logo-img

राजनीतिक तहमा देखिएको अस्थिरता संविधान संशोधनबाट हल हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन संविधान संशोधनको माध्यमबाट पनि गर्न सकिने बताएका छन् । 

बिहीबार सैनिक मञ्च टुँडिखेलमा संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि स्थायित्व चाहिने उल्लेख गर्दै वर्तमान सरकार संविधानलाई समयानूकल बनाउन लागि परेको बताए । 

‘विकासका लागि स्थायित्व चाहिन्छ । अहिले हामीलाई नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ । राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो । तसर्थ विकासको लागि स्थायित्व अर्थात् निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन । संविधानलाई समयानुकूल बनाउनु पर्छ । समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो । मेरो विचारमा संविधानको संशोधन भनेको ‘लिखत र मर्म’ (लेटर एन्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो । विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो । राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्छौँ,’ प्रधानमन्त्री ओलीले भने ।  

त्यस्तै, उनले युवाहरूभित्र केही गरौं भन्ने आगो बलिरहेको बेला समाजमा आगो लगाउँछु भन्नेहरू समेत रहेको उल्लेख गर्दै देशलाई बचाउन सचेत गराए । देश भाँडियो वा अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने देश पुस्तौं पुस्ता पछि पर्ने उनको भनाइ थियो ।

‘आज म खासगरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु,तपाईंहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला । तपाईँहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छाैँ, गर्छाैँ । सुशासन कायम त हामी गर्छाैँ, गछौँ । तर, याद गरौं, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौँ,’ प्रधानमन्त्री ओलीले भने । 

आर्थिक विकास र उन्नतिको जुनसुकै तहमा हुँदा पनि नेपाल सदैव एउटा सभ्य र सुसंस्कृत राष्ट्र भएको ओलीले उल्लेख गरे । 





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया