घरायसी विवादका क्रममा आफ्नै श्रीमतीमाथि खुर्पा प्रहार गरेर हत्या गरेकाे अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईको हत्या गरेको अभियाेगमा निजगढ नगरपालिका-९ भमरा टोल बस्ने ४५ वर्षीय विमलकुमार बस्नेत मंगलबार पक्राउ परेका हुन् ।
बिमलकाे खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी लक्ष्मीलाई उपचारका लागि सुरुमा सामुदायिक प्रसूतिगृह अस्पताल निजगढ पुर्याइएकाे थियाे । त्यहाँ उपचार नभएपछि उनलाई नेशनल मेडिकल कलेज वीरगन्जमा थप उपचारका लागि लगिएकाेमा उपचारकै क्रममा उनकाे मृत्यु भएको हाे ।
झगडा छुट्याउने क्रममा उनका दुई छाेरी घाइते भएका छन् । घाइतेमध्ये १८ वर्षीया छोरी गंगा राईलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं रिफर गरिएको छ भने १५ वर्षीया छोरी जमुना राईको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छ ।
घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टाेली खटिएको थियाे । टाेलीले बस्नेतलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।