logo-img

प्रभु साहको आरोप- नेपालको वर्तमान संविधानले दलाल, भगौडा र विदेशीहरूको पक्षपोषण गर्‍यो

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालको वर्तमान संविधान दलाल, भगौडा र विदेशीहरूको पक्षपोषण गर्ने भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘नेपालको संविधान: समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने बताए । 

उनले भने, ‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन । यसले नेपाली जनताको भाग्य र भविष्यलाई उज्ज्वल गर्दैन । यसले नेपाललाई बर्बादमात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घटनाक्रमले पुष्टि गरिसकेको छ । हामीले पनि हेरिसकेका छौँ । कसैले भुलवश नेपालको संविधान र नेपालको सरकार नेपालीकै हो भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट त्यो भ्रम हटाइदिन आग्रह गर्न चाहन्छु ।’ 

यसको साथै, उनले नेपाल सरकार र नेपालको प्रधानमन्त्री पनि नेपालको नभएको बताएका छन् । उनले भने, ‘कसैले नेपालकै सरकार हो भन्यो भने म त्यसलाई सोध्न चाहन्छु–अहिलेको प्रधानमन्त्री केपी ओलीजीसँग सोध्न चाहन्छु–साँच्चै तपाईँ नेपालकै प्रधानमन्त्री हो ? नेपाली जनताकै प्रधानमन्त्री हो ? तपाईँको जिउमा नेपालीकै रगत र पसिना छ ? यदि छ भने जसले नेपालको नागरिकता त्यागे, उनीहरूको पैत्तिक सम्पत्ति कहाँ छ ? त्यो सोध्न चाहन्छु । हेक्टर हेक्टरका जग्गा बेचेर नेपालीहरूले पैसा अमेरिका, अस्ट्रेलिया लैजान मिल्छ कि मिल्दैन ? नेपालीहरूको भूभाग, जमिन, पूर्वजले आर्जिएको जमिन अमेरिका लैजान मिल्छ ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु तपाईँ साँच्चै नेपाल र नेपालीहरूको प्रधानमन्त्री हो भने ती सम्पत्ति कहाँ छन् ? त्यसको जवाफ दिनुहोस् । नेपाली जनता जान्न चाहन्छन् ।’ 

अहिलेको संविधानको प्रवृत्ति र चरित्र लुटकारी भएको भन्दै यसले विदेशीहरूको पक्षपोषण गर्ने पनि उनको भनाई छ । उनले भने, ‘अहिलेको संविधानको प्रवृत्ति र चरित्र लुटकारी छ । संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन, यसले नेपाली जनताको होइन, विदेशीहरूको पक्षपोषण गरेको छ । यहाँ विदेशी इन्ट्रेस्टमा काम हुन्छ । प्रभु साह पूर्वाग्रहमा बोलिरहेको छैन । म कुनै आग्रह वा पूवाग्रहमा हिँड्ने मान्छे पनि होइन । संविधान र व्यवस्थाको लागि ठूला ठूला लडाइँ लडेको छु ।’

उनले नेपालमा अहिले लोकतन्त्रको ठाउँमा दल तन्त्र हाबी भएको भन्दै हिजो पञ्चायत कालमा जसरी जनप्रतिनिधिहरू राजाबाट डोमिनेट थिए, अहिले दलबाट डोमिनेट भएको बताए । 

उनले भने, ‘मैले यो कुरा आज भनेको होइन, आजभन्दा १० वर्षअघि नै भनेको थिएँ । नेपालमा अब लोकतन्त्र रहेन, यो त दल तन्त्र भयो भनेर भनेको थिएँ । लोकतन्त्रमा निर्वाचित संस्थाको सुप्रिमेसी हुन्छ । नेपालमा जनताबाट निर्वाचित जनप्रतिनिधिहरू डोमिनेट छन् । हिजो पञ्चायत कालमा जसरी जनप्रतिनिधिहरू राजाबाट डोमिनेट थिए, अहिले दलबाट डोमिनेट छन् । मैले यो संसद्लाई मैले लोकतन्त्रको मन्दिर भनेको छैन, यो त दलहरूको कारिन्दाको समारोह भनेको छु ।’





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया