logo-img

लिग-२ र टी-२० सिरिजको तालिका सार्वजनिक, नेपालको खेल कहिले ?

आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको खेल तालिका सार्वजनिक भएको छ । क्यानडा क्रिकेट बोर्डले यही सेप्टेम्बरमा हुने लिग–२ सिरिजको खेल तालिका बुधबार बिहान सार्वजनिक गरेको हो ।

खेल तालिकाअनुसार नेपालले लिग–२ सिरिजको पहिलो खेलमा क्यानडाको सामना गर्नेछ । उक्त खेल १६ सेप्टेम्बरमा हुनेछ । यस्तै, नेपालले दोस्रो खेल १८ सेप्टेम्बरमा ओमानसँग खेल्नेछ । त्यसपछि नेपालले २२ सेप्टेम्बरमा क्यानडा तथा २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।

नेपाली टिम हाल श्रीलंकामा अभ्यास गरिरहेको छ । जसअन्तर्गत नेपालले दोस्रो एकदिवसीय अभ्यास खेल बुधबार खेल्दैछ । यद्यपि वर्षाका कारण श्रीलंकामा नेपाली खेलाडीले सोचेअनुसार अभ्यास गर्न पाएका छैनन् । नेपाल र श्रीलंका डेभपलमेन्ट–११ बीचको पहिलो खेलमा पनि वर्षाका बाधक बनेको थियो । 

यस्तै, नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक टी–२० सिरिजको खेल तालिका पनि सार्वजनिक भएको छ, जसअनुसार नेपालले दुवै टिमसँग समान दुई म्याच खेल्नेछ । टी–२० सिरिजमा नेपालले पहिलो खेलमा आयोजक क्यानडाको सामना गर्नेछ ।  

यी दुई टिमबीचको प्रतिस्पर्धा २८ सेप्टेम्बरमा हुनेछ । यस्तै, नेपालले दोस्रो खेलमा २९ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ । त्यस्तै, नेपालले १ अक्टोबरमा क्यानडा तथा ३ अक्टोबरमा ओमानको सामना गर्नेछ ।

दुवै सिरिज मेपल लीफ क्रिकेट ग्राउन्डमा हुने छन् । टी–२० आई क्रिकेटमा हालसम्म ओमानसँग नेपालले ६ म्याच खेलेको छ, जसमा दुवै टिमले तीन/तीन खेलमा जित निकालेका छन् । 



यस्तै, ओडिआईमा ओमानसँग नेपालले सात खेलमा प्रतिस्पर्धा गरेको विगत छ, जसमा नेपालले तीनमा जित र चार खेलमा हार बेहोरेको छ । नेपाली टिम अब क्यानडा टूरमा ओडिआईमा पनि ओमानविरुद्धको हेड टु हेड नतिजामा सुधार गर्ने योजनामा छ । यस्तै, नेपालले अहिलेसम्म क्यानडासँग तीन ओडिआई खेलेको छ । र, नेपालले तीनै खेलमा जित हात पारेको इतिहास छ ।

नेपाल यसपालि पनि क्यानडाविरुद्ध आफ्नो अपराजित यात्रा कायमै राख्ने योजनामा छ । यस्तै, यी दुई टिमले हालसम्म टी–२० आईमा एक खेलमा मात्र एकअर्काको सामना गरेका छन् । र, उक्त खेलमा नेपाल विजयी भएको विगत छ ।



आइसिसी टी–२० आईको वरीयताको कुरा गर्दा हाल नेपाल १७औँ, ओमान १९औँ र क्यानडा २३औँ स्थानमा छ । अर्थात् नेपाल वरीयतामा क्यानडाभन्दा ६ स्थानमाथि छ ।

यस्तै, ओडिआई वरीयतामा नेपाल १६औँ, ओमान १७औँ र क्यानडा १९औँ स्थानमा छ । नेपाललाई क्यानडा भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेर वरीयतामा सुधार गर्ने अवसर छ ।

यस्तै, लिग–२ तालिकामा क्यानडा तेस्रो स्थानमा छ । उसले आठ म्याच खेल्दा चारमा जित र चार खेलमा हार बेहोरेको छ । क्यानडाले पहिलो सिरिजमा चारवटै खेल जितेको थियो । तर, केही दिनअघि सम्पन्न श्रृंखलामा भने उसले चारवटै खेलमा पराजय बेहोर्यो । 

यस्तै, ओमान हाल लिग–२ तालिकाको छैटौँ स्थानमा छ । उसले चार म्याच खेल्दा दुईमा हार, एकमा जित र एक खेलमा अंक बाँडेको छ । ओमान गत संस्करणको लिग–२ उपविजेता टोली हो । यस्तै, नेपाल हाल तालिकाको सातौं स्थानमा स्थानमा छ ।

नेपालले चार म्याच खेल्दा तीनमा हार तथा एक खेलमा मात्र जित निकालेको छ । गत फेब्रुअरीमा भएको पहिलो सिरिजमा नेपालले नामिबियाविरुद्ध दुवै खेलमा पराजय बेहोर्दा नेदरल्याण्ड्सलाई एकमा हराउँदा एक खेलमा जित निकाल्यो ।

नेपाल दोस्रो सिरिजमा उत्कृष्ट कमब्याक गर्दै अंक तालिकामा सुधार गर्ने रणनीतिमा छ । त्यसका लागि नेपाली टिमले दुई साता भारतको बेंग्लोरमा प्रशिक्षणसमेत गर्यो । र, टोली श्रीलंकामा अभ्यास गरेर क्यानडातर्फ लाग्नेछ । क्यानडामा सिरिज खेलेपछि नेपाल अक्टोबरमा लिग–२ को तेस्रो श्रृंखला खेल्न अमेरिकातर्फ लाग्नेछ । त्यहाँ नेपालले अमेरिका र स्कटल्याण्डको सामना गर्नेछ । 

लिग-२ र टी-२० सिरिजको तालिका :

  • प्रकाशित मिति : भदौ १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया