logo-img

अस्ट्रेलियामा असोज २७ मा दसैँ मनाउनुपर्ने पञ्चाङ्ग समितिको निर्णय
फाइल तस्बिर

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा आउँदो २७ असोजमा १३ अक्टोबरमा विजयादशमी मनाउनुपर्ने जनाएको छ ।

वैदिक परिषद् अस्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा २७ असोजमा मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जनाएको हो । 

समितिका सभापति प्रा. डा. माधव भट्टराई र सदस्यसचिव लक्ष्मण पन्थीले जारी गरेको विज्ञप्तिमा कतैकतै सन्देह उत्पन्न भएको भन्ने जानकारी प्राप्त भएकाले स्थानीय तिथ्यादिको मानका आधारमा धर्मशास्त्रले तोकेको कर्मकालअनुसार चाडपर्व मनाउन स्पष्ट पारिएको उल्लेख छ ।

अष्ट्रेलियामा मनाइने विजयादशमी पर्वको दशमी तिथि उदयकालीन २७ असोज अर्थात्  १३ अक्टोबरमा भएकाले अष्ट्रेलियामा यसै दिन विजयादशमी (टीका) ग्रहण गर्नुपर्नेछ । नेपालमा २६ असोजमा सूर्योदयकालीन दशमी तिथि भएको र २७ गते सूर्योदयकालमा दशमी तिथि नहुनाले नेपालमा २६ असोजमा नै विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ ।



यो पर्व तिथि प्रधान भएकाले श्रवण नक्षत्र पर्दा यसको प्रशस्त्य हुनेमात्र हो । यो नक्षत्र विजयादशमीको कारक नभएकाले विजयादशमीको टीका नेपालमा असोज २६ गते र अष्ट्रेलियामा असोज २७ गते मनाउन समितिले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । 

यसैगरी अष्ट्रेलियामा लक्ष्मी पूजा औँसी तिथि सन्ध्या काल १६ कात्तिकमा  भएकाले अस्ट्रेलियामा १ नोभेम्बरमा लक्ष्मी पूजा गर्नुपर्ने र नेपालमा १५  कात्तिकमा सन्ध्या कालमा औँसी तिथि भएकाले १५ गते नै लक्ष्मी पूजा गर्नुपर्ने पनि समितिले विज्ञप्तिमार्फत स्पष्ट गरेको छ ।



अष्ट्रेलियालगायत नेपाली र भारतीय वैदिक सनातन हिन्दू धर्मावलम्बी बढी भएका देशमा दसैँ, तिहारजस्ता पर्व भव्यरूपमा मनाइन्छ । यी देशमा सूर्योदयकाल फरक हुने भएकाले तिथि पनि फरक पर्न गएको हो । 

शास्त्रीय रूपमा जुन तिथिमा जे पर्व मनाउनु भनिएको छ । त्यसैअनुसार कर्म गराउने उद्देश्यले नै समितिको गठन भएको हो । समितिले अन्तर्राष्ट्रियस्तरमा चाडपर्वसम्बन्धी विवाद भएमा निर्णय गर्ने गरेको छ । विश्व ज्योतिष महासङ्घअन्तर्गत समितिले काम गर्ने गरेको छ । 



  • प्रकाशित मिति : भदौ २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया