logo-img

‘सामाजिक सञ्जाल’मा पोखिँदै छ ओलीमाथिको आक्रोश

हिजो अर्थात् मंगलबार मध्याह्नदेखि बुधबार ६ बजेसम्म प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सामाजिक सञ्जाल ‘फेसबुक’मा करिब ७० हजार फलोअर्स घटेका छन् । अहिले ओलीलाई अनफलो गर्ने अभियान नै चलिरहेको छ । उनलाई अनफलो गर्ने अभियान किन र कसले चलायो भन्ने यकिन रूपमा भन्न नसकिने भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)का समर्थहरूले ओलीलाई अनफलो गर्ने अभियानलाई बढावा दिएका छन् । 

यसको चर्चा सामाजिक सञ्जालतमा छताछुल्ल बनिसकेको छ । मंगलबारसम्म झण्डै साढे ६ लाखभन्दा बढी फलोअर्स रहेको ओलीको फेसबुक पेजमा अहिले घटेर हामीले समाचार तयार पार्दासम्म ५ लाख ८९ हजारमा झरेको छ । ​उनीविरूद्ध अनफलो अभियान चलाउने जमातले समाजिक सञ्जालमा विभिन्न स्टाटस लेखिरहेका छन् । ‘सुरेश रेग्मी’ नाम गरेका एक युवाले फेसबुकमा निर्वाचन नतिजा प्रकाशन गरेजसरी अनफलो अभियानलाई व्यंग्यात्मक शैलीमा केपी ओलीको फलोअर्स घटेको र मेयर बालेनको फलोअर्स बढेको विषय प्रस्तुत गरेका छन् ।

उनले ‘नतिजा आउन बाँकी ः लौरो २ मिलियन बाट २.१ मिलियन, सूर्य ६६७ के बाट ५९८ के कोर एरिया आउन बाकी !’ उल्लेख गरेका छन् । (के को अर्थ हजार हो) । यसैगरी अन्य व्यक्तिहरूले पनि ‘मैले त केपी शर्मा ओलीलाई अनफलो गरिसके तपाईंले गर्नुभयो त ?’ भन्ने खालका स्टाटस लेखेर सामाजिक सञ्जाल तताइरहेका छन् ।

बालेन र ओलीको टकराब : सामाजिक सञ्जालको प्रभाव



काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएदेखि नै प्रधानमन्त्री ओली र मेयर बालेन्द्र साह (बालेन)बीच बेलाबखतमा सामाजिक सञ्जालमार्फत नै टकराब हुने गरेको छ । आफूलाई चित्त नबुझेको कुरा फेसबुकमा पोस्ट्याइहाल्ने बालेनको बानी र मौका छोपी–छोपी विभिन्न कार्यक्रममा घोचपेच गर्ने ओलीको शैलीले अहिले ‘देश प्रमुख’ र ‘नगर प्रमुख’बीच पानी बाराबारको अवस्था सिर्जना गरिदिएको छ ।

मेयर बालेन आफ्नो काम र शैलीमा कोही कसैले बाधाअड्चन नपुर्याओस् भन्ने चाहन्छन् भने नेकपा एमालेसम्बद्ध वडाअध्यक्ष, नेता, तथा ओली आफ्नो पुरानै शैली नछाड्ने पक्षमा देखिन्छन् । यही कारण ओली र बालेनबीच बेलाबेलामा सामाजिक सञ्जालमै घमासान युद्ध चलिरहेको हुन्छ ।



अहिले केपी ओली अनफलो अभियान चल्नुपछाडिको कारण पनि यही हो । नेकपा एमाले नेतृ एवं लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्माले विगत ८ वर्षदेखि बालश्रम शोषण गरेको भन्दै परेको मुद्दामा सरकारले कारबाही अघि नबढाएको विषयलाई लिएर बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

सांसद शर्मालाई पक्राउ गर्नुपर्ने मागसहित उनले एमाले अध्यक्षसमेत रहेका ओलीलाई आइतबार सामाजिक सञ्जालमार्फत पुनः एकपटक चिढ्याउने प्रयास गरेका थिए ।



मेयर साहले ८ वर्षदेखि बालिकालाई बन्दी बनाएर घरेलु श्रमिकका रूपमा बाल श्रमशोषण गरेको घटनाका संलग्न सांसद शर्मालाई पक्राउ नगरेको भन्दै आपत्ति जनाएका हुन् । सांसद शर्मालाई उक्त प्रकरणमा अदालतले मुद्दा चलाउनू भन्दा पनि वर्तमान सरकारले जोगाएर राखेको आरोप मेयर साहले लगाएका छन् ।

काठमाडौं महानगरपालिकाले २ महिनादेखि कारबाही अघि बढाउनू भन्दा पनि यो सरकारले नसमातेको भन्दै उनले सामाजिक सञ्जालबाटै ओली सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा । उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एकजना नाबालिकालाई घरेलु कामदारका नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक कुटपिट गर्दै आउनुभएको छ’, बालेनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘काठमाडौं महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनू भन्दा पनि यो सरकारले समातेको छैन । अदालतले पनि मुद्दा चलाउनू भनिसकेको छ ।’

उनले यो प्रकरणमा आरोपित शर्मालाई मात्र नभएर प्रधानमन्त्री ओलीलाई पनि जोड्दै भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले पनि समात भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समात्नुलाई भन्छ । सायद तपाईंका लागि सुशासनको अर्थ बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समात्ने ? कि नसमात्ने ?’

बालेनले लेखेको यो स्टाटस अहिले फेसबुकले हटाइदिएको छ । कोही कसैले बालेनको उक्त स्टाटसविरुद्ध रिर्पाेट गरिदिएपछि फेसबुकले उक्त स्टाटसलाई हटाएको देखिन्छ । तर बालेनले आफ्नो स्टाटस सरकारले हटाउन लगाएको आरोप लगाएका छन् । स्टाटस हटाइएपछि बालेनले ‘पोस्ट उडाउने हैन । दोषी समाऊ सरकार भन्दै अर्काे स्टाटस लेखेका छन् ।

उनले उक्त स्टाटस लेखेपछि उनका समर्थकले प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन् । बालेनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ हैन भने दोषी समाऊ ।’

महानगरकै टोलीले केही समयअघि सांसद शर्माको घरबाट बालिकाको उद्धार गरेको थियो । बालिका आफैँले महानगरपालिकालाई फोन गरेर आफूलाई श्रमषोषण तथा कुटपिट गरेको जानकारी दिएपछि महानगरको टोली र नेपाल प्रहरी सांसद शर्माको काठमाडौंस्थित घरमा पुगेर बालिकाको उद्धार गरेको थियो । त्यही कामलाई पूर्णता दिन बालेन सांसद शर्मा पक्राउ परेको हेर्न चाहन्छन् भने एमाले नेतृत्वको सरकार त्यसो गर्न चाहँदैन ।

यसैबीच ओलीले एउटा केही समयअघिको भिडियो सामग्री पोस्ट गर्दै भनेका छन्, ‘मलाई पनि थुप्रै साथीहरूले जवानै देखिनुहुन्छ भन्छन्, त्यसमा पत्याइहाल्नुपर्ने कुनै जरुरी छैन । भन्दाखेरि त भन्दिन्छन् साथीहरूले भर्खरकै देखिनुहुन्छ तपाईं भनेर, अनि कस्तो देखिन्छु भनेर ऐना म पनि हेर्छु नि कहिलेकाहीँ त । कसैले मलाई भर्खरकै देखिनुहुन्छ तपाईं, एकदम तन्दुरुस्त, जवान देखिनुहुन्छ भन्यो भने म बेलुका गएर हेर्छु । कति मलाई उल्क्याएको हो कति साँचो हो भनेर हेर्छु, ऐनाले भनिहाल्छ फेरि ।’

ओलीले यो भिडियो सामाग्रीमार्फत बालेनलाई सामाजिक सञ्जालमा पाएको समर्थनबाट नहौसिन भनेको जस्तो देखिन्छ । उनले सामाजिक सञ्जाल नै सबै वास्तविकता नहुने भन्ने खालको सन्देश दिन खोजेको भान यो भिडियो सामग्रीले देखाउँछ । 

मेयर बालेनले ओलीविरुद्ध फेसबुकमा स्टाटस लेखेको यो पहिलोपटक भने होइन । उनले यसअघि पनि ओली र संघीय सरकारविरुद्ध लेख्दै आएका छन् ।
गत जुलाई २ तारिखमा वर्तमान प्रधामन्त्री ओली र कांग्रेसका समापति शेरबहादुर देउवाको तस्बिर राख्दै ‘यो समय गिरिबन्धु चियाको हो । काले–काले मिलेर खाऊँ भाले’ भनेर लेखेका थिए ।

  • प्रकाशित मिति : भदौ १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया