logo-img

दमकमा गाई काटेको अभियोगमा चार जना पक्राउ

झापाको दमकमा गोठमा बाँधेको गाई चोरेर काट्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले आज दमकमा पत्रकार सम्मेलन गरेर गाई काटेको अभियोगमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो । पक्राउपर्नेहरुमा तीन जना भुटानी शरणार्थी शिविरमा बसोबास गर्ने तथा एक जना स्थानीय रहेका छन् ।

प्रहरीका अनुसार दमक–२ को बेलडाँगी भुटानी शरणार्थी शिविर–२ को छाप्रो न ३३२ को ४४ वर्षका प्रेमबहादुर विष्ट, दमक–३ मा रहेको बेलडाँगी शिविर–३ को छाप्रो न ए३–२०८ बस्ने ३८ वर्षका खगेन्द्र दुलाल, सोही स्थानको छाप्रो न ए२–२०८ बस्ने ३२ वर्षका विधान थापा र दमक नगरपालिका–४ बस्ने ४५ वर्षकी गीता श्रेष्ठ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुलालले पटक–पटक जबरजस्ती करणी तथा पशुपक्षी सम्बन्धी अपराधमा जेल सजाय पूरा गरेर रिहा भएको पाइएको प्रहरीले जनाएको छ । 

भदौ १८ गते रातको समयमा उनीहरूले दमक नगरपालिका–१ मा गोठमा बाँधिरहेको २ महिनाको गर्भिणी रहेको गाई चोरी गरी गोठदेखि १०० मिटर उत्तरपटीको प्लटिङमा लगेर काटेका थिए । खुट्टा तथा गर्धनको मासु, रगत लगेका उनीहरूले शरीरको अन्य भाग घटनास्थलमा नै छोडेका थिए ।

गर्भिणी गाई काटेको घटना बाहिरिएपछि घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीमाथि चर्को दबाब परेको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रशासनसँग माग गरेका थिए ।



प्रहरीले गरेको अनुसन्धानका क्रममा शुक्रबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट बन्चरो १ थान, खुकुरी एक थान र मासु बोक्न प्रयोग भएको झोला एक थान बरामद गरेको पनि प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया