logo-img

प्रत्यारोपण केन्द्रमा प्रदर्शन जारी, नियमविपरीत कारबाही गरिएको चिकित्सकको दाबी

भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा चरम भ्रष्टाचार भएको भन्दै करिब दुई सातादेखि स्थानीयवासी निरन्तर आन्दोलनमा छन् । 

भक्तपुरका अशोक श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विगत केही वर्षयता बेथिति भइरहेको बताउँछन् । ‘सरकारले दिएको सबै सेवाको उपभोग गर्न पाउने हाम्रो अधिकार हो । तर, जति सुविधा हुनुपर्ने हो त्यो पाएका छैनौँ,’ श्रेष्ठ भन्छन्, ‘यहाँ अहिले मिर्गौलासम्बन्धी सेवा मात्र प्रदान भइरहेको छ । नसा तथा मुटुसम्बन्धी समस्या भए यहाँका जनता कहाँ जाने ? यहाँका जनता मात्र नभएर देशभरबाट उपचारका लागि आउँदा सेवा दिँदैनन् । यसरी त जनताले सास्ती भयो ।’ मुटुसम्बन्धी सेवा चाँडोभन्दा चाँडो सुचारु हुँदा स्थानीयदेखि अन्य व्यक्तिलाई पनि टेवा पुग्ने उनको विश्वास छ । 

अस्पतालमा उपकरण थन्क्याएर राख्नुभन्दा सेवा दिँदा सबैका लागि हितकर हुने उनको बुझाइ छ । सरकारसमक्ष बारम्बार ताकेता गर्दा पनि कुनै किसिमको सहयोग नपाइएको उनको गुनासो छ ।  अशोक भन्छन्, ‘टाढाबाट आउने बिरामीको कुरै छाडौँ । यहीँका स्थानीयवासीलाई हृदयाघात भए कहाँ जाने ? यो अस्पतालमा मुटुसम्बन्धी सेवा पाइन्छ भन्ने गरिएको छ । तर, सेवा ठप्प छ । आखिर केका लागि ?'

अशोकजस्तै अर्का स्थानीय भरत बज्रचार्य पनि केन्द्रमा बेथिति भइरहेको बताउँछन् । अस्पतालमा उपकरण, बजेट, चिकित्सक सबै हुँदाहुँदै पनि सेवा सुचारु नगर्नुको कारण बुझ्न नसकेको उनी बताउँछन् । उनका अनुसार करिब सात वर्षअगाडि १७ वटा मुटुको शल्यक्रिया गरिएकामध्ये १६ वटाको सफलता प्राप्त भइसकेको छ । समयसगैँ मुटुसम्बन्धी सेवाले पहाड नाघ्नुपर्ने हो, तर अहिले आएर सेवामा सुधार हुनुको साटो कुनै पनि सेवा प्रदान नगरिएको अवस्था छ । 

उनी भन्छन्, ‘सबै जनता निजीमा गएर उपचार गर्न सक्दैनन् । सरकारी अस्पतालमा सेवा छ भने त्यहीअनुसार सेवा जनताले पाउनुपर्छ । हामीलाई मर्न बाध्य पारिएको छ, अस्पतालको नेतृत्वले । निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ ज्यूले राम्रो काम गरेर देखाएर जनताको मन जित्नुपर्ने हो । तर, त्यस्तो हुन सकिरहेको छैन ।’ स्वास्थ्यसँग सम्बन्धित विषय भएकाले सम्बन्धित निकायले यसलाई समयमै ध्यान दिएर निष्कर्षमा निकाल्नुपर्ने स्थानीयहरूको चाहना छ । 



जारी छ आन्दोलन 

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमिततासम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भए पनि सुनुवाइ नभएपछि आन्दोलनलाई निरन्तरता दिनुपरेको उनीहरूको भनाइ छ । 



आन्दोलनकारीले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैरकानुनी तरिकाले बर्खास्त चिकित्सकलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मिर्गौला फोक्सो तथा नसा सेवा तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको ब्यानर बोकेर प्रदर्शन गरेका गरिरहेका छन् ।
 
अस्पतालमा मिर्गौला, कलेजो, मुटु, फोक्सो तथा नसाको मुख्य सेवा भए पनि अहिले सुविधा मिर्गाैला र कलेजोको मात्रै भएको प्रदर्शनकारीले जनाउँदै आइरहेका छन् । यही कारण धेरै भक्तपुरबासी हृदयाघातबाट अकालमा ज्यान गुमाउन बाध्य भइरहेको उनीहरूले सुनाए । 

'भ्रष्टचारविरुद्ध आवाज उठाउँदा कारबाही गरियो'

मृत्युपछि मानिसका आठवटा अंग प्रत्यारोपण गर्न सकिने, तर यहाँ मिर्गाैला र कलेजको मात्रै प्रत्यारोपण भइरहेको चिकित्सक बताउँछन् । केन्द्र सञ्चालनमा आएको १२ वर्षमा औँलामा गन्न सकिने मानिसले मात्रै केन्द्रमा मुटुको सेवा पाएको बताइएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका मुटु, फोक्सो तथा नसा विभागका प्रमुख डा. सञ्जित साहले केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई हटाए मात्रै त्यहाँको भ्रष्टाचार रोक्न सकिने बताउँछन् । डा. शाहलाई विभागीय कारबाही भएको थियो । 

जसका विरुद्ध उनी प्रशासकीय अदालत गएका थिए । अदालतले अस्पतालले गरेको विभागीय कारबाहीलाई बदर पनि गरिसकेको छ । अदालतले कारबाही बदर गरिसकेको भए पनि डा. साह अझै अस्पतालमा प्रवेश गर्न पाएका छैनन् । ‘उनीहरूले मलाई नियमविपरीत गएर विभागीय कारबाही गरेका थिए । किनभने मैले अस्पतालमा भइरहेको भ्रष्टचारविरुद्ध बोलेको थिएँ । अस्पतालमा सामान किनेर थन्क्याइएको छ भनेको थिएँ,’ डा. शाह भन्छन्, ‘मुटु, फोक्सो तथा नसारोग विभागीय प्रमुख भएको हैसियतले अस्पतालमा भएका उपकरण प्रयोग गरेर सेवा दिनुपर्छ भन्दा विभागीय कारबाही गरियो । मलाई अन्याय महसुस भएपछि म प्रशासकीय अदालत गएँ । अदालतले उनीहरूको कारबाही बदर गरिदियो ।’

अदालतबाट नै कारबाही बदर भइसक्दा समेत काम गर्न नदिएको उनको आरोप छ । डा. पुकारको संकीर्ण सोचका कारण मुटु सेवा हुँदाहुँदै पनि सेवाग्राही सुविधाविहीन भएको भन्दै करोडौँ होइन, अर्बौंका सामान कुहाएर भ्रष्टाचार गरेको उनको भनाइ छ । 

सत्ता र शक्तिको दुरुपयोग गरी कार्यकारी निर्देशक बनेका डा. श्रेष्ठकै हठ र एकाधिकारका कारण अस्पतालको सेवा सुविधा खुम्च्याइएको भन्दै कर्मचारी र स्थानीयवासी निरन्तर आन्दोलित छन् । स्थापनाकालदेखि ‘मानव अंग प्रत्यारोपण केन्द्र’का रूपमा चिनिएको केन्द्रमा भइरहेको बेथितिविरूद्ध स्थानीयवासी निरन्तर आन्दोलनमा उत्रिएपछि आन्तरिक विवादका शृखंला बाहिर पनि आउन थालेका हुन् ।

डा. पुकारविरुद्ध मुद्दाका चाङ

प्रत्यारोपण केन्द्रमा कार्यरत केही चिकित्सकले निर्देशक श्रेष्ठविरुद्ध अन्य अस्पतालमा गएर पार्ट टाइम काम गर्ने गरेको, करोडौँको उपकरण थन्क्याएर राज्यको सम्पत्ति उपयोगविहीन बनाइएको साथै गैरकानुनी रूपमा अंग प्रत्यारोपण गरेकोलगायत विषयलाई लिएर अस्पतालभित्रकै कर्मचारी, बिरामी र स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गएका छन् ।

०८१ साउन २७ गते सि ००८५६९ र ०८० चैत्र १२ गते सि ६५२३४३ मा अख्तियारमा मुद्दा दर्ता गराइएको छ । त्यसबाहेक आधादर्जन मुद्दा अख्तियारमा दर्ता छन् । २७ साउनमा दर्ता भएको मुद्दामा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले नै तीनजना कलेजोका बिरामीको कानुनविपरीत प्रत्यारोपण गरेको भन्दै मुद्दा परेको छ ।

नेपाल सरकार (खण्ड ६६) अतिरिक्तांक १४ (क) नेपाल राजपत्रभाग ३ मिति ०७३/०८/१६ मा प्रकाशित कलेजो प्रत्यारोपणका लागि डकम्पेन सैटेड सिरोसिस भएका बिरामीको कलेजो प्रत्यारोपणका लागि चाहिने मापदण्ड श्रेणी मिडल फर इन्ड स्टेज लिभर डिजिज तालिका ए प्राप्तांक १५ भन्दामाथि हुनुपर्ने व्यवस्था स्पष्ट हुँदाहुँदै डा. पुकारले १५ भन्दा कम अंक भएको एमइएलडी १० का एकजना, एमइएलडी १२ का दुईजना बिरामीको कानुनमा व्यवस्था भएको एमइएलडी तालिकाविपरीत प्रत्यारोपण गरेको भन्दै डा. पुकारमाथि गम्भीर छानबिन हुनुपर्ने माग राखिएको छ ।

यसअघि पनि उनीमाथि नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोप लागेको थियो भने उमेर हद नाघेर र विभिन्न काण्डमा उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत परेको थियो । 

  • प्रकाशित मिति : असोज ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया