logo-img

नुवाकोट र रसुवाको कृषि क्षेत्रको विकासका लागि १० करोड प्राप्त

नुवाकोट र रसुवाको कृषि क्षेत्रका लागि चालु आर्थिक वर्षमा १० करोड २० लाखको योजना तथा कार्यक्रम प्राप्त भएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास कार्यालय नुवाकोटलाई चालु आ‍वमा केही नयाँ कार्यक्रमसहित कृषि विकासका लागि सञ्चालित यसअघिका कार्यक्रमलाई निरन्तरता दिन योजना तथा कार्यक्रम एवं बजेटको अख्तियारी प्राप्त भएको कार्यालय प्रमुख केशव खनालले जानकारी दिए ।

उनका अनुसार सिँचाइ, साना यन्त्र उपकरणमा सहायता, मागमा आधारित जीविकोपार्जन सहयोग कार्यक्रम, उद्यमशीलता प्रवर्द्धन, संरक्षित संरचनामा तरकारी खेती, एक वडा एक कृषि उत्पादनसहित रैथाने बाली र तरकारीको संरक्षणका कार्यक्रम प्राथमिकतामा राखिएका छन् ।

‘युवालाई स्वरोजगार बनाउन नयाँ कार्यक्रम कृषि उद्यमशीलता विकास कार्यक्रमका लागि ३६ लाख बजेट विनियोजन गरिएको छ भने बाँझो रहेका खेतमा बाली लगाउनलाई सहज बनाउन सिँचाइ कार्यक्रम माग गर्नेलाई नौ लाखलगायत आकर्षण कार्यक्रम राखिएका छन् ।’ वरिष्ठ कृषि विकास अधिकृत खनालले भने, ‘प्राङ्गारिक मल वितरण, गोठमल र भकारो सुधार कार्यक्रम, हराएका रैथाने अन्नबाली र तरकारीखेतीको प्रवर्द्धनका लागि किसानलाई सहयोग उपलब्ध गराउने कार्यक्रम समावेश गरिएको छ ।’

रैथाने बाली र तरकारीको संरक्षणसहित सम्भाव्यता भएका नयाँ उब्जनीको अध्ययन तथा परीक्षणसमेत गर्ने कार्यक्रम चालु आर्थिक वर्षको प्राथमिकतामा राखिएको छ ।

नुवाकोटमा धान, चामल, आलु, तरकारी, ट्राउट माछा, स्ट्रबेरी र रसुवामा आलु, स्याउ, दाल, सिमीको व्यावसायिक खेतीमार्फत उत्पादन वृद्धि र बजारीकरणमा कार्यालयले सहयोग पुर्याउँदै आइरहेको छ ।

चालु आवका लागि प्राप्त योजना तथा कार्यक्रमले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै गरिबी न्यूनीकरण तथा खाद्य पोषण सुधारमा उल्लेख्य सहयोग पुग्ने लक्ष्य लिइएको छ ।



त्यसका लागि सहकारी र निजी क्षेत्रको सहभागितामा कृषिजन्य वस्तुको उद्योग तथा व्यवसायको विकास गर्ने उल्लेख गरिएको छ ।



  • प्रकाशित मिति : असोज १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया