logo-img

क्यानडाविरुद्ध कहाँ-कहाँ चुक्यो नेपाल ? यी हुन् हारका ६ कारण
फाइल तस्बिर

आइसिसी विश्वकप लिग–२ को चारवटै खेल जित्ने लक्ष्यका साथ क्यानडा उडेको नेपाली टिमलाई पहिलो गाँसमै ठूलो ढुंगा लागेको छ । अर्थात् नेपाल श्रृंखलाको पहिलो खेलमा घरेलु टिम क्यानडाविरुद्ध १०३ रनको फराकिलो अन्तरले पराजित भयो ।

क्यानडासँग ओडिआईमा नेपालको यो पहिलो हार हो । यसअघि खेलिएको तीन ओडिआईमा क्यानडाविरुद्ध नेपाल विजयी भएको थियो । मंगलबार बिहान सम्पन्न खेलमा क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १ सय ५० रनमै अलआउट भयो ।

नेपालका लागि करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए । यस्तै, सन्दीप लामिछानेले २२, आसिफ शेखले २०, भीम सार्कीले १८, गुलशन झाले १५ र कुशल मल्लले १२ जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालको इनिङ ध्वस्त पार्नेक्रममा क्यानडाका लागि तीव्र गतिका बलर डिलन हेलिगरले सानदार बलिङ गरे । उनले १० ओभरमा ३१ रन दिएर ५ विकेट लिए । यस्तै, अखिल कुमार र अंश पटेलले २/२ तथा सादबिन साफरले एक विकेट हात पारे । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन बनायो । उसका लागि कप्तान निकोलश किर्तनले उत्कृष्ट ब्याटिङ गरे ।



उनले ४४ बलमा ६ छक्का र ३ चौकासहित अविजित ७३ रन बनाए । यस्तै, नवनीत धालिवालले ४८, डिलन हेलिगरले ३०, हर्ष ठाकरले २७, सादबिन जाफर र प्रगत सिंहले १७/१७ तथा कलिम साना र आरोन जोनसनले १०/१० रन जोडे ।



नेपालका लागि ललितनारायण राजवंशी र सोमपाल कामीले २/२ तथा सन्दीप लामिछाने, गुलशन झा र रोहितकुमार पौडेलले एक/एक विकेट लिए । 

क्यानडासँग नेपाल हार्नुका प्रमुख ६ कारण 

१. खराब ब्याटिङ​

क्यानडाविरुद्ध लज्जास्पद हार बेहोर्नुमा नेपालको खराब ब्याटिङ प्रमुख कारण रह्यो । हुन त विदेशी मैदानमा नेपालको यो पुरानै समस्या हो । तर, यसपालि भारतको बैंग्लोरमा दुई साता स्तरीय प्रशिक्षणका साथ क्यानडा गएकाले नेपाली टिमको ब्याटिङमा सुधार देख्न पाइने अपेक्षा थियो । तर, पहिलो खेलमा नेपाली ब्याटर झन् ‘फ्लप’ भए ।

ओडिआईमा क्यानडाले दिएको २५४ रनको लक्ष्य विशाल होइन । यदि आरामले ५० ओभर खेल्न सकेको भए खेल नेपालले सहजै जित्ने थियो । तर, कुनै पनि ब्याटर क्रिजमा जम्न सकेनन् । अघिल्लो दुई अभ्यास खेलमा राम्रो लयमा देखिएका कुशल भुर्तेल क्यानडाविरुद्ध एक रनमै पवेलियन फर्किए ।

क्रिजमा जम्नुपर्ने अवस्थामा उनी सर्ट हिर्काउने धुनमा लाग्दा एल्बीडब्लू धरापमा परे । नेपालले ३.५ ओभरमा ९ रन जोड्दा कुशलको विकेट गुमायो । त्यसपछि अरू नेपाली ब्याटर पनि सस्तैमा आउट भए ।

यस खेलमा कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीबाट समर्थकले ठूलो पारीको आशा राखेका थिए । किनकी उनीहरूले डेढ महिना क्यानडामा अभ्यास गरेका थिए । तर, पहिलो खेलमा रोहित र दीपेन्द्रको क्यानडा अभ्यास काम लागेन । यस खेलमा रोहित ५ तथा दीपेन्द्र ८ रनमै आउट भए । 

२. हेलिगरको अलराउन्ड प्रदर्शन

नेपालले फराकिलो हार बेहोर्नुको अर्को कारण हो, डिलन हेलिगरको प्रदर्शन । क्यारेबियनमूलका यी खेलाडीले नेपालविरुद्ध अलराउन्ड प्रदर्शन गरे । ब्याटिङमा क्यानडालाई लयमा ल्याउन र नेपाली खेलाडीलाई दबाबमा राख्न हेलिगरले महत्वपूर्ण भूमिका खेले ।

ब्याटिङतर्फ उनले २७ बलमा २ छक्का र २ चौकासहित ३० रन बनाए । बलिङमा हेलिगरले १० ओभरमा मात्र ३१ रन दिएर ५ विकेट लिए । उनले कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप लामिछाने र गुलशन झाको विकेट लिएका हुन् । अलराउन्ड प्रदर्शन गरेका हेलिगर ‘प्लेयर अफ द म्याच’ घोषित भए । 

३. आक्रामक ब्याटिङ

नेपाल हार्नुको अर्को प्रमुख कारण रह्यो, किर्तनको आक्रामक ब्याटिङ । कप्तान निकोलश किर्तनले नेपालविरुद्ध ४४ बलमा ६ छक्का र ३ चौकासहित अविजित ७३ रनको विस्फोटक इनिङ खेले ।

४० ओभरमा क्यानडाले ५ विकेट गुमाएर १४९ रन बनाएको थियो । तर, क्यारेबियनमूलका किर्तन चम्किँदा क्यानडाले अन्तिम १० ओभरमा सानदार ब्याटिङ गर्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दियो । उनलाई सस्तैमा आउट गर्नु नसक्नु नेपाललाई ठूलो घाटा भयो । साथै, किर्तनले नेपाललाई हराउन सुझबुझ तरिकाले कप्तानीसमेत गरे । 

४. खराब डेथ ओभर बलिङ

नेपाल विगत लामो समयदेखि डेथ ओभर बलिङमा चुकिरहेको छ । सुरुवात उत्कृष्ट गर्दा पनि अन्तिममा सम्हालिन नसक्दा नेपालविरुद्ध विपक्षी ब्याटरले फाइदा उठाइरहेका छन् । र, सोमबार राति त्यो फाइदा क्यानडाका ब्याटरले उठाए ।

यदि नेपालले अन्तिम १० ओभरमा कसिलो बलिङ गर्न सकेको क्यानडाले २५३ रन बनाउने सम्भावना न्यून थियो । तर, नेपालले अन्तिम १० ओभरमा १०४ रन दियो । नेपालले क्यानडाविरुद्ध ८ बलरको प्रयोग गरेको थियो ।  

५. रोहितको खराब कप्तानी

क्यानडाविरुद्ध नेपालको फराकिलो हारको अर्को मुख्य कारण हो, खराब कप्तानी । यस खेलमा रोहितको कप्तानी सन्तोषजनक रहेन । विशेषगरी उनी बलिङमा चुके । रोहितले कुनै पनि मुख्य बलरलाई १० ओभर बलिङको मौका दिएनन् ।

यस खेलमा करण केसीले ६, सोमपाल कामीले ८, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ९/९, गुलशन झा र दीपेन्द्र सिंह ऐरीलाई ५/५  तथा कुशल मल्ललाई तीन ओभर बलिङ गराए । र, उनले चार ओभर बलिङ गर्दा एक विकेट लिँदै ४३ रन खर्चिए ।

बलरको सही सदुपयोग गर्न नसक्दा क्यानडाका ब्याटरले अन्तिममा खुलेर खेले । मुख्य बलरलाई बलिङमा ल्याउनुपर्नेमा आफैं अघि बढ्दा क्यानडाका ब्याटरले मोमेन्ट पक्रिए । र, रोहितले महत्वपूर्ण ४६औँ ओभरमा बिनाविकेट १९ रन दिँदै क्यानडाको स्कोर उकास्न मद्दत पुर्याए । त्यसपछि क्यानडाले ४ ओभरमा ५० रन बनायो ।  

६. प्लेइङ–११ छनोटमा चुक 

नेपाल पराजित हुनुको अर्को कारण बन्न पुग्यो प्लेइङ–११ छनोटमा चुक्नु । धेरै समर्थकले यस खेलमा अनिलकुमार साहले तेस्रो नम्बरमा ब्याटिङ गर्ने आशा राखेका थिए । तर, उनलाई प्रशिक्षक र कप्तानले प्लेइङ–११ मै समावेश गरेनन् ।

गत शुक्रबार भएको त्यहाँको स्थानीय क्लबविरुद्ध अनिलले अविजित ४७ रन बनाएका थिए । र, उनले गत फेब्रुअरीमा लक्ष्य पछ्याउनेक्रममा क्यानडाविरुद्ध अविजित शतकीय इनिङ खेलेका थिए ।

यसपालि भने क्यानडासँगको खेलमा अनिल पहिलो रोजाइमा परेनन् । बरु प्रशिक्षकको रोजाइमा अलराउन्डरहरू परेका देखियो । तर, उनीहरू पहिलो खेलमा योगदान दिन चुके । 

  • प्रकाशित मिति : असोज १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया