिड–१९ भएको थियो । तर, उनी पूर्ण रूपमा निको भएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।