logo-img

फोन मात्र होइन, तीज पनि अब ‘स्मार्ट’
हरितालिका तीज पर्व अर्थात् महिलाहरूको समर्पण, संस्कार र सौन्दर्यको प्रतीक

केही साता बितिसक्यो तीज पर्वसँग सम्बन्धित तस्बिर र भिडियोले सामाजिक सञ्जाल रङ्गिएको । सारी र लेहेंगा पहिरिएर चिरिच्याट्ट परेका महिलाहरूका तस्बिरले तीज मनाउने तौरतरिका बदलिएको देखाउँछ । 

स्मार्ट मोबाइलले क्लिक भएका तस्बिर फेसबुकका भित्तामा रङ्गिएका छन् । तीजका तस्बिर र मोबाइलबाटै अपलोड भएका भिडियोको म्यासेज बक्समा ‘ह्याप्पी तीज’, ‘सो नाइस’ लेखिएका कमेन्टको ओइरो छ । छिनछिनमा अपडेट भइरहने तीजका तस्बिर र भिडियोले हिन्दु धर्मावलम्बीका पर्वहरू अब स्मार्ट बन्दै गइरहेका छन् भन्ने स्पष्ट दृश्य झल्किन्छ ।

सामाजिक सञ्जालको वालमा मात्र नभई समग्रमा हिन्दु नारीहरूको महान् चाड हरितालिका तीजले सबैतिर रौनक छाएको छ । सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर र भिडियोले तीज मनाउनै पर्ने बाध्यता त थपिदिएको छ नै त्यो भन्दा पनि मोबाइलबाटै क्लिक भएका सेल्फी पोज अनि तस्बिरहरू अपलोड भएन भने तीज खल्लो हुने र ‘मेमोरियल’ हुनै नसक्ने भइसकेको छ ।

तीज आउनु दुई महिना पहिलेदेखि युट्युब आइसकेका तीजे भाकाले त झनै तीजको माहोल नै तताइसकेको छ । परम्परालाई नियाल्ने हो भने साउन महिना भरी बस्ने भगवान् शिवको बर्तसँगै हातमा लगाइने हरिया रङ्गका चुरा, हरियो पोते, मेहेन्दी र राता पहिरनले तीज आएको प्रस्ट पार्छ । गाउँघरतिर साँझपख मादलको घिन्ताङ र तीजको भाकाले हिन्दु नारीहरूलाई प्रफुल्लित तुल्याउने गर्छ । घरको कामले थिचिएका महिलाहरूका लागी तीज एक उल्लासको पर्व हुने गर्छ । किनकि कतिपय महिलाहरूले माइतीघर जानका लागी तीज नै पर्खनु पर्ने बाध्यता छ ।  



आफ्नो जन्म घर, आमाबुबा, भाइबहिनी, अन्य नातागोता र साथीसंगीलाई चटक्क छोडी पराई घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा तीज पर्वलाई लिइन्छ । यस पर्वमा विवाह बन्धनमा बाँधिएका चेलीबेटी माइती घरमा आउने र आफ्ना मनको भावना साटासाट गर्ने गर्दछन् । महिलाहरूलाई पराई घरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झना कम गर्न यो पर्वले ठुलो भूमिका खेलेको हुन्छ । व्यस्तताका कारण माइत घर पुग्न नसकेका महिलाहरूको माइत पुग्ने ठूलो अवसरका रूपमा तीजलाई लिने गर्छन् । 

माइतीघर पुगेका चेलीहरू धार्मिक विधि अनुसार आफन्त र साथीसंगी मिलेर पञ्चमी पूजा गर्ने, मिठो मसिनो बनाएर खाने र रमाइलो गर्ने प्रचलन छ । हुन त तीज हिन्दु नारीहरूको पौराणिक पर्वका रूपमा मानिँदै आएको छ । तर पौराणिक पर्वले बिस्तारै रूप–रङ्ग बदल्दै गइरहेको छ । धार्मिक विधि फेरबदल आउन थालेको छ । साथै पर्व मनाउने शैली र तौर तरिकामा परिवर्तन आउन थालेको छ । वास्तवमा तीज ‘स्मार्ट’ र ‘मोर्डन’ बन्दै गइरहेको छ । 



अनि ग्ल्यामरस साडी

नेपाल र नेपालीहरूको पहिचान भनेको चौबन्दी चोलो र फरिया अनि दौरा सुरुवाल र ढाका टोपी हो । नेपाली समाजमा पहिले पहिले साडीलाई महिलाहरूको लाज ढाक्ने उपयुक्त पहिरनको रूपमा लिइन्थ्यो । साडीले धपक्कै शरीर ढाकेपछि महिलालाई असल चरित्र भएकीमा गनिन्थ्यो । तर पछिल्लो समयमा साडी पहिरन गर्ने तरिका बदलिन थालेको छ । कुनै बेला ट्रेडिसनल आउटफिट साडी यतिबेला ग्ल्याम्मरस बन्न थालेको छ । तीजका बेला आधुनिक महिलाहरूले लगाउने साडीको स्टाइल हेर्दा उहिले लगाइने चौबन्दी चोली र साडी प्रतिको मोह घट्दै गएको पाइन्छ ।  



बारुले कम्मरमा गज्जबको मुजा बनाएर अड्याइएको साडीमाथि नाभी नदेखिए र पिठ्यूमा खुल्ला नभएको व्लाउस नलगाए हिजोआज साडीको गरिमा नै घटन थालेको भान हुन्छ । साडी लगाउँदा नाभि र पिठ्यू देखाउने होडबाजी चल्न थालेको छ । हिन्दु धर्मावलम्बी नारीहरूलाई लाज ढाक्न मात्र होइन परम्परा धान्न पनि साडीको पहिरन अनिवार्य मानिन्छ ।  तर पछिल्लो समयमा साडी लगाउने तौरतरिका बदलिएको छ । हिन्दु नारीहरूले साउन महिनामा हरियो, तीज र दसैँमा रातो साडी लगाउने गर्छन् । हुन त हिन्दु नारीहरूको सौन्दर्यको प्रतिकका रूपमा साडी र गरगहनालाई लिने गरिन्छ । पछिल्लो समयमा युनिक र स्टाइलिस साडीले महिलाहरूलाई सेक्सी र ग्ल्याम्मरस देखिन थालेका छन् । यस्ता साडी पहिरिएर तीजे भाका नाचिएन र तस्बिर फेसबुकमा पोस्ट गरिएन भने पाखेको संज्ञा पाइन्छ भन्ने त्रास छ । 

अस्सीको दशकमा बलिउडका नायिकाहरूले साडी लगाउने तरिका परिवर्तन गरेसँगै नेपाली गाउँ सहरमा पनि तरिका बदलिएको हो । हुन पनि बलिउडका नायिकाहरू साडी पहिरनका मामला ट्रेड सेन्टरकै रूपमा गनिन्छन् । बलिउडमा ५० को दशकदेखि साडीको रङ्ग रूप र स्टाइल परिवर्तन हुँदै आएको पाइन्छ । ५० को दशकमा बैजयन्ती माला, माला सिन्हा लगायतका अभिनेतृहरु सिम्पल साडीमा सिल्भर स्क्रिनमा देखा परेका थिए । आधुनिक तथा डिजिटल युगको सुरुवातसँगै साडीको स्टाइल र लुक्स परिवर्तन भएर गएको छ ।

तीजका भाकामा आधारित कतिपय म्युजिक भिडियोमा देखिएको साडीको स्टाइलले नेपाली नारीहरूलाई पूर्णरुपमा ग्ल्याम्मरस बनाएको छ । तीजका अवसरमा कतिपय बुटिकहरुमा साडी लगाउने तरिका सिक्न पाइन्छ । जसले नेपाली महिलाहरूलाई सहज बनाएको छ । ट्रेडिसनल साडीहरू पनि विकिनी व्लाउजमा लगाए पछि बोल्ड र ग्ल्याम्मरस बन्ने गर्छ । नेट जालीदार तथा हलुका साडीहरू साथै बनारसी साडी नेपाली महिलाहरूका रोजाइ हुन । त्यस बाहेक सिल्क, सिफोन, नेट, लेहेंगा, जर्जट साडी पनि नेपाली नारीहरूका लागी छनोटमा पर्छन । हिन्दु महिलाहरूले भाकल पुरा गर्न मन्दिरमा साडी चढाउने प्रचलन पनि छ । 

तीजमा सजिएका कतिपय नारीहरूले साडी लगाउने तौरतरीकाले पनि साडीलाई ग्ल्याम्मर, बोल्ट फेसनका रूपमा स्विकारेको पाइन्छ । युवतीहरु भन्दा पनि उमेर ढल्केका महिलाहरूले साडी लगाउने तरीकालाई परिवर्तन गर्दै लगिरहेका छन् । वयस्क महिलाहरू साडीमा धेरै सेक्सी र बोल्ड देखिन थालेका छन् । 

लेहेंगा र कुर्तामा स्मार्ट

लेहेंङा र कुर्ता पहिरिएकी नारी हिजोआज स्मार्ट मानिन्छिन् । तीज वा अन्य चाडपर्व आएपछि यसको व्यापार चम्किन्छ । व्यापारसँगै नेपाली महिलाहरू पनि चम्किन्छन् । मोर्डन लेहेंगा र कुर्ता लगाउने प्रतिस्पर्धा नै चल्छ । प्रायजसो तीजका बेला यसको व्यापार धेरै हुन्छ । तीजलाई लक्षित गरी भारत, पाकिस्तान, बंगलादेश, सिंगापुर, थाइल्याण्ड, चीन लगायतका देशबाट मंहगा कुर्ता तथा लेहेंगाहरु नेपाली बजारमा भित्रिने गर्छन् । तीज मात्र नभई दशै तिहारका बेला बहुमूल्य पत्थर, सितारा, जरी, चाँदी र सुनको जलपका साथै अतिरिक्त सज्जा गरिएका कुर्ता सुरुवाल र लेङ्गाको माग अत्याधिक बढ्छ ।  

दुई दिनको पर्व महिना दिनसम्म

उहिले गाउँघरमा माइत आएका साथीसंगीहरु मिलेर पाटी पौवा र चौतारोमा भेला भएर तीजे भाका गीत गाउँदै दर खाने प्रचलन थियो । मादल र ताली पड्काएर भजन र सिलोकमा रमाइलो गर्ने गरिन्थ्यो । यद्यपि, कतिपय गाउँहरूमा यस्तो चलन जीवितै छ । पौराणिक कालदेखि चलिआएको परम्परालाई जोगाउने प्रयास गरिन्थ्यो । माइत आएका चेलीहरू चाँडै आफ्नै घर नपुगे श्रीमानको हप्की सहनुपर्ने बाध्यता थियो । तर समयानुकूल केही वर्षयता तीज एक महिनासम्मै मनाउने प्रचलन बढेको छ ।  रेष्टुरेन्ट, डिस्कोबार, पार्टी प्यालेसहरूमा दर खुवाउने होडबाजी हुने गरेको छ । 

राता साडी र गरगहनाको होडबाजी गर्न मंहगा स्थानमा दर खुवाउने प्रचलन बढन थालेको छ । एक दिन माईतीमा आएर खाइने दर महिनौं अघिदेखि खान र खुवाउन थालिएको छ । विभिन्न संघसंस्था र संगठनका महिलाले तीजको दर खाने नाममा चन्दा उठाउने, महँगा हल र पार्टी प्यालेस बुक गर्ने परम्परा बसेको छ । उनीहरूले यसलाई स्वतन्त्रता भन्न रुचाएका छन् । विशेष गरेर शहरी क्षेत्रमा दिनहु जसो पार्टी प्यालेस, होटलदेखि तारे होटलसम्म र डिस्कोमा दर खाने र खुवाउने भन्दै धेरै रकम खर्च गर्ने प्रचलन बढेको छ । जसका कारण तीज महंगो र भद्दा बन्दै गइरहेको छ । 

मोर्डन भाका

तीजमा गाउने गीतको आफ्नै महत्त्व र विशेषता छ । धार्मिक र पौराणिक शब्दहरूको संयोजनमा तयार भएका तीजे भाकाले धेरैलाई प्रफुल्लित पार्छ । उहीले तीजमा महिलाले मात्र गीत गाउने प्रचलन थियो । महिला मात्रै नाच्ने गर्थे । गीतमा गाउँ–ठाउँका घटना, चेलीबेटीका दुख पीडा र बेथा, मुलुकका घटनाक्रम समेटिन्थे । तर हिजोआज पुरुषले पनि तीजका गीत गाउन थालेका छन् ।

अन्य दोहोरी गीतमा जस्तै केटाकेटी कम्मर मर्काइ मर्काइ नाच्ने प्रचलन बढेको छ । दोहोरी गीतमा जस्तै केटाकेटीले मायाप्रीति गीत गाउँछन् । केटा र केटी नारिएर नाच्ने प्रचलन बढ्दै गइरहेको छ । अहिलेको प्राय तीजका गीतमा तीजका लय नै भेटिँदैन । तीजको भाका, लय र शब्द बिगारेर गाइन्छ । पहिलेको गीतमा पुरुषको स्वर भए पनि चेलीबेटी लिन जाने, माइतीसँगको सम्बन्ध, आमाबुबाको सम्झनाका कुरासँग संवादको रूपमा प्रयोग हुन्थ्यो ।  

