logo-img

‘प्रहरी : ठूलालाई स्यालुट ठोक्छ, सर्वसाधारणलाई हेप्छ’

अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षामा खटिएका प्रहरीबाट एक पटक होइन, पटक पटक सर्वसाधारणमाथि अपमानित व्यवहार गर्नु कुनै नौलो घटना रहेन । त्यसो त ‘प्रहरी मेरो साथी’ नेपाल प्रहरीको यो पछिल्लो नारा हो । यो नारा पढ्दा र सुन्दा गज्जब भए पनि, कार्यक्षेत्रमा रहेका केही प्रहरीले यो आदर्श वाक्यलाई बिर्सिएको महसुस गराउँछन् ।

आम सर्वसाधारणको मन जित्न विभिन्न समयमा नेपाल प्रहरीले ‘मुस्कान सहितको प्रहरी’, ‘जिब्रोको गरिमा मीठो बोलीमा’ जस्ता गहकिला र आदर्श वाक्यसहितका ‘नारा’ निर्माण गरेर हरेक नागरिकलाई प्रहरीसाथमै रहेको महसुस गराउने प्रयास गर्दै आएको छ ।

तर नेपाल प्रहरीको त्यो प्रयास र ती नाराहरू त्यति बेला फेल खान्छन् जति बेला प्रहरीका कुनै अफिसर वा जवानले बिना कारण आम नागरिकलाई दुर्व्यवहार गर्छन् । प्रहरीको पोसाकधारीबाटै आम नागरिकले दुर्व्यवहार सहनुपर्ने अवस्था आएपछि ती ‘नारा’ नारामै समिति हुन पुग्छन् ।

यति बेला सामाजिक सञ्जालहरूमा एउटा यस्तै भिडियो क्लिप भाइरल भइरहेको छ जसले ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी’ र ‘जिब्रोको गरिमा मीठो बोलीमा’ जस्ता नेपाल प्रहरीका नारालाई फेल गराउने भरपूर प्रयास गरेको छ ।

आठ सेकेन्डको उक्त भिडियो क्लिप अहिले सामाजिक सञ्जाल ‘फेसबुक’मा निकै भाइरल भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको उक्त भिडियोमा विदेश जान लागेका एक युवालाई विमानस्थलको सुरक्षामा खटिएका एक प्रहरीले दुर्व्यवहार गरेको देखिन्छ । ती प्रहरीले युवालाई खादा खोल्नु भनेको भिडियोमा सुनिन्छ । तर ती युवाले कुरा बझ्दैनन् र हजुर भन्दै ती प्रहरी भएतिर जान्छन् । ती प्रहरीले यो खोल्नु भन्या भन्दै युवाले घाटीमा लगाइरहेको खादालाई थुतेर फालिदिन खोज्छन् । तर ती प्रहरीले हुत्याउँन खोज्दा पनि खादा घाटीबाट नखसेपछि युवाले नै खादालाई झिक्छन् र हातमा समाउँछन् । अनि उनी आफ्नो गन्तव्यतर्फ लाग्छन् ।

यो सबै दृश्य मोबाइलमा कैद गरिरहेका व्यक्तिलाई पनि तीनै प्रहरीले यहाँ फोटो खिच्न मिल्दैन भन्दै रोक्न आएको देखिन्छ । जुन भिडियो क्लिप अहिले भाइरल भइरहेको छ । ती प्रहरीले देखाएको व्यवहारकै कारण नेपाल प्रहरीलाई लिएर अहिले सामाजिक सञ्जालहरूमा विभिन्न खालका नकारात्मक टीकाटिप्पणी भइरहेका छन् ।  उक्त भिडियो क्लिप हेर्ने र सेयर गर्ने अधिकांशले ती प्रहरीको व्यवहारप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।



ती प्रहरीले सहज रूपमै नम्र बोलिले  युवकलाई खादा हटाउन लगाउन पनि सक्थे तर उनले ‘जिब्रोको गरिमा मीठो बोलीमा’ भन्ने नारा बिर्सिएछन् । बोल्नुको सट्टा हात लगाउन पुगे ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो । नेपालबाट दैनिक रूपमा हजारौँको सङ्ख्यामा त्यही विमानस्थलबाट नेपाली विद्यार्थी र श्रमिक विदेश जाने गरेका छन् । बाध्यता भनौँ वा इच्छाले विदेश जाने अधिकांशले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तै नियति भोगि रहनुपरिरहेको छ ।



मीठो र नरम बोल्दा पैसा नै खर्च गर्नुपर्ला जस्तो व्यवहार देखाउने केही प्रहरीकै कारण नेपाल प्रहरीले अझै पनि सबै आम नागरिकको पूर्ण विश्वास जित्न सकिरहेको अवस्था छैन । त्यही विमानस्थलमा उच्च व्यक्तिहरू (नेता, मन्त्री, प्रधानमन्त्री, उच्च पदस्थ कर्मचारीलगायत) खादा र मालाले नदेखिने गरी पुरिएर आवत–जावत गर्दा पनि सलाम ठोक्ने प्रहरीले आफ्नो उज्ज्वल भविष्यका लागि देश छाड्न बाध्य भएको एउटा युवकले लगाएको खादा थुतेर फालिदिने प्रयास गर्नुको साटो नम्र स्वरले आग्रह गर्न किन सक्दैनन् ? देश छाड्दै गरेको त्यो युवकले अब नेपाल प्रहरीलाई हेर्ने दृष्टिकोण कस्तो बन्ला ? जस्ता प्रश्नहरूले अहिले सामाजिक सञ्जाल तताएको छ ।

देश र परिवारको जटिल अवस्थाका कारण बिदेसिन बाध्य भएको त्यो युवकले आफ्नै देशको विमानस्थलमा यस्तो अपमान सहनुपर्दा कुन मनोभाव बन्यो होला ? यो सोच्नुपर्ने विषय हो ।

अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियो क्लिप  १८ भदौको हो । महोत्तरी जिल्लाका ती युवा भारतलाई ट्रान्जिट बनाएर विदेश पलायन भएको खुलेको छ । नेपाली थर रहेका ती युवाको पूरा नाम नखुले पनि विमानस्थलमा सुरक्षाका लागि खटिएका प्रहरीले कस्तो व्यवहार गर्छन् भन्ने चाहिँ खुलाई दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीका निमित्त प्रमुख एसएसपी डम्बरबहादुर विकले सुरक्षामा खटिएका ती प्रहरीसँग स्पष्टीकरण सोधिएको बताए । एसएसपी विकका अनुसार यो घटना गत १८ भदौ बिहान ७ बजे भएको थियो । त्यस बेला कार्की थर गरेका सहायक हवलदारले ती युवालाई खादा हटाउन लगाएको र युवकले भनेको नबुझेपछि यो हो खादा भनेको भन्दै देखाउँदा उक्त घटना भएको र ती प्रहरीले आफ्नो कमजोरी स्वीकार गरिसकेको एसएसपी विकले जानकारी दिए ।

ती प्रहरीलाई अहिले त्यहाँबाट हटाएर विमानस्थलकै चेकजाँच नहुने ठाउँमा खटाइएको एसएसपी विकले जानकारी दिए । उनका अनुसार खादा घाटीमा बेरिने, एक्स-रे मेसिनमा समस्या देखिने लगायत विभिन्न सुरक्षाका कारण पहिलादेखि नै यात्रुले डिपार्चरबाट भित्र प्रवेश गर्दा खादा, माला लैजान पाउँदैनन् ।

पहिला माइकिङ गरेरै यात्रुलाई खादा, माला हटाउन लगाइन्थ्यो । तर उक्त प्रणाली झन्झटिलो भएकाले सुरक्षामै रहेका प्रहरीले हटाउन लगाउँथे । तर अब यसका लागि डिजिटल बोर्ड नै राख्ने सल्लाह भइरहेको एसएसपी विकले जानकारी दिए ।

‘विमानस्थलमा हुने व्यवहारले देशको परिचय दिन्छ’ 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पूर्वअध्यक्ष प्रकाश पाण्डे विमानस्थलमा हुने व्यवहारले देशको परिचय दिने भएका कारण त्यहाँ सुझबुझका साथ सतर्कता अपनाउन सक्ने व्यक्ति सुरक्षामा राख्नुपर्ने बताउँछन् ।

कुनै पनि व्यक्ति वा विद्यार्थी चाहना, इच्छा र बाध्यताले विदेश जाने गरेको उल्लेख गर्दै उनले देश छाड्दै गर्दा देशप्रति सकारात्मक बन्ने, माया जगाउने खालका व्यवहार हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए ।

खादा लगाएकै कारण सुरक्षा खतरा देखाएर गरिएको उक्त व्यवहार जायज नदेखिने उनको बुझाई छ । उनले भने, ‘सुरक्षासम्बन्धी जाँच गर्ने प्रक्रिया होला, खादा लगाएकै कारण गरिएको उक्त व्यवहार जायज देखिँदैन । यस्तो व्यवहारले देशप्रति माया जगाउनुको साटो हतोत्साहित गर्ने गर्छ ।’

अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूले पनि विमानस्थलमा बारम्बार यस्ता घटनाको सामना गर्नुपरेको पाण्डे बताउँछन् । वैदेशिक अध्ययन अनुमति पत्र (नो–अब्जेक्सन लेटर) साथमा नभएकै कारण विद्यार्थीलाई अनावश्यक दुःख दिने गरेको पाण्डे बताउँछन् । 

जबकि विदेश जानको लागि उक्त पत्रको कुनै भूमिका रहँदैन । विद्यार्थीले विदेशी मुद्रा सटही सुविधा लिन नो–अब्जेक्सन लेटर आवश्यक पर्ने भए पनि विमानस्थलमा उक्त लेटर नबोकेकै कारण विद्यार्थीलाई अनावश्यक दुःख दिने काम त्यहाँ रहेका सुरक्षाकर्मी तथा कर्मचारीहरूले गर्ने गरेको उनले बताए ।  

  • प्रकाशित मिति : भदौ २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया