logo-img

के हो स्किन सोराइसिस ? कसरी जोगिने ? (भिडियाेसहित)

छालामा हुने प्रायः समस्या लामो समयसम्म रहिरहने हुन्छ । समस्या सुरु हुनेबित्तिकै एक हप्तालाई औषधि चलायो अनि निको भयो भन्नेखाले हुँदैन । छिटो निको हुने केही–केही मात्रै छालाका समस्या हुन्छन् । धेरैजसो भने कालान्तरसम्म जाने रोगहरू छन् । 

कुनै–कुनै समस्या भने एक समयमा धेरै देखिने र एउटा समय कटेपछि घट्दै जाने र फेरि बढ्ने प्रकारको पनि हुन्छ । जस्तैः सोराइसिस गर्मी महिनामा उपचार नै नगरे पनि घट्दै जाने र जाडो लाग्नेबित्तिकै बढ्दै जाने खालको हुन्छ । यही सोराइसिसको बारेमा ​अल्का अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डा. राजनबाबु तझ्यासँग फरकधारकर्मी रेश्मा सिंहले गरेको कुराकानीको सम्पादित अंश :

सोराइसिस भनेको के हो ?

सोराइसिसलाई कत्लेरोग भनेर पनि चिनिन्छ । सुरुवाती अवस्थामा छालाको कुनै एक भागमा रातो भएर कत्ला झर्न सुरु हुन्छ । कोही मानिसको कत्ला टाउकोमा सीमित रहन्छ । कसैको हत्केला र पाइतालामा कत्ला जान थाल्छ । तर, कसैलाई टाउकोदेखि खुट्टासम्म सबै भागको छाला जाने गरी कडा किसिमको सोराइसिस पनि देखिन सक्छ ।



सोराइसिसलाई हेर्नेबित्तिकै यसले पछि लिने रूप थाहा पाउन सकिँदैन । सोराइसिस एकचोटि आइसकेपछि शरीरका अन्य भागमा बिस्तारै फैलिन सक्छ । तर, यो रोग सँगै बसेर, छोएर, जुठो खाएर, एउटै कपडा लगाएर सर्ने रोग भने होइन । यो संक्रामक रोग होइन । सोराइसिस हुने÷नहुने बाह्य वस्तुभन्दा आन्तरिक जिनमा निर्भर हुन्छ । 

सोराइसिस कति प्रकारका छन् ? 



क्रोनिक प्लेक्स सोरायसिस (एक–दुई ठाउँमा कत्ला आउने), गट्टेट सोराइसिस (शरीरभरि स—साना धब्बा आउने), ससोरियाटिक बाथरोग (हड्डी खाने), हातगोडामा मात्र सधैँ कत्ला आइरहने र अर्काे ज्यानलेवा इराइथ्रोडर्मिक सोरायसिस (शरीरभरि कत्ला जाने) आदि सोराइसिसका प्रकार हुन् ।

सोराइसिसका लक्षण कस्ता हुन्छन् ? 



मानिसहरूमा रोगको लक्षण देखिने समय फरक–फरक हुन्छ । कसैलाई सानै उमेरमा देखिन्छ भने कसैलाई ४० वर्षको हाराहारीमा देखिन सक्छ । कसै–कसैलाई ६० वर्ष कटेपछि पनि देखिने गरेको पाइन्छ । यो उमेरसँग सम्बन्धित रोग होइन । यो कुनै पनि उमेरमा हुनसक्छ । सोराइसिसको वंशाणुगत रूप पनि हुन्छ । सोराइसिस हुने/नहुने तय गर्ने जिन पहिलादेखि नै हाम्रो शरीरमा हुन्छ । यसलाई ‘सोरा जिन’ भनिन्छ । यो जिन आमाबुबाबाट वंशाणुगत रूपमा हस्तान्तरण हुन्छ ।


 
सोराइसिस भएको कसरी थाहा पाउने ?

सोराइसिसलाई हेरेर पहिचान गर्न सकिन्छ । सोराइसिसको धब्बा अन्य रोगको भन्दा भिन्न हुन्छ । धब्बा आएको भाग रातो हुन्छ । बिस्तारै कत्ला निस्किन थाल्छ । यसलाई सिल्भरी ह्वाइट स्केल पनि भनिन्छ । कत्लाको प्रकार, भाग, कत्ला निकाल्ने बेला छालामुनिको रातोपना कस्तो छ हेरेर क्लिनिकल डायग्नोसिस गरिन्छ ।

के सोराइसिसले जोखिम निम्त्याउँछ ? 

यो दीर्घकालीन रोग हो । सधैँ छाला जाने, रातो हुने भएकाले मानिसहरू आफूलाई रोगी महसुस गर्छन् । यसले मानसिक तनाव सिर्जना गर्न सक्छ । कत्ला सुक्खा हुँदै गएपछि चिलाउन थाल्छ । यदि पस्टुलर सोराइसिस भएमा कत्ला पाकेर पिप पनि निस्किन सक्छ । यसलाई औषधि खाएर नियन्त्रणमा राख्नुपर्ने भएकाले आत्तिइहाल्नुपर्दैन । उदाहरणका लागि यसलाई मधुमेह रोगलाई औषधि खाएर नियन्त्रणमा राखे जसरी नै नियन्त्रणमा राख्नुपर्छ । 

सोराइसिसको उपचार कसरी गरिन्छ ?

संसारमा अहिलेसम्म सोराइसिस निर्मूल पार्ने उपचार पद्धति उपलब्ध छैन । तर, औषधि प्रयोगले सोराइसिसलाई नियन्त्रण गर्न भने सकिन्छ । जसले गर्दा जीवनयापन सहज हुन्छ । विभिन्न अनुसन्धानबाट चुरोट र रक्सी सेवनले सोराइसिस रोगलाई झन् जटिल बनाउन सक्ने तथ्य पत्ता लागेको छ । मद्यपान गर्दा सोराइसिसको औषधिले काम गर्दैन । त्यसकारण सोराइसिस भएका व्यक्तिहरूले धूमपान र मद्यपान गर्नुहुँदैन । यसका साथै खानपानमा पनि विशेष ख्याल राख्नुपर्छ । 

धेरैजसो अवस्थामा सोराइसिसको स्वरूप र प्रकार हेरेर उपचार विधि अपनाइन्छ । सामान्य अवस्थाको सोराइसिसमा मलहम प्रयोग गरिन्छ । कडा हुँदै गएको सोराइसिसमा खाने औषधि हुन्छ । लगाउने मलहम र खाने औषधिले पनि काम नगरेमा सुईसमेत दिनुपर्ने हुनसक्छ ।

  • प्रकाशित मिति : भदौ ६, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया