नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । जसअनुसार महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् ।
उनी रामकुमारी झाँक्रीलाई हराउँदै उपाध्यक्ष निर्वाचित भएकी हुन् । निर्वाचित राईले १८९ मत पाइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी झाँक्रीले ११२ मत मात्र पाएकी छन् ।
को हुन् झाँक्रीलाई हराउने राई ?
राईले यसअघि पनि एकीकृत समाजवादीमा उपाध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेकी छन् । उनी चार दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय छिन् । राई पूर्वराष्ट्रिय सभा सदस्यसमेत हुन् । उनी २०७८ मा राईले एमालेकी सुमित्रा भण्डारीलाई हराउँदै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
राई जिल्ला विकास समितिकी उपसभापति, पुनर्स्थापित संसदको सांसद तथा संविधानसभामा सदस्यसमेत हुन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएकी उनी त्यसयता राजनीतिमा निरन्तर सक्रिय रहेकी छन् । विद्यार्थीपछि अखिल नेपाल महिला संघको राजनीतिमा आएकी राई भोजपुरको टेम्केमैयुङ गाउँपालिकाकी स्थायी बासिन्दा हुन् ।
उनी २०५४ सालमा जिल्ला विकास समिति भोजपुरकी उपसभापति बनेकी थिइन् । ०६२/०६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसद्मा एमालेले राईलाई मनोनीत गरेको थियो ।
सांसदमा राई नेकपा (एमाले)को बुटबलमा भएको आठौं महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । नवौँ महाधिवेशनमा माधवकुमार नेपाल समूहबाट केन्द्रीय सदस्यमा बनेकी राई विभाजनपछि नेकपा (एस) तर्फ लागिन् ।
अरू पदाधिकारीमा को–को विजयी ?
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसम्मत चुनिएका थिए । यस्तै, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र झा थिए ।
खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।
उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । चौधरी सबैभन्दा बढी १५८ मत पाएर विजयी भए । चार उपमहासचिव पदमा १९ जना प्रतिस्पर्धी थिए ।
सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।