logo-img

गुलशनको सानदार प्रदर्शनका बाबजुद ओमानसँग नेपाल स्तब्ध
फाइल तस्बिर

क्यानडामा जारी आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। दोस्रो हार बेहोर्नेक्रममा नेपाल बिहीबार बिहान सम्पन्न खेलमा ओमानसँग एक विकेटले स्तब्ध भयो। पहिलो खेलमा नेपालले क्यानडासँग १०३ रनको हार बेहोरेको थियो। याेसँगै नेपालले दोस्रो खेलमा पनि हारको सिलसिला तोड्न सकेन । 

ओमानले भने क्यानडा भ्रमणमा सुखद सुरुवात गर्यो । जारी सिरिजमा आफ्नो पहिलो खेलमा नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । ओमानलाई अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक थियो ।

यस ओभरमा बलिङमा थिए, तीव्र गतिका सोमपाल कामी । उनले कसिलो बलिङ गर्न नसक्दा ओमानले लगभग हातबाट फुत्किसकेको खेल रोमाञ्चक तरिकाले जित्यो । सोमपालले अन्तिम ओभरको पहिलो बलमा सिंगल, दोस्रोमा चार, तेस्रोमा डट बल र चौथोमा एक रन दिए । यो अवस्थासम्म ओमान खेलमा फर्किसकेको थियो । र, पाँचौं बलमा कलीमुल्लाहले चौका हिर्काउँदै ओमानलाई जित दिलाए । 

उसको जितमा जतिन्दर सिंहले ४१, कश्यप प्रजापतिले ३६, कप्तान अकिब इलियासले २९, प्रतीक आठवाले र सोयब खानले २६/२६ तथा खालिद केइल र शाकील अहमदले १७–१७ रन बनाए । नेपालका लागि युवा अलराउन्डर गुलशनकुमार झाले करियरकै उत्कृष्ट बलिङ गरे । 

उनले ओमानविरुद्ध १० ओभरमा २ मेडनसहित ४७ रन दिएर सर्वाधिक पाँच विकेट लिए । यस्तै, करण केसीले १० ओभरमा २७ रन दिएर दुई विकेट हात पारे । सन्दीप लामिछाने र आरिफ शेखको नाममा एक/एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेल र गुलशन झाले अर्धशतकीय पारी खेले । 



रोहितले ७२ बलमा चार छक्का र दुई चौकासहित ६० रन बनाए । यस्तै, गुलशनले ३५ बलमा पाँच छक्का र तीन चौकासहित ५३ रनको आक्रामक इनिङ खेले । टिम हारका बाबजुद सानदार अलराउन्ड प्रदर्शन गरेका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए । 

यस खेलमा आरिफ शेखले ८८ बलमा एक चौकासहित ३५ रन जोडे । यस्तै, सोमपाल कामीले २०, आसिफ शेख, भीम सार्की र सन्दीप लामिछानेले ११/११ तथा अर्जुन साउदले पाँच, अनिलकुमार साहले तीन र करण केसीले एक रन बनाए ।



ओमानका लागि कलीमुल्लाह, फैज बट र अकिब इलियासले दुई/दुई तथा सोएब खान र शाकील अहमदले एक/एक विकेट लिए । नेपालले अब आइतबार क्यानडाको सामना गर्नेछ ।

  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया