logo-img

शेरबहादुरको संकेतको पर्खाइमा विमलेन्द्र (भिडियोसहित)
१५औँ महाधिवेशनमार्फत सभापतिको आकांक्षामा निधि

आगामी महाधिवेशनलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसभित्र अहिले बहस सुरु भएको छ । बहसका थुप्रै एजेण्डामध्ये एउटा हो– आगामी महाधिवेशनको मिति । कांग्रेसभित्रको इतर समूह ०८२ मंसिरभित्रैमा १५औँ महाधिवेशन गर्नुपर्ने अडानमा छ । कांग्रेसको विधानमा पनि चार वर्षभित्रमा महाधिवेशन गर्ने व्यवस्था छ । तर, तोकिएको समयमा महाधिवेशन गर्न सम्भव नभएमा एक वर्ष बढाउन सकिने प्रावधान पनि सोही विधानले दिएको छ । 

कांग्रेसको विगतको अभ्यास हेर्दा पनि महाधिवेशनहरू तोकिएको समयमा अर्थात् चार वर्षभित्रैमा भएका छैनन् । अन्तिम समयमा आएर त्यसलाई एक वर्ष पर धकेल्नु कांग्रेसभित्रको परम्पराजस्तै बनिसकेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसँगको सहमति अनुसार केपी शर्मा ओलीपछि प्रधानमन्त्री हुने लाइनमा छन् । सहमति तोडिएन भने ०८३ असारमा देउवा प्रधानमन्त्री हुनेछन् । स्रोतका अनुसार, देउवा ०८२ मा होइन, आफू प्रधानमन्त्री भएपछि ०८३ मंसिरमा मात्र कांग्रेसको १५औँ महाधिवेशन गर्ने योजनामा छन् । 

एक वर्ष ढिलो होस् वा छिटो कांग्रेसले आफ्नो १५औँ महाधिवेशन त गर्छ नै । कहिले महाधिवेशन हुन्छ भन्ने प्रसंगपछि आउँछ, महाधिवेशनमा सभापतिको उम्मेदवार को–को हुनेछन् । वर्तमान सभापति देउवा दुईपटक कांग्रेसको सभापति भइसकेका छन् । कांग्रेसको विधानअनुसार लगातार दुईपटकभन्दा बढी कांग्रेसको सभापति बन्न पाइँदैन । त्यसैले आगामी महाधिवेशनमा देउवा सभापतिको उम्मेदवार बन्ने छैनन् ।  

विधानै परिवर्तन गरे अर्कै कुरा, नत्र अहिलेकै व्यवस्थाअनुसार उनी सभापतिमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । त्यसो भए देउवापछि को बन्ला त संसदको सबैभन्दा ठूलो दल कांग्रेसको शक्तिशाली सभापति ? अहिलेसम्म चर्चामा आएका नाममध्ये इतर समूहबाट शेखर कोइराला र गगन थापाको नाम अग्रपंक्तिमा छ । संस्थापन पक्षबाट भने विमलेन्द्र निधि, शंशाक कोइराला र पूर्णबहादुर खड्काको नाम गाइँगुइँ सुनिएको छ ।

आगामी महाधिवेशनमा सभापतिको दाबेदार बताउँदै आएका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँग फरकधार लागि सन्तोष आचार्यले गत साता विविध विषयमा कुरा गरेका थिए, त्यसमध्येको एउटा सन्दर्भ थियो, आगामी महाधिवेशन । के आगामी महाधिवेशनमा पनि निधिले सभापति पदमा उम्मेदवारी देलान् ? यस प्रश्नको जवाफमा उनले आफ्नो आकांक्षा लुकाएनन् । उनले भने, ‘हो, म आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुँ, यसकै लागि अहिले देशभरि भ्रमण गरिरहेको छु, साथीहरू भेटिरहेको छु ।’ 



१४औँ महाधिवेशनका बेला सभापतिमा देउवाकै प्रतिस्पर्धी बनेर दोस्रो चरणमा उनैलाई समर्थन गरेका निधि यसपटक देउवा क्याम्पको उम्मेदवार बन्न सफल होलान् ? के देउवाले निधिलाई सभापति पदका लागि हरियो झण्डा देखाउलान् ? या अरू नै कसैलाई रोज्लान् अहिले आमकांग्रेसीहरूको कौतुहलको विषय यही छ ।

निधिले देउवाबाट अहिलेसम्म कुनै आश्वासन पाइसकेका भने छैनन् । तर, निधिको दावा के पनि छ भने आफू मात्रै होइन, देउवाबाट संस्थापन पक्षका कसैलाई पनि देउवाले वचन दिइसकेका छैनन् । 



आफू देउवाकै साथमा रहेको बताउँदै कुराकानीको क्रममा निधिले सुनाए,‘म शेरबहादुर देउवासँग थिएँ, शेरबहादुर देउवासँग छु र शेरबहादुर देउवासँगै रहिरहनेछु ।’

भिडियो

  • प्रकाशित मिति : भदौ १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया