logo-img

एमाले काठमाडौं अध्यक्ष निरौलाको आरोप- बालेन प्रवृत्ति निरङ्कुश भयो, तानासाह लाद्न खोजियो

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र नेकपा एमालेका नेताहरूबीच तिक्तता चुलिँदै गएको छ । पछिल्लो समय महानगरभित्र रहेका नदी किनारमा दायाँबायाँ २० मिटर छाड्नुपर्ने महानगरको निर्णयप्रति एमालेका केन्द्रदेखि जिल्ला स्तरका नेताहरू प्रतिवादमा उत्रिएका छन् । त्यस्तै काठमाडौंको व्यस्त बजार न्यूरोड क्षेत्रलाई फराकिलो बनाउने महानगरको कदमलाई पनि एमालेले आपत्ति जनाएको छ । 

एमाले काठमाडौं अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति पूर्ण रुष्ट छन् । उनले कुराकानीका क्रममा खोला किनारसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकनबाट मात्र काठमाडौंवासीलाई न्याय हुने दाबी गरे । फैसला पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको उनले बताए । अध्यक्ष निरौलाले बालेन व्यक्ति नभई प्रवृत्ति रहेको उल्लेख गर्दै यस्तो प्रवृत्ति लामो समय नटिक्ने बताए । 

‘बालेन भनेको व्यक्ति होइन, प्रवृत्ति हो । निरङ्कुश प्रवृत्ति भएकाले लामो समय जाँदैन । महानगरपालिकाको प्रमुखका रूपमा रहेका पात्रको प्रवृत्ति हेर्दा आफू दल होइन भन्ने तर राजनीतिमा प्रवेश गरिसकेको गतिविधि देखाइरहनुभएको छ । उहाँका हरेक निर्णय र योजनाहरू निरङ्कुशता ब्युँझाउने किसिमका छन् । उहाँले आफू बाहेक अरूको अस्तित्व नै स्विकार्नू हुन्न,’ उनले भने,‘हामीले प्राप्त गरेको अधिकारमा त सबैले सबैलाई सम्मान गर्ने र आफ्ना विषयहरू राख्ने हो । तर पछिल्लो समय  उहाँसँग असहमत भएर कुनै पनि विषयवस्तुमा जनप्रतिनिधि प्रश्न उठाउनुभयो भनेदेखि बैठक नै स्थगित गर्नुहुन्छ । त्यहाँ छलफल नै हुँदैन । व्यक्तिलाई लागेको कुरा मात्र लाद्नु भनेको त तानासाह हो नि । उहाँको शैली र स्वभाव चाहिँ  बहुदलीयतासँग स्वीकार्य हुनेछैन । अहिलेको व्यवस्था र खुला समाजसँग मिल्ने खालको छैन । त्यसैले उहाँ निरङ्कुश चरित्रउन्मुख हुनुहुन्छ भन्ने स्पष्ट छ ।’

नदी किनारको सवालमा अहिलेको फैसला पुनरावलोकन हुँदा मात्र काठमाडौंवासीलाई न्याय हुने भन्दै २०२१ सालको नापी विपरीत र मिचेर भवन वा संरचना बनाएको छ भने एमालेले गैर कानुनी जमिन फिर्ता ल्याएर नदीको सतह कायम गर्ने बताए ।



सर्वोच्च अदालतका न्यायाधीश द्वय आनन्द मोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले ३ पुस, २०८० मा खोला किनारबाट २० मिटर छोड्नुपर्ने र नदी किनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउनुपर्ने फैसला गरेको थियो। फैसलाको पूर्णपाठ आएपछि काठमाडौं महानगरपालिकाले कार्यान्वयनका लागि पत्राचार गरेलगत्तै एमाले काठमाडौंले प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष नेताहरूलाई पुनरावलोकन गर्नुपर्ने मागसहित ध्यानाकर्षणपत्र बुझाएको थियो । 





  • प्रकाशित मिति : असोज ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया