logo-img

खेतीपाती सपार्न थारू गाउँमा हरेरी पूजा

खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिकरूपमा हरेरी पूजा गर्ने चलन छ ।

साउनदेखि भदौभित्र यो पूजा आयोजना गरिन्छ । पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काटनेलगायत कार्य गर्न पाइँदैन । धानबालीमा नोक्सानी पुर्याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन परम्परागतकालदेखि हरेरी पूजा गरिँदै आएको शुक्लाफाँटा–३ जोनापुर गाउँका वडघरिया सुरेश चौधरीले बताए । 

उनका अनुसार वडघरियाको घरको आँगनमा जम्मा भएर गरिने यस पूजामा मुख्य भूमिका भुइहयार गुरुवा र कशौकाको हुने गर्दछ । यस पूजामा भुइया भवानी, जगन्नठिया देवतालगायत अन्य इष्टदेवहरूको पूजा गरिन्छ ।

गाउँभरिका मादल, गोबरबाट बनाइएका गुइँठा, गन्यारीकाठबाट उत्पादन गरिएको आगो, माटाको दियो, सिन्दुर, अक्षता, जललगायत सामग्रीको प्रयोग पूजामा गरिने परदेशी चौधरीले बताए । 

गाँधी, गुभियालगायत कीरा पक्रेर ल्याउने कार्य गरिन्छ । केही कीरा जिउँदै गुरुवाले चपाएर खाने पनि गर्दछन् । यसो गर्दा खेतबारीमा रोग कीराको प्रकोप नहुने विश्वास छ ।  तान्त्रिक विधिबाट सहायक गुरुवाका रूपमा रहेका केशौकाको जिउमा देवता सवार गराउने चलन पनि रहेको छ ।

केशौकाको जिउमा सवार देउताले गुइँठामा बालिएको आगोमा हामफाल्ने गर्दछन् । शरीरमा आगोले नछोओस् भनेर मन्त्रद्वारा बाँध्ने कार्य गरिन्छ । आगोले नछोएमा सुभसङ्केतका रूपमा लिइन्छ । दुई दिन लगाएर यो पूजा सम्पन्न गरिन्छ ।



पूजा सकिएको दिउँसोदेखि रातभर नाचगान गर्ने गरिन्छ । यो पूजा गरेमा धानबाली सप्रिने र खेतबारीमा हरियाली भइरहने भन्ने विश्वास रहेको जोनापुरका बरका गुरुवा फूलराम चौधरीले बताए । उनका अनुसार पूजाको अर्को दिन खरिभन (दूध र आगो) खेतको पानीमा मिसाउने चलन छ । त्यसो गर्दा धानबाली सप्रिने जनविश्वास रहेको छ । थारू समुदायका गाउँमा अहिले यो पूजा गर्ने क्रम सुरु भएको छ । रासस 



  • प्रकाशित मिति : भदौ १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया