logo-img

भक्तपुरमा अत्याधुनिक अस्पताल निर्माण गर्न अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल

भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रूपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ ।

परामर्शदाताले नेपालको आवश्यकता अनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माण कार्यलाई अघि बढाउने सहमति भएको हो  । 

अर्थमन्त्री पौडेलले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए  ।  स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनौट र अस्पताल निर्माण प्रक्रिया अघि बढाउने बताए । 

बैठकमा निर्माण सम्पन्न भई सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालहरूको सञ्चालन, स्वास्थ्य बीमा लगायतका विषयमा छलफल भएको थियो । २०७३ सालमा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिब ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया