logo-img

ट्याटु हटाउँदाकाे जोखिम : मिर्गौला फेलदेखि छालामा क्षति [भिडियोसहित]

नेपालमा विशेषगरी थारू र नेवारी समुदायमा मात्र शरीरमा ट्याटु खोप्ने परम्परा छ । शरीरमा ट्याटु खोपे मृत्युपछि स्वर्गमा यही बेचेर खान पाइन्छ भन्ने विश्वास यी समुदायमा रहिआएको छ । तर, पछिल्ला दिनमा अन्य समुदायमा पनि शरीरमा ट्याटु खोप्ने चलन बढ्न थालेको छ । विगतमा परम्परागत शैलीबाट खोपिने ट्याटु पछिल्लो समय आधुनिक उपकरणबाट बनाउन थालिएको छ । युवा पुस्तामा त झन् ट्याटुमोह झनै बढेको छ ।

अहिले शरीरमा प्रिय व्यक्तिको नाम लेखाउने, आकृति बनाउनेदेखि आफूलाई मनपरेको चित्र बनाउने गर्छन् । हिजोआज देखासिकीका कारणले पनि ट्याटुले फेसनकै रूप लिएको छ । ट्याटु खोपाउँदा छालामा के–कस्तो असर पार्छ वा पार्दैन यही सेरोफेरोमा रहेर फरकधारका लागि रेश्मा सिंहले छालारोग तथा लेजर विशेषज्ञ डाक्टर राजनबाबु तझ्यासँग गरेको कुराकानीको सम्पादित अंशः 

ट्याटु कसरी खोपिन्छ ? 

एउटा मसी (इंक) हुन्छ । स–साना पिनको माध्यमबाट छालाभित्र इंक (मसी) राखेर इच्छाअनुसार विभिन्न प्रकारको कला (आर्ट) बनाइन्छ वा खोपिन्छ, यसलाई नै ट्याटु खोप्ने भनेर भनिन्छ । हिजोआज विभिन्न व्यक्तिले विभिन्न रङहरूको मिश्रणबाट आफूलाई पर्ने डिजाइन शरीरमा बनाइरहेका छन् । कोहीले संस्कृतिका हिसाबले त कसैले रहरले बनाउने गर्छन् । हिजोआज ट्याटु आर्टिष्ट पनि सहजै उपलब्ध भएकाले ट्याटु सहजै बनाउन सकिन्छ ।
 
ट्याटुप्रतिको मानिसको मोह बढ्नुको कारण के हुन सक्छ ?



पछिल्लो समय नयाँ पुस्तामा ट्याटुको मोह धेरै देखिन्छ । यसका पछाडि धेरै कारण छन् । जसमध्ये प्रचारप्रसार पनि एक हो । पछिल्लो समय ट्याटु हाउस र बनाउन मान्छे पनि बढिरहेका छन् । साथीभाइले बनाएको देखेर अरूहरूले पनि टयाटु खोपिरहेका छन् । 

ट्याटु खोप्दा संक्रमणजन्य रोगको जोखिम कति हुन्छ ?



एउटै सुईको प्रयोग गरेर धेरैजनामा ट्याटु खोप्दा विभिन्न संक्रमणजन्य रोगको जोखिम हुन्छ । पहिले–पहिले ट्याटु खोप्दा हेपटाइटिस बी, एचआइभी सर्ने जोखिम धेरै हुन्थ्यो । तर, हिजोआज टेक्नोलोजीमा धेरै वृद्धि भएको अवस्था छ । ट्याटु आर्टिष्ट पनि सजग र सर्तक भएका कारणले उपकरण प्रयोगमा विचार पुर्याएको पाइन्छ ।

कस्ता व्यक्तिले टयाटु खोप्नुहुँदैन ?



मानिसका आफ्नै विचार हुन्छ । कसले खोप्ने, कसले नखोप्ने भनेर यकिन भन्न सकिन्न । साना बालबालिकाले चाहिँ अभिभावकसँग सल्लाह गरेर ट्याटु खोप्दा राम्रो होला । भविष्यमा कसैलाई आर्मीतिर काम गर्न जानु छ, सरकारी जागिर गर्नु छ, विदेश जाने योजना छ, कुनै ठूलो पोस्टमा गएर काम गर्ने इच्छा छ भने त्यस्ता व्यक्तिले भने ट्याटु नबनाउँदा नै उत्तम हुन्छ ।

ट्याटु बनाउन जति सजिलो छ, यसलाई हटाउन त्यति नै गाह्रो हुन्छ । पछि गएर पछुताउनुभन्दा अगाडि नै बुद्धि पुर्याएर ट्याटु नखोपेकै बेस हुन्छ । भविष्य निश्चित गरेर मात्र ट्याटु खोप्ने योजना बनाउन सुझाब दिन चाहन्छु । 

के ट्याटु हटाउन सम्भव छ ?

