logo-img

सहरमा बस्ने ७५ प्रतिशत मानिसमा भिटामिन ‘डी’को कमी (भिडियाेसहित)
लिन जाने सित्तैमा पाइन्छ, नजाने महँगो उपचार खर्चमा परिन्छ

बच्चाबेलामा आमाले घाममा बसाल्दै तेल लगाइदिएको याद रमिता कार्कीको मस्तिष्कमा आज पनि ताजै छ । तर, उनी अचम्मित तब भइन्, जब चिकित्सकले उनलाई भने– घाम ताप्न नपुगेरै उनको स्वास्थ्यमा विभिन्न समस्या देखिएको हो । भक्तपुरमा बस्दै आइरहेकी २८ वर्षीया कार्कीलाई लामो समयदेखि हड्डी दुख्ने, केही नगर्दा पनि थकाइ लागिरहने, पढ्न मन नलाग्ने, अनावश्यक नकारात्मक सोच आइरहने, रिंगटा लाग्ने, भारी शरीर भइरहनेजस्ता समस्या देखिएपछि स्वास्थ्य परीक्षणका लागि उनी चिकित्सकहाँ गइन् । 

‘चिकित्सकलाई समस्या सुनाएपछि धेरै जाँच गर्न पठाइयो । पैसा पनि निकै खर्च भयो,’ रमिताले सुनाइन्, ‘सबै जाँच गरेपछि भिटामिन ‘डी’को कमी छ’ भन्दै दुई महिनासम्म हप्तामा एकपटक खाने औषधि दिएर पठाए ।’ चिकित्सकले भिटामिन ‘डी’को कमी छ भन्दा आफू अचम्ममा परेको उनले बताइन् । रमिताले मात्र होइन, २५ वर्षीया अनिषाले पनि भिटामिन ‘डी’को कमी भएकाले लामो समयसम्म विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्यो । 

समयमै रोग पत्ता नलाग्दा पैसा पनि उत्तिकै खर्च भएको उनी बताउँछिन् । अस्पतालमा स्वास्थ्य जाँच गर्दा भिटामिन ‘डी’को कमी भएको पुष्टि भएपछि चिकित्सकले तीन महिनाका लागि भिटामिन ‘डी’ क्याप्सुल सिफारिस गरेको अनिषाले सुनाइन् । 

काठमाडौंकी गीता महर्जनले पनि भिटामिन ‘डी’ खान थालेको तीन वर्ष भयो । चिकित्सकको सल्लाहअनुसार उनी अहिले पनि भिटामिन ‘डी’ क्याप्सुल खाइरहेकी छन् । तीन वर्षअघि थकान लाग्ने तथा हात–खुट्टाको जोर्नी दुख्ने समस्या भएपछि उनी वीर अस्पतालमा गइन् । त्यहाँ विभिन्न स्वास्थ्य जाँच गर्दा उनलाई चिकित्सकले भिटामिन ‘डी’को कमी भएको भन्दै क्याप्सुल खान सुझाब दिए । त्यसपछि भिटामिन ‘डी’को क्याप्सुल खान थालिन् ।

महाबौद्धमा कपडा पसल सञ्चालन गरेर जीविकोपार्जन गर्ने गीता हरेक बिहान ६ बजेदेखि राति ८ बजेसम्म पसलमै व्यस्त हुन्छिन् । जहिले पसलमा व्यस्त भइरहँदा  घामको किरण उनको शरीरले नपाएको वर्षौं भइसकेको उनको भनाइ छ । उनको भनाइलाई नै समर्थन जनाउँदै चिकित्सकले पनि भिटामिन ‘डी’को समस्या भएको बताएको गीताले जनाइन् । 

किन कमी भयो भिटामिन ‘डी’ ? 



बिहानको पारिलो घाम ताप्दा मात्रै पनि प्रशस्त मात्रामा पाइने भिटामिन ‘डी’को कमी अहिले धेरैको साझा समस्या बनिरहेको टेकुस्थित रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैशी बताउँछन् । उनका अनुसार यहाँ मात्र दैनिक सयदेखि दुई सयजनाले भिटामिन ‘डी’को जाँच गराइरहेको र त्यसमध्ये आधामा यसको कमी देखिएकोे छ । 

उपत्यकामा रहेका अस्पतालका ल्याबमा रगत जाँच गराउन आउने अधिकांश मानिसमा अहिले भिटामिन ‘डी’को कमी देखिएको पुष्टि हुन्छ । ललितपुरस्थित अल्का अस्पतालमा दैनिक २० देखि २५ जना रगत परीक्षणका लागि आउने गर्छन् । तीमध्ये १५ जनामा भिटामिन ‘डी’को समस्या देखिने गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २० जनामा १५ जनामा भिटामिन डीको कमी हुनु भनेको ७५ प्रतिशतमा यो समस्या देखिएको बुझ्न सकिन्छ ।



मेडिकल जर्नल अफ इस्टर्न नेपालले सन् २०२१ मा झापाको बी एण्ड सी अस्पतालमा गरेको अध्ययनले पनि भिटामिन ‘डी’को अवस्था डरलाग्दो देखाएको छ । अस्पतालको ओपिडी र आइपिडीमा आएका बिरामीमा गरेको एक अध्ययनले पुरुषको तुलनामा महिलामा भिटामिन ‘डी’को कमी बढीे देखिएको सो अध्ययनले देखाएको थियो । 

१५ देखि ६२ वर्ष उमेर समूहका सात हजार चारसय २ जनामा गरिएको अध्ययनमा चार हजार नौ सय १४ अर्थात् ६६.४ प्रतिशत महिलामा भिटामिन ‘डी’को कमी भएको पाइयो भने दुई हजार चार सय ८८ अर्थात् ३३.६ प्रतिशत पुरुषमा भिटामिन ‘डी’को कमी देखिएको थियो ।

यस्तै, पोखरामा सन् २०१४–२०१५ मा गरिएको एउटा अध्ययनले अस्पतालमा भर्ना भएका करिब ७५ प्रतिशत बिरामीमा भिटामिन ‘डी’को मात्रा कम भएको पाइएको थियो । अध्ययनअनुसार यो समस्या पुरुषभन्दा महिलामा बढी हुने देखिएको छ ।

छैन सरकारसँग तथ्यांक 

नेपालमा कति मानिसमा भिटामिन ‘डी’को कमी छ भनेर सरकारसँग यकिन तथ्यांक नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसलाई भिटामिन ‘डी’को कमी उच्च रहेको सरोकारवाला बताउँछन् । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र यो समस्या अहिले व्याप्त रहे पनि देशभर कति छ भन्ने तथ्यांक नरहेको बताउँछन् ।

‘कुनै अनुसन्धान केन्द्रले यस विषयमा अध्ययन गरेको हुन सक्छ । तर, हामीसँग यसको यकिन तथ्यांक छैन । समस्या धेरै भयो भनेर गुनासो आउन थालेको छ । यस विषयमा मन्त्रालयको पनि ध्यानकर्षण भएको छ । सायद चाँडै नै कार्यक्रम सञ्चालन गर्न सक्छ,’ सूचना अधिकारी मिश्रले भने ।

किन आवश्यक छ भिटामिन ‘डी’ ?

विभिन्न संघ–सस्थाले बेलाबखत गरेको अध्ययनले पुरुषको दाँजोमा महिलामा भिटामिन ‘डी’को कमी बढी हुने गरेको देखाएको छ । हिजोआज मानिसले सहरी जीवनशैली अपनाएपछि पनि भिटामिन ‘डी’को समस्या बढ्दै गएको स्वास्थ्यविज्ञहरू बताउँछन् । उनीहरूका अनुसार घरमा धेरै बस्ने, गाउँको जस्तो घाममा गएर काम नगर्ने हुँदा यस्तो समस्या देखिएको हो । 

डा. अरुणा उप्रेती हाम्रो शरीरलाई दैनिक तीन सय ५० युनिट भिटामिन ‘डी’ आवश्यक पर्ने बताउँछिन् । उनका अनुसार बिहानको घाममा १५ देखि २० मिनेट बस्दा त्यति प्राप्त हुन्छ । शरीरमा ३० देखि ७४ न्यानोग्राम प्रतिमिलिलिटर भिटामिन हुनु सामान्य हो । त्यसभन्दा तल २१ न्यानोग्राम हुनु अपर्याप्त हो भने १० न्यानोग्रामभन्दा कम हुनु अत्यधिक कमी हो । त्यस्तो अवस्थामा भने क्याप्सुल नै खानुपर्ने डा. उप्रेतीले जनाइन् ।

‘भिटामिन ‘डी’ डेफिसिएन्सी नै रोग हो भन्न मिल्दैन । तर, यसको कमीले मुटु, हड्डीमा समस्या तथा रोगप्रतिरोधात्मक क्षमतामा कमीलगायतका समस्या आउँछ,’ डा. उप्रेतीले भनिन् । डा. उप्रेतीका अनुसार भिटामिन डीको कमीले हाड कमजोर हुन्छ । त्यस्तै, मुटुको चाल अस्वाभाविक हुने, उदासी बढ्ने र नकारात्मक सोच बढी आउँछ । 

के भिटामिन ‘डी’ सप्लिमेन्ट जरुरी छ ? 

हिजोआज भिटामिन ‘डी’को अभाव हुनासाथ क्याप्सुल खाने गरिएको छ । तर, शरीरमा भिटामिन ‘डी’को कमी हुँदैमा क्याप्सुल खाइहाल्ने प्रवृत्ति गलत भएको डा. उप्रेतीको भनाइ छ । यसका साथै आफ्नो स्वार्थका लागि केही चिकित्सकले भिटामिन ‘डी’को क्याप्सुललाई व्यापारीकरणलाई प्रोत्साहन गरेको उनको आरोप छ । 

उनी भन्छिन्, ‘घाम नलाग्ने देशतिर भिटामिन ‘डी’ क्याप्सुल खुवाइनु स्वाभाविकै हो । तर, नेपालमा वर्षभरमा लगभग तीन सय दिन घाम लाग्छ । यस्तो ठाउँमा पनि किन क्याप्सुल खान्छौँ हामी ?’ उनका अनुसार महिला र सहरी क्षेत्रमा बसोबास गर्ने मानिसमा नै भिटामिन ‘डी’को कमी बढी हुने गरेको छ । सहरमा बाक्ला घरहरूले घामका किरणहरूले छेकिरहने भएकाले यस्तो भएको हो ।

  • प्रकाशित मिति : भदौ १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया