logo-img

कृषि विश्वविद्यालय विवाद : विद्यार्थीको ‘टक अफ वार’ले लिएको उग्र रूप

गत भदौ १३ गतेदेखि चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको शैक्षिक प्रक्रियाकलाप ठप्प बनेको छ । नेपाली कांग्रेस र नेकपा एमालेनिकट विद्यार्थीबीच झडप भएपछि विश्वविद्यालयको शैक्षिक क्रियाकलाप ठप्प बन्न पुगेको हो ।

विद्यार्थीहरूको व्यक्तिगत झगडाले सांगठनिक रूप लिएपछि विश्वविद्यालय अशान्त बनेको जानकारहरू बताउँछन् । सोही झगडाले उग्ररूप लिएपछि विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तालाबन्दी गरेको छ । विश्वविद्यालयमा तलाबन्दी भएपछि ४ हजारभन्दा बढी विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ भने नियमित परीक्षाहरूसमेत रोकिएका छन् ।

तालाबन्दी भएकै कारण भदौ १४ गतेदेखि हुनुपर्ने नियमित तथा मौका परीक्षा स्थगित गरिएको छ भने २८ गतेदेखि हुने नयाँ भर्ना प्रवेश परीक्षालाई असोज ९ गतेका लागि सारिएको छ । विश्वविद्यालयले असहज परिस्थिति उत्पन्न भएको जनाउँदै कृषि, पशु विज्ञान, पशु चिकित्सा, मत्स्य विज्ञान, वन विज्ञान संकाय र त्यस संकायअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा सञ्चालित विभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । 

निमित्त परीक्षा नियन्त्रक सहप्राध्यापक होमनाथ गिरीले भदौ १५ गते विज्ञप्ति जारी गर्दै अर्काे सूचना प्रकाशित नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएका थिए । अझै विवाद साम्य नभएका कारण कहिलेबाट परीक्षा सञ्चालन हुने मितिको टुंगो छैन ।

विवाद सुल्झाउन पदाधिकारीले देखाएनन् चासो

बुधबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा विश्वविद्यालयको १३औँ सभा (सिनेट) बैठक सम्पन्न गरिएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आफू विश्वविद्यालयमा आउन नभ्याउने जनाएपछि विश्वविद्यालयका पदाधिकारीको जम्बो टोली बैठक बस्न काठमाडौं आइपुगेको थियो । 



सभा बैठकमा विश्वविद्यालयका कुलपति, सहकुलपति, उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारीको सहभागी थिए । विश्वविद्यालयबा प्रायः सबै पदाधिकारी उक्त बैठकमा सहभागी भए पनि विश्वविद्यालय अशान्त रहेको विषयले भने बैठकमा प्रवेश नै पाएन ।

विश्वविद्यालयका उपकुलपति पुन्यप्रसाद रेग्मीले सिर्जित समस्यालाई छलफल संवाद र वार्ताबाट समाधान गर्ने बताए । विश्वविद्यालय ऐनअनुसार सिनेट सदस्यहरूलाई जुन प्रस्ताव राखिन्छ, त्यही प्रस्तावमा मात्र छलफल हुने भएका कारण विश्वविद्यालयको सभा(सिनेट)बैठकमा उक्त विषयले प्रवेश नपाएको उपकुलपति रेग्मीको भनाइ छ । उनले भने, ‘अहिलेको सिनेटको प्रस्ताव बजेटसँग सम्बन्धित रहेकाले उक्त विषयमा मात्र छलफल भयो ।’



विश्वविद्यालयमा देखिएको विवादलाई पदाधिकारी, प्रशासन र विद्यार्थीबीच बाटै समाधान निकालिने भएका कारण पनि उक्त विषयले सभा बैठकमा प्रवेश नपाएको उनको भनाइ छ । हेटौँडा लगायत केही आगिंक क्याम्पसहरूमा शैक्षिक क्रियाकलाप सूचारु भइसको र अन्य क्याम्पसहरूमा पनि चाँडै सूचारु हुने जानकारी उनले दिए ।

झडपमा घाइते भएका दुईजना विद्यार्थी पनि अहिले अस्पतालबाट डिस्चार्ज भइसकेको जानकारी उनले दिए । आफूहरू विश्वविद्यालयको पठनपाठनलाई चाँडै सुचारु गर्नेतर्फ लागेको उनले बताए । विश्वविद्यालयमा उत्पन्न विवादको कारण पत्ता लगाउन छानबिन समिति गठन भएको र उक्त समितिले चाँडै सत्यतथ्य बाहिर ल्याउने उनको भनाइ छ । विद्यार्थी–विद्यार्थीबीचको भनाभनबाट सुरु भएको विवादले उग्ररूप लिँदा अहिलेको परिस्थिति सिर्जना भएको उनले बताए ।

विद्यार्थीहरूको भविष्यसँग जोडिएको विषय भएका कारण जतिसक्दो चाँडो विश्वविद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन हुने उनको भनाइ छ । उनले भने, ‘यो विषय सहकुलपति, कुलपतिलगायत सम्बन्धित ठाउँमा पुगेको छ । सम्बन्धित सबैको सहयोगबाट नै समस्या समाधान हुने हो ।’ उनका अनुसार बैठकले आथिएक वर्ष २०८०/०८१ कोे खर्च अनुमोदन गरेर चालू आव २०८१/०८२ का लागि १ अर्ब ७५ करोड ६३ लाख १६ हजार ४८० रुपैयाँबराबरको प्रस्तावित कार्यक्रम बजेट स्वीकृत गरेको छ ।

कसरी सुरु भएको थियो विवाद ?

विश्वविद्यालयमा अहिले देखिएको विवाद सामाजिक सञ्जालबाट सुरु भएको हो । गत भदौ ९ गते स्थानीय विद्यार्थी समाजले डोरी तान्ने प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितमा सिनियर विद्यार्थीलाई जुनियर विद्यार्थीले पराजित गरेका थिए । प्रतियोगितामा जित्ने विद्यार्थीले खसी काटेर खाएको र हार्नेले भाले काटेर खाएको भन्दै फेसबुकमा प्रतियोगिता जित्नेमध्येका एक विद्यार्थीले लेखेपछि विवाद सुरु भएको विश्वविद्यालयका एक प्रध्यापकले जानकारी दिए ।

त्यसरी सामाजिक सञ्जालबाट सुरु भएको विवाद भौतिक आक्रमणमा रूपान्तरण भएपछि घटनाले सांघातिक रूप लिएको हो । जसका कारण अहिले विश्वविद्यालय ठप्प बन्न पुगेको छ । उक्त झडपमा घाइते भएका कमन दाहालको आँखामा र प्रितम भण्डारीको टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ । घटनापछि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा आफैँ चितवन पुगेर आक्रमणमा संलग्नविरुद्ध जाहेरी दर्ता गराएका थिए ।

घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले पाँचजनालाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दा चलाउने प्रक्रिया अघि बढाएको छ भने पक्राउ परेका सबै एमालेनिकट अनेरास्ववियुका कार्यकर्ता रहेको जनाइएको छ ।

के भन्छन् विद्यार्थी संगठन ?

विद्यार्थी संगठनहरूले उक्त घटनालाई आ–आफ्नै ढंगले दाबी गरेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले छात्रावासभित्र बसेको समयमा कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पस, रामपुर इकाई समितिका निवर्तमान अध्यक्ष शुभम सिंह ठकुरी, निवर्तमान उपाध्यक्षद्वय अभिषेक ओली र सुशील क्षेत्री, वर्तमान सचिव प्रितम भण्डारी, कोषाध्यक्ष कमन दाहाललगायत विद्यार्थीलाई ज्यान मार्ने नियतले अनेरास्ववियुमा आबद्धसूमहले फलामे रड, धारिला फलामे हतियारले मरनासन्न हुनेगरी कुटपिट गरी गम्भीर घाइते गराएको जनाएको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरी पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूति गराउन सरकार तथा गृह प्रशासनसँग माग गरेका छन् ।

त्यस्तै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले  भदौ ११ गते विश्वविद्यालयको सगरमाथा छात्रावासअगाडि आएर नेविसंघ निकट समूहले अनेरास्ववियुविरुद्ध नाराबाजी गर्ने, अपशब्द बोल्ने, अमर्यादित गतिविधि गरेको र सोही समूहले भदौ १२ गते छात्रावासमा छिरेर मदिरा सेवन गरेर सवारीसाधन तथा निजी सामग्री तोडफोड गर्नेलगायत हिंसात्मक गतिविधि गरेको आरोप लगाएको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा भदौ ९ गते डोरी तान्ने प्रतियोगितामा अनेरास्ववियुमा आबद्ध जुतियर ब्याचका विद्यार्थीहरूबाट पराजित भएको निहुँमा यो नियोजित हिंसात्मक घटना घटाएको आरोप लगाएका छन् ।

यस घटनालाई लिएर झुटाे जाहेरीका आधारमा अनेरास्ववियुका प्रशन्न पोख्रेल, विनोद भण्डारी, विवेककुमार यादव, विवेक खत्री र चिरण खनाललाई पक्राउ गरिएको समेत अनेरास्ववियुले जनाएको छ । पक्राउ परेका उनीहरुको रिहाइको माग गर्दै अध्यक्ष बडालले राजनीतिक दबाबमा नपरी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । 

  • प्रकाशित मिति : भदौ २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया