क्यानडामा हुने आइसिसी विश्वकप लिग–२ सिरिजका लागि नेपालको टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा कुल १६ सदस्यीय टिम घोषणा गरेको हो ।
क्यानले उक्त १६ सदस्यमध्ये यू–१९ टिमका कप्तान देव खनाललाई रिजर्भ प्लेयरको रूपमा टिममा राखेको छ । देव १५ सदस्यीय टिमभित्र नपर्दा बायाँहाते तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर अर्जुन साउँदले भने मौका पाएका छन् ।
हाल टिममा रिजन मात्र बायाँहाते फास्ट बलर हुन् । त्यसकारण पनि उनी प्रशिक्षकको नजरमा परेका हुन सक्छन् । यस्तै, अर्जुनलाई ब्याकअप विकेटकिपरको रूपमा टोलीमा राखिएको बुझिएको छ ।
यसअघिको १९ सदस्यीय टिमबाट तीनजना खेलाडी भने बाहिरिएका छन् । बाहिरिनेमा सन्दीप जोरा, सागर ढकाल र आकाश चन्द रहेका छन् । युवा खेलाडी बाहिरिँदा टिममा पुरानै खेलाडी प्राथमकितामा परेका छन् । नेपालले आसन्न लिग–२ सिरिजमा १६ र २२ सेप्टेम्बरमा क्यानडा तथा १८ र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।
लिग–२ तालिकामा नेपाल हाल सातौं स्थानमा छ । नेपालले चार म्याच खेल्दा तीनमा हार तथा एक खेलमा अंक बाँडेको छ । यस्तै, नेपालले टी–२० सिरिजमा २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडा तथा २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानको सामना गर्नेछ ।
नेपाली टिम अब केही दिनभित्र क्यानडातिर लाग्नेछ । टिममा रहेका कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह हाल क्यानाडमै छन् । नीहरू त्यहीँबाट नेपाली टिममा मिसिने छन् ।
लिग–२ श्रृंखलाका लागि कुशल भुर्तेल, आसिफ शेख, कप्तान रोहितकुमार पौडेल, अनिलकुमार साह, भीम सार्की, कुशल मल्ल, अर्जुन साउँद, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रिजन ढकालले मौका पाएका छन् ।
त्यस्तै, देव खनाल रिजर्भ प्लेयरको रूपमा क्यानडा जाने छन् । यदि कुनै खेलाडी घाइते वा अस्वस्थ भए व अन्य कारणले बाहिरिएमा उनले मौका पाउने छन्, अन्यथा देव क्यानडा भ्रमणका क्रममा बेन्चमा सीमित हुने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।