क्यानडामा जारी आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाल र ओमानबीचको खेल राति ८ः४५ देखि सुरु हुनेछ । लिग–२ तालिकामा सुधार गर्न नेपालका लागि यो सिरिज निकै महत्वपूर्ण छ । नेपाल अहिले चार खेलबाट २ अंकसहित तालिकाको सातौं स्थानमा छ ।
यस्तै, क्यानडा दोस्रो तथा ओमान छैटौँ स्थानमा छ । विश्व क्रिकेटमा ओमान नेपालको चिरपरिचित प्रतिद्वन्द्वी टोली हो । यी दुई टिमले धेरै प्रतियोगिताको निर्णायक खेलमा प्रतिस्पर्धा गरेको विगत छ ।
हेड टु हेड
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्तपछि नेपाल र ओमानबीचको पहिलो भेट ५ फेब्रुअरी सन् २०२० मा भएको थियो । टियू ग्राउन्डमा भएको उक्त खेलमा ओमानसँग नेपाल १८ रनले स्तब्ध भयो ।
लिग–२ को सो खेलमा ओमानले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल ४६.५ ओभरमा १७९ रनमै अलआउट भयो । यस्तै, यी दुई टिमले दोस्रो ओडिआई सोही वर्षको ९ फेब्रुअरीमा खेले । उक्त खेलमा ओमानसँग नेपालले ८ विकेटको फराकिलो हार बेहोर्यो ।
त्यस म्याचमा नेपालले दिएको २५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । यस्तै, ओडिआईमा नेपाल र ओमानको तेस्रो भेट १४ सेप्टेम्बर सन् २०२१ मा भयो । अल अमरातमा भएको उक्त खेलमा आयोजक ओमानसँग नेपाल ५ विकेट स्तब्ध भयो । सो म्याचमा नेपालले दिएको १९७ रनको लक्ष्य ओमानले ३१.१ ओभरमा पूरा गर्दै जितमा ह्याट्रिक गर्यो ।
नेपाल र ओमानले चौथो ओडिआईमा सोही वर्षको १९ सेप्टेम्बरमा प्रतिस्पर्धा गरे । र, नेपालले ओमानसँगको हारको यात्रा टुङ्ग्यायो । उक्त लिग–२ खेलमा नेपालले ओमानलाई ७ विकेटले हरायो । त्यस खेलमा ओमानले दिएको १२२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
यस्तै, ओडिआईमा नेपाल र ओमानको पाँचौं भेट ९ जुन सन् २०२२ मा अमेरिकामा भयो । उक्त लिग–२ खेलमा ओमानसँग नेपाल १३ रनले स्तब्ध भयो । त्यस खेलमा ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल ४९.४ ओभरमा १९८ रनमै अलआउट भयो ।
यद्यपि नेपालले सो लिग–२ श्रृंखलाको अर्को खेलमा ओमानविरुद्ध ७ विकेटको उत्कृष्ट पुनरागमन जित निकाल्यो । उक्त खेलमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
यी दुई टिमले पछिल्लोपटक अर्थात् सातौं खेलमा २१ अप्रिल २०२३ मा एकअर्काको सामना गरे । एसिसी प्रिमियर लिगको त्यस खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो ।
टियू ग्राउन्डमा भएको उक्त म्याचमा नेपालले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमै अलआउट भयो । यसरी यी दुई टोलीबीचको विगत अर्थात् हेड टु हेड नियाल्दा नेपाल र ओमानले सात ओडिआईमा एकअर्काको सामना गरेका छन्, जसमा ओमानले चार र नेपालले तीन खेल जितेको छ ।
‘हेड टु हेड’ मा थोरैले अघि रहेको ओमान नेपालविरुद्ध पुनरागमन जितको खोजीमा छ । उसले पछिल्लो दुई ओडिआईमा नेपालसँग फराकिलो हार बेहोरेको छ । नेपाली टिम ओमानविरुद्ध जितमा ह्याट्रिक गर्ने योजनामा छ । र, नेपाल ओमानसँगको एकदिवसीय ‘हेड टु हेड’ रेकर्ड बराबर गर्न चाहन्छ ।
पछिल्लो एक–डेढ वर्षयताको खेल प्रदर्शन हेर्ने हो भने ओमानभन्दा नेपाल बलियो देखिन्छ । ओडिआई वरीयताको कुरा गर्दा पनि ओमानभन्दा नेपाल अगाडि छ । ताजा आइसिसी एकदिवसीय वरीयतामा नेपाल १६औँ र ओमान १७औँ स्थानमा छ ।
ओडिआईमा नेपालको उत्कृष्ट वरीयता १४औँ स्थान हो । नेपालले उक्त उपलब्धि सन् २०१९ मा हासिल गरेको थियो । यस्तै, यस फरम्याटमा ओमानको उत्कृष्ट वरीयता १३औँ स्थान हो । उसले यो सफलता सन् २०२० मा हासिल गरेको थियो ।
अब क्यानडा भ्रमणमा दुवै टिम उत्कृष्ट प्रदर्शन गरेर वरीयतामा फेरि सुधार गर्न चाहन्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।