logo-img

घोँगी र झिँगामाछा बिक्री गरेर दैनिक १५ सयसम्म आम्दानी

कैलालीको भजनी नगरपालिका–८ की सोमती चौधरीलाई आजभोलि माछा मार्ने काममा भ्याइनभ्याइ छ । वर्षाको पानीले बनेका तलाउ, नदी तथा डुबान भएका क्षेत्रमा माछा मार्न प्रयोग हुने हेल्का, डेलिया (माछा मार्ने साधन) लगायत साधन बोकेर सोमती माछा तथा झिँगामाछाको खोजीमा जाने गर्छिन् । 

खेतीपातीको समय सकेपछि फुर्सदको समयलाई सदुपयोग गर्दै माछाको खोजीमा जाने गरेको उनले बताइन् । ‘घरमा खासै काम हुँदैन । फुर्सदमा समय कटाउनुभन्दा अलिकति माछा मरे पनि आफूलाई खान हुन्छ । बढी भए सुकाएर भोलिका लागि हुन्छ । त्यो भन्दा बढी भए बिक्री गरेर राम्रो पैसा आउँछ,’  चौधरीले भनिन्, ‘हिउँदको समयमा अहिले सुकाएको माछा तरकारीका लागि राम्रो हुने हुँदा आजभोलिको दिनचर्या माछा मार्न मै बितेको छ ।’ 

वर्षातको समयमा थारू समुदायका लागि सोमती एउटा उदाहरण मात्र हुन । नदीमा पानीको बहाव बढेपछि थारू महिला माछाको खोजीमा हेल्का बोकेर नदीमा पुग्ने गरेका छन् । कतिपयले त्यसलाई वर्षातको समयमा आम्दानीको स्रोत नै बनाएका छन् । 

‘घरमा चारजना छौँ । दिनभर सबैको काम माछा, घोँगी खोज्ने हुन्छ’, भजनीकै जितेन्द्र चौधरीले भने, ‘केही भएन भने पनि दिनमा तीन/चार केजीसम्म सङ्कलन भइहाल्छ । त्यो बिक्री गरेपछि १ हजारदेखि एक हजार पाँच सयसम्म आइहाल्छ ।’ उनले झिँगामाछा र घोँगी बेचेर साउनमा लगभग ६५ हजार रुपैयाँ आम्दानी गरेको सुनाइन् । 



भजनीको अधिकांश क्षेत्र डुबानमा पर्छ । कान्द्रा, मोहना, पथरैया र काढा नदीमा आएको बाढी बस्तीमा पसेपछि डुबान हुन्छ । डुबान क्षेत्रमा नदीबाट माछा आउने र ती माछाका लागि जाल थाप्ने गरिएको रञ्जित चौधरी बताउँछिन् । 

‘नदीबाट पानीसँगै सानाठूला माछा डुबान भएको खेतमा आउने गर्छन् । त्यसमा जाल हाल्यो भने दुई–तीन केजी दिनमा भेट्टाइन्छ’, उनले भने, ‘बिक्री गर्नका लागि बजारको समस्या  छैन । नभए सुकाएर बिक्री गर्दा झन् राम्रो मूल्य पाइन्छ ।’ आफूलाई खान पनि हुने अनि बिक्री गरेर पैसा पनि आउने भएपछि थारू समुदायले फुर्सदको अधिकांश समय माछाको खोजीमा बिताउने गरेको रञ्जितले बताइन् । 



बजारमा घोँगीको मूल्य प्रतिकेजी रु दुई सयसम्म छ । झिँगामाछा चारदेखि छ सयसम्म बिक्री हुन्छ । ठूलो माछा ८ सय रुपैयाँसम्ममा खरिद गर्ने गरेको होटल व्यवसायी जीतबहादुर चौधरी बताउँछन् । 

उनका अनुसार एउटै महिलाले दिनमा १० केजीसम्म घोँगी ल्याउने गरेका छन् । तीन–चार केजीसम्म झिँगामाछा बिक्रीका लागि ल्याएर आउने गरेको उनको भनाइ छ ।



‘दैनिक १०–१२ केजी घोँगी हाम्रै पसलमा खपत हुन्छ । बढी भएको अन्य होटलमा पठाउँछौँ,’ जीतबहादुरले भने, ‘यो याममा एउटै महिलाले ६० देखि ७० हजार रुपैयाँसम्म घोँगी तथा माछा बिक्री गरेर आम्दानी गरेको मैले देखेको छु,’ उनले भने । रासस 

  • प्रकाशित मिति : भदौ १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया