नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मिटर ब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गरेका छन् । आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पीडितहरूको कुरा प्रतिनिधिसभाको बैठकमा उठेको भए पनि अहिलेसम्म समाधान हुन नसकेको उल्लेख गरेका हुन् ।
उनले भने, ‘प्रतिनिधिसभामा मिटर ब्याज पीडितहरुका समस्याहरुको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, क्रिया अन्तर्क्रिया, त्यसका लागी थुप्रै समितिहरू निर्माण देखि लिएर एउटा प्रक्रियामा हामी गयौँ, तर पनि समस्या चाहिँ विभिन्न रूपले यथावत् छ ।’
साथै उनले मिटर ब्याज पीडितहरूको समस्या चाँडो समाधान गर्नुपर्ने बताए । जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यकता रहेको उनको भनाई छ । यस्तै उनले बैंकिङ कसुरमा कारवाहीमा परेका व्यक्तिहरूले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने धारणा राखे ।
उनले भने, ‘चेक अनादर हुँदा अर्थात् बैंकिङ कसुर सम्बन्धी घटना भइसके पछि त्यो अवस्थामा एउटा व्यक्ती को चेक अनादर भयो अर्थात् बैंकिङ कसुर प्रकृयामा गयो अर्थात् पुष्टि भयो भने त्यसपछि पनि ती व्यक्तिहरूले अर्को बैंकबाट र अरु ठाउँबाट ऋण लिन पाइराख्ने त्यसको चाहिँ कारोबार गर्न पाइराख्ने अहिलेको विद्यमान जुन स्थिति छ त्यसमा हामीले टाइट हुनुपर्यो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।