राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रूपमा सबै ठाँउमा बोल्दै हिँड्ने प्रधानमन्त्री भएको बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले राजनीति चाहिन्छ शिक्षक, प्राध्यापक सबैले राजनीति गर्नुपर्छ भन्ने सेनापति प्रधानमन्त्री भएको भन्दै यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण नै नरहेको बताइन् ।
उनले भनिन्, ‘शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रुपमा सबै ठाँउमा बोल्दै हिँड्ने दलगत हुनुपर्छ, राजनीति चाहिन्छ, शिक्षकहरुले राजनीति गर्नुपर्छ, प्राध्यापकले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री, जरोमा पनि उही, टुप्पोमा पनि उही यसमा प्रधानमन्त्रीको कार्य क्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ? यो प्रश्नमा मैले सरकार, कुलपति र प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएँ ।’
यस्तै, उनले विवाद भएका विश्वविद्यालयका कुलपति, मन्त्रीहरूको परिषद्को कप्तान र सबै संगठन दिशा दिन्छु भनेर हाँक्ने सबै प्रधानमन्त्री नै भएको पनि बताइन् ।
उनले भनिन्, ‘विवाद भएका विश्वविद्यालयका कुलपति को भन्दा प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा माग गर्नुपर्ने, त्यो मन्त्रीहरूको परिषद्को कप्तान को भन्दा प्रधानमन्त्री, दलीय राजनीतिले बनाएको दुईवटा ठूलो दलको भातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापकको संगठनले जर्जर बनाएर होइन, म दिशा दिन्छु भनेर हाँक्ने को ? प्रधानमन्त्री नै हो ।’
यसको साथै, विभागीय प्रमुखको पदको लागि विश्वविद्यालयहरूले बुद्धिभन्दा बल ठूलो हो र बलभन्दा दल ठूलो भनेर पढाउने गरेको भन्दै यो दलीय राजनीतिकरणले देखाएको र निम्त्याएको दूर्दशा भएको बताइन् ।
उनले भनिन्, ‘हामीलाई पहिला बलभन्दा बुद्धि ठूलो भनेर सिर्काएको थियो । तर, अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने र धेरै माननीयज्यूहरूले यहाँ प्रकट गरेको व्यावहारिक शिक्षा के हुनुपर्छ भन्दा बुद्धिभन्दा बल ठूलो हो र बलभन्दा दल ठूलो भनेर पढाइयो । विभागीय प्रमुखको पदको लागि, दलीय राजनीतिकरणले देखाएको र निम्त्याएको दूर्दशा हो । तर, यो त्यतिमा मात्र सीमित रहँदैन ।’
उनले क्षमताको आधारमा नभई कुन पार्टीको झोला बोक्यो, उसलाई विभागीय प्रमुख बनाऊ भन्ने र लाखौँ विद्यार्थीलाई बाहिर जाऊ भन्ने खालको कामको रास्वपाले सधैँ विरोध गर्ने पनि बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।