logo-img

श्रीलंकामा नेपालको तेस्रो खेल आज, फेरि वर्षा बाधक बन्ने सम्भावना
फाइल तस्बिर

आइसिसी विश्वकप लिग–२ सिरिजको अभ्यासका लागि हाल श्रीलंकामा रहेको नेपाली टिमले आज तेस्रो तथा अन्तिम म्याच खेल्ने तालिका छ । नेपाल र श्रीलंका डेभलपमेन्ट–११ बीचको खेल बिहान १०ः१५ देखि सुरु हुनेछ ।

यद्यपि तेस्रो खेलमा पनि वर्षा बाधक बन्ने सम्भावना छ । यसअघिको दुई अभ्यास खेल पनि वर्षाका कारण रद्द भएका थिए । यदि शुक्रबार पनि खेल रद्द हुन्छ भने नेपाली टिम श्रीलंकाबाट अभ्यासबिना क्यानडा प्रस्थान गर्नेछ । र, त्यहाँ केही दिन प्रशिक्षण गरेर टिमले श्रृंखला खेल्नेछ, जसअनुसार नेपालले लिग–२ मा १६ सेप्टेम्बरमा क्यानडासँग खेल्नेछ ।

यस्तै, नेपालले दोस्रो खेलमा १८ सेप्टेम्बरमा ओमानको सामना गर्नेछ । त्यसपछि नेपालले २२ सेप्टेम्बरमा क्यानडा तथा २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ । गत संस्करणमा तेस्रो भएको नेपालले यसपालिको लिग–२ मा अपेक्षाकृत सुरुवात गर्न सकेन । जारी लिग–२ को पहिलो श्रृंखलामा नेपालले चारमध्ये तीनमा हार तथा एक खेलमा मात्र जित निकाल्यो । 

नेपाल अहिले दुई अंकसहित तालिकाको सातौं स्थानमा छ । यदि क्यानडा सिरिजमा चारवटै खेल जित्न सके नेपाली टिम दोस्रो स्थानमा उक्लिनेछ । यद्यपि क्यानडामा त्यो उपलब्धि हासिल गर्न नेपाललाई त्यति सहज छैन । किनकी विदेशी मैदानमा नेपालको रेकर्ड त्यति उत्कृष्ट छैन ।

नेपाललाई यसपालि क्यानडामा उत्कृष्ट प्रदर्शन गरेर लिग–२ तालिकामा व्यापक सुधार गर्ने चुनौती र मौका छ । किनकी नेपालले अक्टोबरमा थप बलियो टिमविरुद्ध लिग–२ श्रृंखला खेल्नेछ, उक्त सिरिजमा नेपालले आयोजक अमेरिका र स्कटल्याण्डको सामना गर्नेछ ।

यी दुई टिमसँग भिड्नुअघि नेपालले क्यानडामै त्रिकोणात्मक टी–२० सिरिज पनि खेल्नेछ, जसअन्तर्गत नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडा तथा २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका छ । 



नेपाली टिमले तीन महिनापछि टी–२० सिरिज खेल्नेछ । नेपालले पछिल्लोपटक गत जुनमा आइसिसी टी–२० विश्वकप खेलेको थियो । त्यसयता नेपालले कुनै पनि अन्तर्राष्ट्रिय सिरिज खेलेको छैन ।  यस्तै, नेपालले गत फेब्रुअरीयता एकदिवसीय श्रृंखलामा प्रतिस्पर्धा गरेको छैन ।

त्यस्तै, ओमानले गत जुलाईयता अन्तर्राष्ट्रिय सिरिज खेलेको छैन । ऊ हाल लिग–२ तालिकाको छैटौँ स्थानमा छ । ओमानले चार म्याच खेल्दा दुईमा हार, एकमा जित र एक खेलमा अंक बाँडेको छ । ऊ गत संस्करणको लिग–२ मा दोस्रो भएको थियो । यसपालि भने ओमानले सोचेअनुसारको सुरुवात गर्न सकेन । 



यस्तै, क्यानडाले गत अगस्टमा ओडिआई र टी–२० सिरिज खेलेको थियो । यद्यपि उक्त दुवै सिरिजमा क्यानडाको प्रदर्शन कमजोर रह्यो । उसले उक्त लिग–२ श्रृंखलामा चारवटै खेलमा पराजय बेहोर्यो । यद्यपि क्यानडाले पहिलो सिरिजमा भने चारवटै खेल जित्दै सानदार सुरुवात गरेको थियो । लिग–२ तालिकामा ऊ अहिले तेस्रो स्थानमा छ । क्यानडाले आठ म्याच खेल्दा चारमा जित र चार खेलमा हार बेहोरेको छ ।

सन् २०२७ मा सकिने लिग–२ प्रतियोगितामा आठवटा टिमले प्रतिस्पर्धा गरिरहेका छन् । र, प्रत्येक टिमले ३६/३६ म्याच खेल्न पाउने छन् । नेपालले अब यस प्रतियोगितामा ३२ म्याच खेल्न बाँकी छ ।

नेपालले गत संस्करणको लिग–२ मा ३६ मध्ये १९ मा जित, १५ मा हार तथा दुई खेलमा अंक बाँड्यो । नेपाली टिम यसपालि उत्कृष्ट कमब्याक गर्दै पहिलो संस्करणको लिग–२ को स्थान हासिल गर्ने लक्ष्यमा छ ।   

  • प्रकाशित मिति : भदौ २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया