logo-img

पूर्वराजा ज्ञानेन्द्रलाई धक्का, बन्द रोपवे पुनः खुल्ने पक्का
ज्ञानेन्द्रको लगानी रहेको भारतीय गाडी कम्पनी टाटाको नेपाली विक्रेता सिप्रदी ट्रेडिङले शक्तिको दुरुपयोग गरेर रोपवे बन्द गराएको थियो

मुलुकमा द्वन्द्वकालीन अवस्थाको मौका छोपेर टाटाको विक्रेता कम्पनी सिप्रदी ट्रेडिङको डिजाइनमा बन्द भएको हेटौंडा–टेकु रज्जुमार्ग (रोपवे) ले पुर्नजीवन पाउने भएको छ । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रममा परेसँगै हेटौंडा–टेकु रोपवेले पुर्नजीवन पाउने सम्भावना बढेको हो । 

बागमती सरकारले आइतबार सार्वजनिक गरेको ७६ बुँदे न्यूनतम साझा कार्यक्रममा संघीय सरकारसँग सहकार्य र समन्वय गरेर रोपवे सञ्चालनमा ल्याउने उल्लेख भएको सभासद् उर्मिला नेपाल बताउँछिन् । नेपाली कांग्रेस,केन्द्रिय सदस्य तथा बागमती प्रदेशकी सभासद् नेपालले यो योजना बागमती सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै भनिन्,‘ढुवानीका लागि वैकल्पिक साधन भएकोले यो ऐतिहासिक महत्त्व बोकेको रज्जुमार्गलाई सञ्चालनमा ल्याउन हामी कम्मर कसेर लागेका छौं ।’

उर्मिला नेपाल, प्रदेश सभा सदस्य, बागमती प्रदेश

चन्द्र शमशेरका पालामा निर्माण भएको रोपवे मकवानपुरको भैंसेस्थित सवस्टेशनमा समस्या आएपछि २०५६ सालदेखि बन्द भएको थियो । आफैँ बन्द भएको भनिए पनि वास्तविकता अर्कै रहेको बताइन्छ । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहको लगानी रहेको भारतीय गाडी कम्पनी टाटाको नेपाली विक्रेता सिप्रदी ट्रे डिङले गरेको सेटिङ अनुरुप रोपवे बन्द गरिएको थियो ।
हेटौंडाबाट काठमाडौं दैनिक सयौँ बोरा, सिमेन्ट, चिनी, नुन, चामल लगायतका सामान ढुवानी गर्न रोपवे उपयोगी थियो । सिप्रदीले टाटाको ट्रक बिक्री गर्ने योजना अनुरूप रोपवेमाथि षडयन्त्र भएको थियो ।

सिप्रदीमा ज्ञानेन्द्र शाह समेतको लगानी भएका कारण रोपवे बन्द गर्ने योजना सफल भएको र त्यो बन्द भएपछि तत्कालीन समयमा टाटाका ३५ हजार ट्रक बिक्री भएको हेटौंडाका पुराना राजनीतिज्ञहरूको भनाई छ । 



चन्द्र शमशेरले हेटौंडा–टेकु रज्जुमार्गअघि १९८३ मा धोर्सिङदेखि मातातीर्थसम्मको पहिलो रञ्जुमार्ग निर्माण गर्न लगाएका थिए । सिप्रदीको षडयन्त्रमा परेको रोपवे तत्काल चल्न सक्ने अवस्था त छैन तर मुआब्जा दिन नपर्ने भएकोले नयाँ बनाउन सकिने अवस्था छ । 



  • प्रकाशित मिति : असोज ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया