logo-img

विपद् पूर्वसंकेतमा नयाँ प्रविधिको परीक्षण, सबै पालिका लक्षित

विपद् बारे सूचना आदान प्रदान गर्न सकिने नयाँ प्रविधिको परीक्षण सुरु गरिएको छ । थाईल्याण्डस्थित एसीयन इन्सिच्युड अफ टेक्नोलोजी (एआईटी) विश्वविद्यालयका प्राध्यापक डा. इन्द्रजित पलले प्रतिपादन गरेको विपद्को सूचना आदान प्रदान गर्ने क्रिस्टा एपको परीक्षण सुरु गरिएको हो ।

क्रिस्टा एप पहिलो चरणमा धादिङको निलकण्ठ नगरपालिका, बैरेनी र बेनीघाट रोराङ्ग गाउँपालिकामा  प्रयोग  भइरहेको छ । विपद् जोखिम न्यूनीकरण सञ्चार समाजले शनिबार  काठमाडौंमा  आयोजना गरेको कार्यक्रममा क्रिस्टा प्रविधि  परियोजनाकी कार्यक्रम अधिकृत युरिसा उपाध्यायले क्षति न्यूनीकरण गर्न आफूहरूले लागू गर्न लागेको प्रविधिले ठूलो सहयोग गर्ने दावी गरे ।

क्रिस्टा एपको प्रयोग गरेर विपद्को सूचना जुनसुकै व्यक्तिले सम्बन्धित निकायमा दिन सक्ने र सम्बन्धित निकायले त्यसैका आधारमा प्रतिकार्य वा उद्धारका कार्य प्रभावकारी रुपमा सम्पादन गर्न सक्ने उनको भनाइ छ ।



उनका अनुसार यो प्रविधिको प्रयोग गर्न संबन्धित निकाय (स्थानीय प्रहरी कार्यालय वा पालिकाको कार्यालय)मा सामान्य सूचना प्रणाली जडान गरिन्छ । त्यसपछि सम्बन्धित क्षेत्रका बासिन्दालाई एप डाउनलोड गर्न लगाईन्छ । त्यसपछि सम्बन्धित क्षेत्रमा कुनै पनि विपद्का घटनाको संकेत, सूचना, जानकारी केही भएमा थाहा पाउनेले तत्काल फोटो र अक्षरमा एप मार्फत् जानकारी गराउन सक्छ ।

थाहा पाउने व्यक्तिले ती विवरणहरू पठाउने वित्तिकै उद्धार टोली रहेको ठाउँमा आपत्कालीन संकेत जान्छ । त्यही सूचना, संकेत, फोटो र विवरणहरूका आधारमा उद्धार सामग्रीहरू सहित उद्धार टोली तत्काल घटनास्थलमा पुग्न सक्छ ।



फोटो वा सूचना तथा जानकारी दिँदा घटनाको अवस्था र आवश्यक सामग्रीहरू एकिन गर्न सजिलो हुने भएकाले पनि यसको प्रभावकारिता हुने उपाध्यायको भनाइ छ । यो प्रविधिको प्रयोग गर्दा स्थानीय बासिन्दा वा प्रत्यक्षदर्शीहरूले विवरण पठाउन सजिलो हुने, प्राप्तकर्तालाई घटनाको वस्तुस्थिति बढी थाहा हुने, विवरणहरू विश्वसनीय हुने, विवरणहरूको परीक्षण गर्न सजिलो हुने, सूचनादाताले पठाएको फोटो वा विवरणका आधारमा जिपिएस मार्फत घटनास्थल पनि सजिलै एकिन हुने, घटनास्थलको फोटो र विवरणका आधारमा उद्धार सामग्रीहरूको आवश्यकता पहिचान गर्न सजिलो हुने अन्तरक्रियामा सहभागी पत्रकार सुरेन्द्र पाण्डेयले अनुभव सुनाए ।



यसले सूचना आदान प्रदानलाई प्रभावकारी बनाउनुका साथै तत्काल उद्धार कार्यमा जान पनि मार्गदर्शन गर्ने अर्का पत्रकार जीवन भण्डारीको बुझाई छ । उद्धार कार्यमा चाँडो जान र उद्धार कार्यलाई प्रभावकारी बनाउन मार्गदशन गर्ने भएकाले यसबाट क्षति न्यूनीकरणमा पनि ठूलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

यो प्रविधिबाट कुन कुन ठाउँमा विपद्का घटना भएका छन् भनेर हेर्न मिल्ने र त्यही अनुसार आफूले सतर्कता अपनाउन सकिने भएकाले पनि यो निकै उपयोगी हुने उनको ठहर छ ।

कार्यक्रममा पत्रकारहरु सरोज कोईराला, यम विरही, टिएन घिमिरे, नवराज पाण्डे, गोपालजंग थापा, महेश गौतम, भूवन शर्मा, सन्देश अर्याल लगायतले यो प्रविधि निकै उपयोगी र प्रभावकारी हुने देखिएकाले देशभरीका सबै पालिकाहरुमा लागू गर्न सुझाव दिएका थिए ।

उनीहरूले यस प्रविधिलाई सरकारी निकायले नै स्वामित्व लिएर लागू गराउनु पर्नेमा पनि जोड दिएका थिए । विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले लामो अनुसन्धानपछि तयार पारेको क्रिस्टा प्रविधिलाई  जनधनको क्षति न्यूनीकरण गर्न सहयोगी हुने मूल्यांकनसहित विश्व बैंकले समेत पुरस्कृत गरेको छ ।

अन्य धेरै अन्तर्राष्ट्रिय निकायहरुले पनि यसलाई नयाँ अवधारणा र नवप्रवर्तनको रुपमा मान्यता दिएर अवलम्बन गर्न प्रोत्साहित गरेको कार्यक्रम अधिकृत उपाध्यायले जानकारी दिए ।

  • प्रकाशित मिति : भदौ २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया