त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विवाद सुल्झिएको छ । समाजशास्त्र विभागमा दोस्रो नम्बरमा सिफारिस भएका सहप्राध्यापक टीकाराम गौतमलाई नियुक्त गर्न खोजेपछि सुरु भएको विवादलाई त्रिवि कार्यकारी परिषद्को बैठकले सुल्झाएको हो ।
आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सहप्राध्यापक पासाङ शेर्पालाई समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्त गर्ने निर्णय गरेपछि विवाद तत्कालका लागि सुल्झिएको त्रिवि स्रोतले जनाएको छ । आज सार्वजनिक बिदा भएकाले सहप्राध्यापक शेर्पाले नियुक्तिपत्र भोलि मात्र बुझ्ने स्रोतले जनाएको छ ।
मानविकी तथा सामाजिकशास्त्र संकायकी डिन कुसुम शाक्यले समाजशास्त्र विभाग प्रमुखमा कार्यविधि मिचेर नियुक्ति गर्न खोजेपछि विवाद भएको थियो । शाक्यले वरिष्ठताका आधारमा सहप्राध्यापक शेर्पालाई पहिलो नम्बरमा सिफारिस गर्नुपर्नेमा कार्यविधि मिचेर सहप्राध्यापक टीकाराम गौतमको नाम पहिलो नम्बरमा कार्यकारी परिषद्मा सिफारिस गरेकी थिइन् ।
विभागले वरिष्ठताका आधारमा एक नम्बरमा रहेका सहप्राध्यापक पासाङ शेर्पा, दुई नम्बरमा टीकाराम गौतम र तेस्रो नम्बरमा रहेका मनहरि ढकालको नाम सिफारिस गरेको थियो । तर, डिन शाक्यले कार्यकारी परिषद्मा सिफारिस गर्दा पहिलो नम्बरमा रहेका सहप्राध्यापक शेर्पालाई दोस्रो नम्बरमा राखेर गौतमलाई पहिलो नम्बरमा सिफारिस गरेपछि वरिष्ठता मिच्न खोजेको भन्दै विवाद भएको थियो ।
यही विषयमा केही विद्यार्थीले त्रिविका पदाधिकारीलाई धम्की दिएको कुरा बाहिरिएपछि विषय थप पेचिलो बन्न पुगेको थियो । शेर्पा र गौतम सहप्राध्यापकमा एकै दिन नियुक्त भएका हुन् । तर, त्रिवि सेवा प्रवेशमा गौतमभन्दा चार वर्ष पहिला शेर्पाले स्थायी नियुक्ति पाएका कारण कार्यविधिअनुसार शेर्पालाई वरिष्ठताका आधारमा विभागीय प्रमुखमा सिफारिस गर्नुपर्ने थियो ।
यही नियुक्तिको विषयलाई लिएर अनावश्यक दबाब तथा र धम्की आएको भन्दै त्रिविका पदाधिकारी दुई दिन कार्यालय नै नआएपछि यो विषय थप जटिल बन्न पुगेको थियो । त्रिविका रेक्टर खड्ग केसी र रजिष्ट्रार केदार रिजाल असुरक्षाको कारण देखाउँदै शुक्रबार र आइतबार कार्यालय नआएपछि यो विषयले शिक्षा मन्त्रालयदेखि गृह मन्त्रालयसम्ममा तरंग आएको थियो ।
रजिष्ट्रार रिजालले नै उपकुलपति, रेक्टर र रजिष्ट्रारको निजी निवास र कार्यालय परिसरमा सुरक्षाको प्रबन्ध गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालय र गृह मन्त्रालयमा पत्र पठाएका थिए । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्दै सामाजिक सञ्जालतमार्फत त्रिविमा सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेकी थिइन् ।
पूर्वविद्यार्थी योगन्द्र रावलले समाजशास्त्र विभाग प्रमुखमा टीकाराम गौतमलाई नियुक्त नगरे जे पनि हुनसक्ने भन्दै धम्की दिएको भन्दै त्रिविका पदाधिकारीले प्रशासन गुहारेका थिए । विद्यार्थी रावलले भने उक्त कुरालाई अस्वीकार गरेका छन् । रावलले आफूले कार्यविधिअनुसार नियुक्त हुनुपर्ने धारणा मात्र व्यक्त गरेको फरधारसँग बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।