पहिलेको गीतमा चेलीबेटीका मर्मस्पर्शी भावना समेटिएको हुन्थ्यो, तर आजभोलि यस्तो गाउन छाडिएको छ । पुराना तीजका गीतमा पराईघर जाँदा उत्पन्न हुने विभिन्न जिम्मेवारी, तनाव र समस्या समेटिएको हुन्थ्यो जुन आजभोली हराउँदै गएका छन् । तीजको गीतमा घटना प्रधान र सृजनात्मक अभिव्यक्ति हुनुपर्ने मान्यता राखिए पनि यस्तो पाउन छाडिएको छ । साङ्गीतिक बजारमा निस्किएका तीजका गीत खर्चिलो र भड्किलो हुन थालेका छन् । सन्देश दिने खालका तीजका गीत साङ्गीतिक बजारमा न्यून सङ्ख्यामा आउने गरेको छ । तीजका गीतहरू समयानुकूल परिवर्तन भइरहेका छन् ।

महिला अधिकारका कुरा

तीज पर्वमा गाउँको चुल्होदेखि तारे होटेलको किचेनसम्म महिला अधिकारको कुराले स्थान जमाउन थालेको छ । राजनीतिक, सामाजिक तथा सांस्कृतिक जागरणले महिलाहरूले देशको हरेक तह तप्कामा अधिकारको खोजी गर्ने अवसर पनि तीज बनेको छ । तीजमा आयोजना गरिने दर खाने कार्यक्रमहरूमा धेरैजसो महिलाअधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधीहरुले चर्को भाषण गरेर अधिकार र अवसरका कुरा गर्ने गरेका छन् । ​

उहिले तीज मनाउँदा उल्लास र उमङ्ग कसरी बनाउने र धार्मिक तथा पौराणिक पक्षलाई कसरी पालना गर्ने भन्ने विषयले प्राथमिकता पाउँथ्यो । तर समयक्रमसँगै लैङ्गिक अर्थात् महिला हिंसाका विरुद्ध आवाज सुनाउने अवसरका रूपमा पनि तीजलाई लिन थालिएको छ । यसवर्ष तीजलाई बलात्कार विरुद्धको अभियानका रूपमा मनाइँदै छ । 

दर खुवाउने राजनीति

नेपालका सबै राजनीतिक पार्टीका महिला विभागहरू छन् । ती विभागले तीजमा दर खाने कार्यक्रम राख्ने वार्षिक कार्य तालिकामै समावेश गर्छन् । चन्दा उठाउँछन्, टिकट विक्री गर्छन् र दर खाने कार्यक्रम आयोजना गर्छन् । वास्तवमा राजनीतिक दलहरूलाई तीज पर्व संगठनको गतिविधि गर्ने दरिलो प्लेटफर्म बनेको छ । राजनीतिक बहसको चौतारी जस्तै बन्न थालेको छ तीज । सामाजिक महत्त्व बोकेको यो पर्वलाई अहिले महिलाहरूको विचार र भावनामा परिवर्तन ल्याउने मात्र होइन संवेदना जागृत गराउने अवसरका रूपमा पनि लिन थालिएको छन् ।

भावना साटासाट तथा रमाइलो भेटघाटका रूपमा लिइने तीजलाई अब सामाजिक एवं राजनीतिक जागरण ल्याउने अवसरका रूपमा प्रयोग गर्ने क्रम बढेको छ । यति बेला विभिन्न महिलावादी संघ, संगठन तथा राजनीतिक दलहरूले छुट्टाछुट्टै कार्यक्रमको तयारी गरिरहेका छ । पीडा बिर्साउने वा चेली–माइतीबीच भेटघाट गराउने सांस्कृतिक पर्व तीजलाई राजनीतिक भाषण गर्ने थलोका रूपमा विकास गरिँदै लागिएकोमा कतिपय मानिसहरू खुसी नभए पनि धेरैले यसलाई राजनीतिक जागरणको अवसरका रूपमा हेरेका छन् । 

त्यति मात्र नभएर राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक आदि अधिकारको वकालत गर्ने अवसरका रूपमा पनि तीजको सदुपयोग गरेको बताइरहेका छन् । तीजलाई धार्मिक तथा सांस्कृतिक मान्यता स्थापित गर्ने मात्र नभै राजनीतिक जागरण सिर्जना गर्ने अवसरका रूपमा लिइए पनि राजनीतिक अखडाका रूपमा बुझ्नेहरू पनि छन् ।

  • प्रकाशित मिति : भदौ २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया