logo-img

आइसिसी विश्वकप लिग-२ : ओमानविरुद्ध कहाँ चुक्यो नेपाल ?
फाइल तस्बिर

जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय सिरिजमा आज बिहान सम्पन्न खेलमा ओमानसँग नेपाल एक विकेटले स्तब्ध भयो । क्यानडामा भइरहेको यस श्रृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । 

पहिलो खेलमा नेपाल घरेलु टिम क्यानडासँग १ सय ३ रनले पराजित भएको थियो । दोस्रो खेलमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो । 

नेपालका लागि कप्तान रोहितकुमार पौडेल र गुलशन झाले अर्धशतकीय पारी खेले । रोहितले ७२ बलमा चार छक्का र दुई चौकासहित ६० रन बनाए । यस्तै, गुलशनले ३५ बलमा पाँच छक्का र तीन चौकासहित ५३ रनको आक्रामक इनिङ खेले ।  

यस्तै, आरिफ शेखले ३५,सोमपाल कामीले २०, आसिफ शेख, भीम सार्की र सन्दीप लामिछानेले ११/११ तथा अर्जुन साउदले पाँच, अनिलकुमार साहले तीन र करण केसीले एक रन बनाए । ओमानका लागि कलीमुल्लाह, फैज बट र अकिब इलियासले दुई/दुई तथा सोएब खान र शाकील अहमदले एक/एक विकेट लिए ।  



नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । ओमानलाई अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक थियो । यस ओभरमा बलिङमा थिए, तीव्र गतिका सोमपाल कामी । उनले कसिलो बलिङ गर्न नसक्दा ओमानले लगभग हातबाट फुत्किसकेको खेल रोमाञ्चक तरिकाले जित्यो । 

सोमपालले अन्तिम ओभरको पहिलो बलमा सिंगल, दोस्रोमा चार, तेस्रोमा डट बल र चौथोमा एक रन दिए । यो अवस्थासम्म ओमान खेलमा फर्किसकेको थियो । र, पाँचौं बलमा कलीमुल्लाहले चौका हिर्काउँदै ओमानलाई जित दिलाए ।  



ओमानको जितमा जतिन्दर सिंहले ४१, कश्यप प्रजापतिले ३६, कप्तान अकिब इलियासले २९, प्रतीक आठवाले र सोयब खानले २६–२६ तथा खालिद केइल र शाकील अहमदले १७/१७ रन बनाए ।

नेपालका लागि युवा अलराउन्डर गुलशनकुमार झाले करियरकै उत्कृष्ट बलिङ गरे । उनले ओमानविरुद्ध १० ओभरमा २ मेडनसहित ४७ रन दिएर सर्वाधिक पाँच विकेट लिए । 

यस्तै, करण केसीले १० ओभरमा २७ रन दिएर दुई विकेट हात पारे । सन्दीप लामिछाने र आरिफ शेखको नाममा एक/एक विकेट रह्यो ।   

ओमानविरुद्ध कहाँ चुक्यो नेपाल ? 

१. पावरप्लेमा विकेटविहीन हुनु

ओमानसँगको खेलमा नेपाल चुक्नुमा सबैभन्दा ठूलो कारण पावरप्लेमा विकेट लिन नसक्नु रह्यो । ओमानले बलिङ/ब्याटिङमै सानदार सुरुवात गर्‍यो । उसले ब्याटिङतर्फ १६ ओभरमा बिनाविकेट ७५ रन बनाइसकेको थियो । यो स्थितिबाट नेपाललाई खेलमा फर्कन निकै गाह्रो थियो । १६.१ ओभरमा सन्दीप लामिछानेले जतिन्दर सिंहलाई आउट गर्दै ब्रेकथ्रू दिलाए । 

त्यसअघि करण र सोमपाल विकेट लिन संघर्ष गरिरहेका थिए । पहिलो खेलमा उनीहरूले सुरुवातीमै विकेट लिन नसके पनि किफायती बलिङ गरेका थिएन । तर, ओमानविरुद्ध भने सोमपाल र करण उत्कृष्ट सुरुवात दिलाउन चुके ।

करणले सानदार कमब्याक गर्दै १० ओभरमा २७ रन दिएर २ विकेट लिए पनि सोमपाल भने असफल रहे । बलिङमा उनका लागि यो खेलमा न सुरुवात राम्रो रह्यो नत अन्त्य नै । ७.५ ओभर बलिङको अवसर पाएका सोमपालले बिनाविकेट ६० रन दिए । टिमका सर्वाधिक अनुभवी बलर नै नचल्दा नेपाल हार बेहोर्न पुग्यो । 

२. शीर्षक्रमका ब्याटर नचल्नु 

नेपाल हारको अर्को कारण हो, टप थ्री ब्याटर फ्लप हुनु । ओमानविरुद्ध पनि नेपालका शीर्षक्रमका तीन ब्याटर सस्तैमा आउट भए । मुख्य प्रशिक्षक मोन्टी देसाईले खराब लयमा गुज्रिरहेका कुशल भुर्तेललाई विश्राम गराएर ओपनिङमा आसिफ शेखसँग अर्जुन साउदलाई पठाएका थिए । तर, अर्जुनको पनि ब्याट चलेन । उनले यस खेलमा १२ बलमा ५ रन मात्र बनाए ।

यस्तै, अर्का ओपनिङ ब्याटर आसिफको खराब लय पनि कायमै छ । उनले ओमानविरुद्ध २८ बलको सामना गर्दा मात्र ११ रन बनाउन सके ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका भीमले पनि मौकाको सदुपयोग गर्न सकेनन् । उनले ओमानसँगको खेलमा ३२ बलमा ११ रन जोडे । बलको सामना बढी रन कम बनाउँदा पावरप्लेमा नेपालले १० ओभरमा एक विकेट गुमाएर १९ रन मात्र बनायो । 

३. प्रशिक्षकको अप्रत्यासित निर्णय

ओमानसँग नेपाल स्तब्ध हुनुको अर्को कारण हो, प्रशिक्षकको अप्रत्यासित निर्णय । ओमानविरुद्ध मुख्यप्रशिक्षक मोन्टी देसाईले दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बाहिर राखेको थियो ।

दीपेन्द्रसमेत बेन्चमा सीमित हुँदा केही समर्थक अचम्ममा समेत परे । किनकी उनले डेढ महिनादेखि लिग–२ सिरिजकै लागि क्यानडामा अभ्यास गरिरहेका थिएन । तर, दीपेन्द्र दोस्रो खेलमा प्लेइङ–११ कै हिस्सा रहेनन् ।

यदि उनले मौका पाएको भए नेपालको ब्याटिङ पक्ष मजबुदका साथै बलरलाई कम दबाब पर्ने थियो । तर, उनी नहुँदा कप्तानसामु रन खर्चिरहेका सोमपाललाई बलिङको मौका दिनुको उचित विकल्प थिएन । किनकी अन्तिम ओभरसम्म करण, गुलशन र सन्दीपको स्पेल सकिसकेको थियो भने आरिफ र ललितमाथि कप्तान र कोचको त्यति विश्वास थिएन । 

ओमानविरुद्धको खेलमा ओपनिङमा आसिफ र अनिल तथा सातौं नम्बरमा दीपेन्द्रलाई मौका दिएको भए प्लेइङ–११ थप सन्तुलित हुने थियो । हारका बाबजुद नेपालले मन जितेको भनेको ५० ओभर खेलेर हो ।

विदेशी मैदानमा नेपालले ओडिआईमा ५० ओभर खेलेको विरलै देख्न पाइँदैन । तर, ओमानविरुद्धको खेलमा ब्याटरले धैर्य भएर खेले ।

साथै, लामो समयपछि गुलशन र रोहितको ब्याटिङ चल्दा पनि समर्थकमा केही आशाको सञ्चार भएको छ । जारी सिरिजमा नेपालले अब आइतबार क्यानडासँग खेल्ने तालिका छ । 

यो हारपछि नेपाल अंक तालिकाको छैटौँ स्थानमा उक्लिन चुक्यो । नेपालले जारी लिग–२ मा ६ खेल खेल्दा पाँचमा हार तथा एक खेलमा मात्र जित निकालेको छ ।

ओमानले भने अहिलेसम्म पाँच म्याच खेल्दा दुईमा जित, दुईमा हार तथा एक खेलमा अंक बाँडेको छ । ऊ तालिकाको छैटौँ स्थानमा छ । 

  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया