logo-img

क्यानडामा पहिलो जितको खोजीमा नेपाल, आज ओमानसँग भिड्दै
प्लेइङ-११ मा दुई परिवर्तनको सम्भावना
फाइल तस्बिर

क्यानडामा जारी आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले दोस्रो खेलमा ओमानसँग खेल्ने तालिका छ । नेपाल र ओमानबीचको प्रतिस्पर्धा आज राति ८ः४५ देखि क्यानडाको किंग्स सिटीस्थित मेपल लीफ नर्थ वेस्ट ग्राउन्डमा सुरु हुनेछ । श्रृंखलामा नेपाल पहिलो जितको खोजीमा छ ।

नेपालले पहिलो खेलमा घरेलु टिम क्यानडासँग १ सय ३ रनको फराकिलो हार बेहोरेको थियो । उक्त खेलमा नेपालले निकै खराब ब्याटिङ गर्यो । मंगलबार बिहान सम्पन्न खेलमा क्यानडाले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १ सय ५० रनमै अलआउट भयो । 

नेपालका लागि कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । क्यानडाविरुद्ध करण केसी र सन्दीप लामिछानेले मात्र सन्तोषजनक ब्याटिङ गरे । उक्त म्याचमा करणले २४ बलमा दुई छक्का र दुई चौकासहित सर्वाधिक ३० रन बनाए ।

यस्तै, सन्दीपले १६ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २२ रन जोडे । बलिङतर्फ सन्दीपले ९ ओभरमा ४८ रन दिएर एक विकेट लिए । उनले एक वर्षपछि ओडिआई खेलेका हुन् । लामो समयको ग्यापपछि ओडिआई खेलेका सन्दीपले अपेक्षाकृत बलिङ गर्न नसके पनि ब्याटिङबाट टिमलाई योगदान दिने भरपूर प्रयास गरे । करणले भने क्यानडाविरुद्ध विकेट लिन सकेनन् ।

उनले यस खेलमा ६ ओभरमा एक मेडनसहित बिनाविकेट २४ रन खर्चिए । करण एक वर्षयतादेखि ओडिआईमा विकेट लिन सकेका छैनन् । अब उनी ओमानविरुद्ध सानदार पुनरागन गर्न चाहन्छन् । 

ओमानविरुद्ध करणको रेकर्ड पनि राम्रो छ । उनी ओमानविरुद्ध ओडिआईमा सर्वाधिक विकेट लिने मामलामा नम्बर वानमा छन् । हालसम्म करणले ओमानविरुद्ध यस फरम्याटमा सात खेलमा ५.१४ को इकोनमीमा २३ विकेट लिएका छन् ।



उनी यसपालि पनि ओमानविरुद्धको उक्त विगत प्रदर्शन दोहोर्याउन पूरा कोसिस गर्ने छन् । यस्तै, सन्दीपले हालसम्म ओमानविरुद्ध ६ ओडिआई इनिङ्स खेलेका छन्, जसमा उनले ४.७० को इकोनमीमा १२ विकेट लिएका छन् ।

ओमानविरुद्ध हालसम्म नेपालले सात ओडिआईमा प्रतिस्पर्धा गरेको छ, जसमध्ये नेपालले तीनमा जित र चार खेलमा हार बेहोरेको छ । पछिल्लो दुई ओडिआईमा ओमानविरुद्ध नेपालले लगातार जित हात पारेको छ ।



यी दुई टिमले अन्तिमपटक २१ अप्रिल २०२३ मा एकदिवसीय म्याच खेलेका थिए, उक्त म्याचमा नेपाल ८४ रनले विजयी भयो । नेपाल यसपालि पनि जित निकाल्दै ओमानसँगको अपराजित यात्रा कायम राख्ने सोचमा छ । त्यसका लागि नेपालले उत्कृष्ट ब्याटिङ गर्न आवश्यक छ । ओमानविरुद्ध नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । 

बुधबार नेपालले युवा अलराउन्डरद्वय कुशल मल्ल र गुलशन झालाई विश्राम दिएर अनिलकुमार साह र आरिफ शेखलाई खेलाउने सम्भावना रहेको हो । क्यानडाविरुद्ध कुशलले ब्याटिङमा ४१ बलमा १२ रन बनाउँदा बलिङमा तीन ओभरमा बिनाविकेट १० रन दिए ।

यस्तै, गुलशन झाले २७ बलमा १५ रन जोड्दा बलिङमा ५ ओभरमा १८ रन खर्चेर एक विकेट लिए । गुलशन र कुशलको स्थान लिन सक्ने आरिफ र अनिलले ओडिआईमा राम्रो प्रदर्शन गरेको विगत छ ।

आरिफ नेपालका लागि यस फम्र्याटमा सर्वाधिक रन बनाउने मामलामा चौथो स्थानमा छ । उनले हालसम्म ४३ ओडिआई इनिङ्समा ६ अर्धशतकसहित ९ सय ६४ रन बनाएका छन् । यस्तै, अनिलले १९ ओडिआईमा एक शतक र दुई अर्धशतकको मद्दतमा २ सय ६६ रन बनाएका छन् । 

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी । 
 

  • प्रकाशित मिति : असोज २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया