logo-img

मेटमणिलाई पार्टीबाटै हटाउन झलनाथको माग, जोगाउने पक्षमा माधव नेपाल

एकीकृत समाजवादीका उपमहासचिव एवं सांसद मेटमणि चौधरी आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । गत साता एक टेलिभिजनमा अन्तवार्ता दिँदै उनले लिपुलेक र कालापानीसहितको क्षेत्रमा नेपालको दाबी नपुग्ने अभिव्यक्ति दिएका थिए । 

नेपालको प्रतिनिधि सभाले सर्वसम्मत रुपमा संविधान संशोधन गरेर नक्सामा सामेल गरेको ती क्षेत्रबारे उनले दिएको अभिव्यक्तिको अहिले संसददेखि उनकै पार्टीभित्रसम्म विरोध भइरहेको छ । 
आइतबारको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद सूर्य ढकालले उनलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका थिए । 

संसदमा मात्रै होइन, उनकै पार्टी एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पनि चौधरीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री खनालले चौधरीलाई तत्काल कारबाही गरेर पार्टीबाट हटाउन माग गरेका हुन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘यस्ता दूषित तत्वहरुबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पाटीको रुपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्ति समक्ष जोडदार माग गर्दछु ।’ 



खनालले सांसद चौधरी नेपाली नागरिक भएकोमा शंका व्यक्तसमेत गरेका छन् । ‘यो देशद्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो,’ उनले भनेका छन्, ‘हाम्रो पार्टीजस्तो एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो ।’ 

यस विषयमा चौधरीलाई पार्टीले स्पष्टीकरण पनि सोधिसकेको छ । महासचिव घनश्याम भुसालले चौधरीलाई भदौ २८ गते स्पष्टीकरण सोधेका थिए । जवाफमा चौधरीले आफ्नो भनाइलाई गलत अर्थ लगाइएको जिकिर गरेका छन् ।



चौधरी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका विश्वासपात्र मानिन्छन् । त्यसैले चौधरीलाई कारबाही गर्न नेपाल पक्ष तयार देखिँदैन । 



  • प्रकाशित मिति : असोज १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया