logo-img

प्रत्यारोपण केन्द्रमा प्रदर्शन जारी, कार्यकारी निर्देशकलाई अस्पताल प्रवेशमा रोक लगाउने तयारी

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अनियमितता भएको भन्दै स्थानीय बासीले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । बिहीबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता तत्काल अन्त्य गर्न माग गरिएको छ ।
विगत लामो समयदेखि केन्द्रमा भइरहेको अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भए पनि सुनुवाइ नभएपछि आन्दोलनलाई निरन्तरता दिनुपरेको उनीहरूको भनाइ छ । 

आन्दोलनकारीहरूले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरूलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मिर्गौला फोक्सो तथा नशा सेवाहरूलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

आन्दोलनकै सिलसिलामा उनीहरूले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । झण्डै दुई सय जनाको हस्ताक्षरसहित उनीहरूले केन्द्रमा रहेका व्यथितीहरुका विषयमा मन्त्री पौडेललाई जानकारी गराएका थिए ।

केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पताल भित्र हुने सबै प्रकार सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीहरूको रोकिएको तबल भत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

यसअघि पनि मन्त्री पौडेललाई भक्तपुरवासीले मागहरूसहितको पत्र बुझाएका थिए । कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले माग सम्बोधन नभए जिल्ला प्रशासन कार्यालयदेखि स्वास्थ्य मन्त्रालयसम्म पुगेर घेराउका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । उनीहरूले कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई अस्पताल प्रवेशमा रोक लगाउने तयारी गरेको जानकारी दिए । 





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया