राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायको साझा मञ्चको १२औँ सम्मेलनमा सहभागी हुन नेपाल आएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तले शिष्टाचार भेट गरेका छन् ।
भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै राष्ट्रपति पौडेलले राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने स्पष्ट पारे ।
उनले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने उनको भनाइ छ । राष्ट्रपति पौडेलले सम्मेलनले दक्षिण एसियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामना दिए ।
‘समग्र दक्षिण एसिया क्षेत्रमा स्वच्छ, पारदर्शी र विश्वसनीय निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि यस संस्थामार्फत यहाँहरूको अमूल्य योगदान निरन्तररूपमा रहनेमा म विश्वस्त छु’, राष्ट्रपतिको भनाइलाई उद्धृत गर्दै उनको सचिवालयले जानकारी दियो ।
राष्ट्रपति पौडेलले आगामी दिनमा अध्यक्ष राष्ट्रको हैसियतमा अन्य सदस्य मुलुकहरूसँग यस संस्थाको साझा उद्देश्यहरू प्राप्त गर्न र चुनौतीहरू विरुद्ध सामूहिकरूपमा सामना गर्नका लागि आपसी सहयोग र सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल प्रतिवद्ध रहने समेत स्पष्ट पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।