ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताएका छन् । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा आज खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिए ।
‘गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल गरिरहेको छु’, उनले भने ।
सङ्खुवासभाका प्रत्येक घरले ५ लाख रुपैयाँको शेयरको सुनिश्चितता हुनुपर्छ भनेर आफू लागिरेहको उनको भनाइ छ । उनले गरिब तथा विपन्न जनतालाई शेयर दिने उक्त ढाँचा देशभर स्थापित गर्नेगरी लागिने स्पष्ट पारे ।
मन्त्री खड्काले समृद्ध सङ्खुवासभा निर्माणका लागि यहाँभित्रका जलस्रोतको अधिकतम् उपयोग गर्नुपर्ने उल्लेख गरे । उनले जिल्लाभित्र आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानमा सरकारले काम गरिरहेको बताए ।
मन्त्री खड्काले कोशी करिडोरमा राष्ट्रिय प्रसारण लाइन निर्माणका क्रममा देखिएको ढिलाइलाई सम्बोधन गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको उल्लेख गरे ।
‘निजी क्षेत्रलाई साथमा लिएर मुलुकको ऊर्जा क्षेत्रको विकासमा लागिने छ, सरकारले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छ, उक्त लक्ष्य पूरा सरकार कटिबद्ध भएर लागिरहेको छ, समृद्ध मुलुक निर्माणका लागि आन्तरिक खपत बढाउँदै बाँकी रहेको विद्युत् विदेशमा निर्यात गरिने छ,’ ऊर्जामन्त्री खड्काले भने ।
मन्त्री खड्काले छिटो–छरितो कार्यसम्पादन गर्ने भन्ने प्रधानमन्त्रीको निर्देशन भएकाले मन्त्रालयले सोहीअनुरूप कार्यसम्पादन गरेको उल्लेख गरे ।
उनले ट्रङ्कलाइन र डेडिकेटेड विद्युतका क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि लेखा समितिमै छलफल भएकाले यसको टुङ्गो चाँडो लाग्ने बताए । ‘व्यवसायीले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ’, मन्त्री खड्काले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।