logo-img

मकवानपुरमा एक वर्षमा ६१० उद्योग बन्द
प्रतीकात्मक तस्बिर

आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा  ६ सय १० वटा उद्योग बन्द भएका छन् । 

मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका २ सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।  

आर्थिक मन्दी, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरूको लगत कट्टा बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताए ।

मकवानपुरमा आव २०८०/८१ मा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ । सो आवमा उद्योगतर्फ ३ सय ६६ र वाणिज्यतर्फ ३ सय ३५ गरी सात सय एक नयाँ उद्योग दर्ता भएका कार्यालय प्रमुख भुसालले बताए । आव २०७९/८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार ९ उद्योग व्यापार दर्ता भएका थिए । 



आव २०८०/८१ मा उद्योगतर्फ ४६ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, एक हजार एक सय आठ वटा नवीकरण, चार सय ९८ वटाको पुँजी वृद्धि गरिएको थियो । 

सो अवधिमा वाणिज्यतर्फ १९ वटा उद्योगको नामसारी, ३१ वटा उद्योगको ठाउँसारी, आठ सय ५८ वटा उद्योगको पुँजी वृद्धि, एक हजार चार सय २२ वटा उद्योगको नवीकरण भएको छ ।  



नयाँ उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा ३ करोड २२ लाख ४९ हजार ९ सय १० रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताए । रासस 



  • प्रकाशित मिति : भदौ २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया