logo-img

साहित्यकार तीर्थराज अधिकारी र ‘सारवत’

कहिले जुटेका छन् कहिले फुटेका छन् 
जनतालाई चिउरा कुटझैँ कुटेका छन् ।
यो त खुला जबर्जजस्ती भएन र हजुर ?
नादिर शाहले दिल्ली लुटेझैँ लुटेका छन् ।।

नेपालको राजनीतिक नेतृत्व, राजनीतिक दल र ती दलका नेताहरूलाई लक्षित गर्दै लेखिएको यो मुक्तक साहित्यकार तीर्थराज अधिकारी ‘मुक्तकमणि’ले लेखेका हुन् ।

भर्खरै लोकार्पण गरिएको उनको ‘सारवत’ मुक्तकसंग्रहमा यस्ता धेरै चोटिला र गहकिला शब्द कोरिएका छन् । देश, समाज, राजनीति, मनोरञ्जन, र प्रकृतिलाई केन्द्रमा राखेर अधिकारीले मुक्तक लेखेका छन् ।



विद्यार्थी जीवनदेखि  सेवानिवृत्त जीवनका हरेक कालखण्डमा विभिन्न साहित्यिक, सामाजिक, संघसंस्थाको स्थापना एवं सबल नेतृत्व गरेका अधिकारी नवोदित साहित्यकारका आदर्श बनेका छन् । उमेरले झण्डै आठ दशक छुन लागेका अधिकारीको लेखनकलामा भने अझै जोस, जाँगर र उत्साह घटेको छैन ।

हाल उनी प्रवासमा रहेर डायस्पोरिक सिर्जनामार्फत नेपाली भाषावाङ्मयको विश्वव्यापीकरणमा व्यस्त छ । उनले आफ्नो कला प्रस्तुत गर्न प्रविधिको पनि भरपुर सदुपयोग गर्ने गर्छन् । प्रायः दिनहुँजस्तै उनका चोटिला मुक्तकहरू हामीले सामाजिक सञ्जालमा देख्न र पढ्न पाउँछौँ ।



विसं २००३ मा जन्मिएका अधिकारीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । तीन दशक लामो समयसम्म राष्ट्रसेवा गरेका उनी २०६२ मा उपसचिवबाट सेवानिवृत्त भएका हुन् ।

दोलखाको जिरी बहुउद्देश्यीय हाईस्कुलमा आफ्नै सम्पादनमा रहेको झुल्का पत्रिकामा ‘हिजो र आज’ निबन्ध प्रकाशन गरेर साहित्यिक यात्रामा लागेका अधिकारीको जुनकिरी, ऐना, यो कसको हात हो ?, (कवितासंग्रह) तीन लय तेह्र गीत (गीतिसंग्रह) लमजुङको सम्झना (भिडिसी), माया (आधुनिक गीती एल्बम) अनि झटारो, बिरिमफुल, (मुक्तकसंग्रह) दोभान (मुक्तक र कवितासंग्रह) प्रकाशन भएका छन् । यस्तै, जूनका टुक्राहरू र झटारो दुई कृति अंग्रेजीमा अनुवाद भएका छन् ।



उमेरले ७८ वर्ष पुगेका उनी अहिले पनि विभिन्न संघ–संस्थामा सक्रिय भूमिकामा छन् । अमेरिकामा रहेको ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ र ‘एसोसिएसन अफ नेपलिज् इन द अमेरिका’ (एएनए)को सल्लाहकारका रूपमा सक्रिय अधिकारी गीताञ्जली साहित्य परिवार, पोखराका संरक्षक र नेपाल मुक्तक प्रतिष्ठानको आजीवन सदस्य रहेका छन् ।

साहित्यमा जहिले पनि सक्रिय रहने अधिकारीको ‘सारवत’ मुक्तकसंग्रह भदौ ८ मा लोकार्पण भयो । नेपाल मुक्तक प्रतिष्ठानको आयोजना एवं वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यमा उक्त कृति लोकार्पण भएको थियो ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षता सम्पन्न कार्यक्रमका प्रमुख अतिथि यादव खरेलले कृतिको चर्चा गर्दै नेपाली मुक्तकमा गहन कृति थपिएको बताए । 

यस्तै, वरिष्ठ समालोचक प्रा.डा लक्ष्मणप्रसाद गौतमले ‘सारवत’मा समेटिएका मुक्तक मार्मिक र पठनीय भएको बताए । उनले मुक्तकमा विसंगतिमाथि तीव्र व्यंग्य र समाजको वास्तविक चित्रण भएको जनाए ।

यस्तै, लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले नेपालीहरू जुन–जुन ठाउँमा पुगेका छन्, त्यहाँ–त्यहाँ गजल र मुक्तक पुगेको बताए ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति रामकाजी कोनेले अधिकारीका मुक्तकहरूमा उत्कृट रहेको बताए । कार्यक्रममा कृतिकार मुक्तकमणिले विभिन्न समयमा लेखेका मुक्तकहरूलाई समेटेर पुस्तक प्रकाशन गरेको बताए ।

कमलपोखरीस्थित किष्ट कलेजमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराईले गरेका थिए । 

साहित्यकारहरू नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नवराज पोखरेल नवशीला, दिव्य गिरी, ध्रुवराज थापा, श्रीराम राई, राजबाबु श्रेष्ठ, रूद्र अधिकारी, पवन बुढाथोकी लगायतको उपस्थिति थियो ।

उक्त लोकार्पित कृति गीताञ्जली साहित्य परिवार पोखराले प्रकाशन गरेको हो । यसमा ११८ मुक्तक संगृहीत छन् ।
 

  • प्रकाशित मिति : भदौ १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया