logo-img

एनआरएनए अध्यक्षमा आधिकारिकताको माग गर्दै आरके शर्माद्वारा सर्वोच्चमा रिट

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता आरके शर्माले आधिकारिकताको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । उनले सोमबार नै पेस गरेको रिट निवेदन बुधबार सर्वोच्च प्रशासनले दर्ता गरेको एनआरएनए अभियन्ता चिन्तामणि सापकोटाले जानकारी दिए । रिट निवेदकमा केशव पौडेल, ठाकुरप्रसाद ढुंगानासमेत रहेका छन् ।

गत अक्टोबरमा सम्पन्न ११औँ महाधिवेशनबाट आफू विधिवत् निर्वाचित भएको जिकिर गर्दै शर्माले दायर गरेको रिटमा बद्री केसीले धाँधली गरेर निर्वाचित भएको जिकिर गरेका छन् । स्मरणीय छ, अहिले आफू आधिकारिक भएको भन्दै केसीले बालुवाटारस्थित कार्यालयबाट कामकारबाही गर्दै आएका छन् ।

‘प्रस्तुत निवेदनलाई पूर्ण इजलासमा पठाई गैरआवासीय नेपाली संघको विवादको स्थायी समाधानका लागि ११औँ महाधिवेशनबाट विधिवत् रूपमा निर्वाचित हामी निवेदकहरूलाई काम गर्न दिनू दिलाउनू भनी प्रत्यर्थी परराष्ट्र मन्त्रालय र प्रत्यर्थी गैरआवासीय नेपाली संघको कार्यालयका नाममा परमादेशको आदेश जारी गरी पाऊँ ।’

यस्तै, यसैगरी बद्री केसीलगायतले अदालतलाई गुमराहमा राखी आफूलाई अनुचित लाभ पुर्याउने र वास्तविक सरोकारवालालाई गुमराहमा राख्ने काम गरेकाले उनीहरूलाई कारबाही गर्ने आदेश दिनसमेत माग गरिएको छ । साथै निवेदनको अन्तिम किनारा नलागेसम्म आफूलाई अध्यक्षको हैसियतमा काम कारबाही गर्न दिन अन्तरिम आदेशको पनि माग पनि शर्माले गरेका छन् ।



गत अक्टोबरमा सम्पन्न निर्वाचनमा बद्री केसी अध्यक्ष पदमा निर्वाचित भएका थिए । तर, त्यतिबेला अध्यक्षका प्रत्याशीहरू शर्मा र महेश श्रेष्ठले धाँधली भएको भन्दै निर्वाचन परिणाम अस्वीकार गरेका थिए । तर, बद्री केसीले विवादकै बीच अध्यक्षको शपथ लिएपछि केसी र श्रेष्ठले मिलेर होटल हिमालयमा महाधिवेशनको बाँकी प्रक्रिया पूरा गरेका थिए भने शर्मालाई अध्यक्ष चयन गरिएको थियो ।

त्यसयता एनआरएनएमा विवाद चर्किएकै बेला सर्वोच्च अदालतले गत २०८० चैत २१ मा १०औँ र ११औँ महाधिवेशनलाई अवैध ठहर गरेको थियो भने २०७८ माघ १ को अवस्थामा फर्किएर एकताको महाधिवेशन गर्न आदेश दिएको थियो ।



त्यसपछि परराष्ट्र मन्त्रालयले फैसलामा टेकेर केसीलाई काम कारबाही गर्न रोक लगाएपछि उनी अदालत गएका थिए ।  सो मुद्दा साउन २२ मा अदालतले परराष्ट्रको पद अवैध भएको ठहर गरेपछि केसीले फेरि आफूले आधिकारिकता पाएको भन्दै कामकारबाही थालेका थिए ।

११औँ महाधिवेशनमा धाँधली भएको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोका साथै मन्त्रिपरिषद्बाट गठन भएको छानबिन समितिले अध्ययन गरेको थियो । दुवै समितिले ११औँ महाधिवेशनमा धाँधली भएको प्रतिवेदन दिएको थियो । ​११औँ महाधिवेशनमा धाँधली भएको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोका साथै मन्त्रिपरिषद्बाट गठन भएको छानबिन समितिले अध्ययन गरेको थियो । दुवै समितिले ११औँ महाधिवेशनमा धाँधली भएको प्रतिवेदन दिएको थियो ।



रिट निवेदनको सुरुवातमै विपक्षीले निवेदनमा तथ्य लोप राखेर आफूहरूलाई प्रत्यर्थीसमेत नबनाएर अदालतलाई गुमराहमा राखेको उल्लेख छ । रिट निवेदनमा भनिएको छ, ‘प्रस्तुत निवेदनलाई पूर्ण इजलासमा पठाई गैरआवासीय नेपाली संघको विवादको स्थायी समाधानका लागि ११औँ महाधिवेशबाट विधिवत् रूपमा निर्वाचित हामी निवेदकहरू पदाधिकारीलाई काम गर्न दिन दिलाउनू भनी प्रत्यर्थी परराष्ट्र मन्त्रालय र प्रत्यर्थी गैरआवासीय नेपाली संघको कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरिपाऊँ । साथै, गैरआवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ को नियम १६ अनुसार प्रत्यर्थी परराष्ट्र मन्त्रालयलले संघमा देखिएका विवाद समाधान गर्न आवश्यक अनुगमन र निर्देशन गर्ने सवालमा अनिच्छुक देखिएकोले उक्त नियमावलीको नियम १६ ले निरोपित गरेको दायित्व पूरा गर्न जो चाहिने आज्ञा आदेश तथा निर्देशनसमेत प्रत्यर्थी परारष्ट्र मन्त्रालयको नाउँमा जारी गरिपाऊँ । यसका अतिरिक्त प्रत्यर्थीमध्येका बद्री केसी, प्रत्यर्थी कृष्णप्रसाद तिमल्सेनालगायतले अदालतलाई गुमराहमा राखी आफूलाई अनुचित लाभ पुर्याउने र हामी वास्तविक सरोकारवालाई प्रतिकूल असर पुर्याउने उद्देश्यले निवेदन दिएकोले निजहरुलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५३ अनुसार कारबाही गर्ने आदेशसमेत जारी गरिपाऊँ ।’

यस्तै अगाडि भनिएको छ, ‘साथै प्रस्तुत निवेदनको अन्तिम किनारा नलागेसम्म गैरआवासीय नेपाली संघको ११औँ महाधिवेशबाट विधिवत रूपमा निर्वाचित हामी निवेदक पदाधिकारीहरूलाई काम गर्ने कार्यमा रोक लगाउने काम नगर्न नगराउन भनी प्रत्यर्थी परराष्ट्र मन्त्रालय र प्रत्यर्थी गैरआवासीय नेपाली संघको कार्यालयका नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेशसमेत जारी गरिपाऊँ ।’

  • प्रकाशित मिति : भदौ २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया