परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा छिन् । सोमबार नयाँदिल्ली पुगेकी परराष्ट्रमन्त्री देउवाले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी थिइन् ।
यसअघिका परराष्ट्रमन्त्री भारत जाँदा उनीहरूले त्यहाँका प्रधानमन्त्रीसँग भेट गर्ने अवसर विरलै पाउँथे । अहिले राणालाई भारतले विशेष महत्व दिएपछि नेपालकाे राजनीतिक वृत्तमा विभिन्न चर्चा परिचर्चा सुरु भएकाे छ ।
आरजुकाे भ्रमणलाई भारतले यति महत्व देला भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आकलन गरेका थिएनन् । त्यसैले आरजुले आफ्नाे भ्रमण टाेलीमा समावेश गरेका केही व्यक्तिकाे नाम प्रधानमन्त्रीले काटेका थिए ।
उपचारका लागि भनेर भारत गएकी आरजुलाई भारत सरकारले उच्च महत्व दिएपछि विभिन्न टिप्पणी भइरहेकाे छ । कतिपयले यसलाई भारतले आफ्ना छिमेकीलाई महत्व दिन थालेकाे रूपमा बुझेका छन् । कतिपयले भने आरजुकाे व्यक्तिगत हैसियतका कारण उच्च सम्मान पाएकाे टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्री देउवाकी पत्नी भएकाले उनले यसअघि देउवाकाे भारत भ्रमणका क्रममा थुप्रैपटक उच्चस्तरीय भेटवार्तामा सहभागी हुने माैका पाएकी थिइन् । देउवा आगामी प्रधानमन्त्री भएका कारण पनि उनकी पत्नी आरजुलाई भारत सरकारले उच्च महत्व दिएकाे कतिपयकाे बुझाइ छ ।
आरजुकाे भारत भ्रमणका विषयमा सकारात्मक र नकारात्मक दुवैखाले टिप्पणी भइरहेकाे छ । भारतले नेपालसँग फाइदा लिनका लागि यहाँकी परराष्ट्रमन्त्रीलाई उच्च महत्व दिएकाे पनि थुप्रैकाे आशंका छ । कतिपयले त भारतले वर्तमान प्रधानमन्त्रीलाई मन नपराएकाे र गठबन्धन नै परिवर्तन गराएर नेपालमा नयाँ सरकार बनाउन चाहेकाे आशंका गरेका छन् ।
राजनीतिक विश्लेषक मात्र हाेइन, उच्च राजनीतिक तहमा पनि यस्ताे चर्चा सुरु भएकाे छ । पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको बताएका छन् ।
बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले यस्ताे दाबी गरेका हुन् । उनले भने, ‘आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दियो । यसले एमाले बिच्चिएको छ ।’
प्रचण्डले अबदेखि सरकारमा जाँदै जाँदैनौँ भनेर कतै सही नगरेकाे भन्दै छिटै सरकारमा जान सक्ने संकेत गरेका छन् । तर, सरकारमा जान हतार नगर्ने उनले बताएका छन् । प्रदेशस्तरीय प्रशिक्षणमा उनले सरकार नै हामीसँग आउनुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।