ट्याटु हटाउन सम्भव छ । ट्याटु हटाउन भनेको लेजर प्रविधिले मात्र हो । ठूलो ट्याटु छ भने एकैपटक हटाउन सकिँदैन । स्थायी रूपमा बसिसकेको ट्याटु एकपटकमा जान सक्दैन । यसको साइज र के–कस्ता रङ भरिएका छन्, त्यसअनुसार यसको सेसन हुन्छ ।

ट्याटु राम्रोसँग हट्न ६ देखि ८ चरणसम्म लाग्न सक्छ । यदि कालो रङको ट्याटु र घरमै खोपिएका जस्ता ट्याटु निकाल्न सजिलो र समय कम लाग्छ । तर, गाढा खालको र धेरै किसिमको रङ भरेको ट्याटु हटाउन कठिन हुन्छ । त्यसैले जति गाढा ट्याटु त्यति छिटो जान मुस्किल हुने हुँदा त्यहीअनुसारको चरण पार गर्नुपर्छ । त्यति मात्र होइन एकपटक गराएको चारदेखि ६ साताभित्र अर्को चरण गरिसक्नुपर्छ । एकपटक गराउँदा २० प्रतिशतसम्म ट्याटु हटेको अनुभव गर्न सकिन्छ ।

ट्याटु कसरी हटाइन्छ ?

सर्वप्रथम कुन ठाउँमा छ, त्यसको आकार र रङ गाढा छ कि फिक्का भनेर हेरिन्छ । त्यसपछि नदुख्ने खालको क्रिम ट्याटु हटाउनुपर्ने भागमा लगाएर सुरु गरिन्छ । जसले कुनै किसिमको दुखाइ हुँदैन । त्यसपछि लेजरको प्रकाशले आँखामा असर गर्ने हुँदा चिकित्सक र हटाउन लागिएको व्यक्तिलाई सुरक्षाको लागि ग्लास लगाउन दिइन्छ ।

त्यसपछि छालामा लेजर प्रविधिको मेसिनबाट हटाउन सुरु गरिन्छ । यदि सानो ट्याटु छ भने केही समयमै हटाउन सकिन्छ । ठूलो आकारको ट्याटु भए एक घण्टा वा त्यसभन्दा बढी समय लाग्न सक्छ । धेरै रङ भरेको ट्याटु हटाउन धेरै समय लाग्ने गर्छ । 

के ट्याटु शतप्रतिशत हट्छ ?

धेरै गाढा नभएको र घरमै मेसिनले बनाएको ट्याटुहरू शतप्रतिशत थेरापीबाट जान सक्छ । तर, धेरै नै गाढा खालको र हरियो खालको ट्याटु शतप्रतिशत जान कठिन हुन्छ, तर जाँदै नजाने भन्ने हुँदैन । यसका लागि थप सेसन लाग्न सक्छ ।

ट्याटु हटाउन कति खर्च लाग्छ ? 

ट्याटु हटाउन ठ्याक्कै यति खर्च हुन्छ भन्न सकिन्न । ट्याटुको आकार, प्रकार, कुन ठाउँको हटाउने त्यसअनुसार ट्याटु हटाउन खर्च लाग्ने गर्छ । सानो आकारको ट्याटु छ भने कम र ठूलो आकारको ट्याटु छ भने धेरै रुपैयाँ लाग्छ ।

के ट्याटु हटाउँदा आन्तरिक समस्या बल्झिने जोखिम हुन्छ ?

ठूलो ट्याटु छ भने हेबी मेटललाई मिर्गौलाले छान्न सकेन भने मिर्गौला फेल हुने सम्भावना हुन्छ । ठूलो ट्याटु एकैपटक हटाउन खोज्दा रगत जाम भएर छालालाई ड्यामेज हुनसक्ने जोखिम हुन्छ ।

ट्याटु हटाइसकेपछि के–कस्ता कुरामा ध्यान दिनुपर्छ ? 

लेजर गरेको एक दिनभरि त्यस भागमा पानी पार्नुहुँदैन । लेजर गर्नेबित्तिकै त्यो छाला केही दिनसम्म संवेदनशील हुने हुँदा पौडी खेल्न वा मसाज गर्न हुँदैन । त्यस्तै, घामको किरणमा केही दिनसम्म छालालाई जोगाउने, फोका आएमा त्यसमा कुनै खालको घर्षण नगराउने, त्यसमा १० दिनसम्म एन्टिबायोटिक क्रिम लगाउनुपर्छ । यदि घाउमा पानी परेको खण्डमा पनि सो क्रिम लगाइहाल्नुपर्छ । 

सफा, सुक्खा राख्नुपर्छ । ट्याटु धेरैले हटाइरहेका छन् । तर, ट्याटु हटाउँदा चिकित्सकको सल्लाह अवश्य लिनुपर्छ । जहाँ पायो त्यहीँ ट्याटु हटाउन जान हुँदैन । हामीले जता पायो त्यतै ट्याटु हटाउँदा थप जोखिम हुने भएकाले सुरुमै चिकित्सककहाँ नै जानुपर्छ । 

र, याे पनि...

युवामा ट्याटु मोह : छाला र स्वास्थ्यमा असर मात्रै हाेइन, जिन्दगी नै बन्न सक्छ भयावह​

ट्याटु खोप्दै हुनुहुन्छ ? याद राख्नुस्, ट्याटुबाट एलर्जीको खतरा हुन्छ

  • प्रकाशित मिति : भदौ ११, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया