logo-img

राष्ट्रपतिको निर्देशन- गरिब तथा निमुखाका लागि स्वास्थ्य सेवामा कमी नहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रूपमा प्रत्याभूत गरेको उल्लेख गर्दै यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व भएको बताएका छन् । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औँ वार्षिकोत्सव तथा २० औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रूपमा प्रत्याभूत गरेको  विदितै छ । यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो । दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवम् प्रभावकारी नवीनतम प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्नेतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिने मैले विश्वास लिएको छु ।’

उनले स्वास्थ्यसम्बन्धी पूर्वाधार र प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्र (हब) का रूपमा विकास हुनु लागेकोमा खुसी व्यक्त गर्दै यसबाट उपचारका लागि राजधानी नै धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेछ भन्ने विश्वास पनि व्यक्त गरे । 



‘क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक जनशक्ति उत्पादन गर्न तथा अस्पतालको सेवालाई चुस्त दुरुस्त र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई विशेष ध्यान पुर्‍याउन आग्रह गर्दछु’, उनको भनाइ थियो । 

त्यस्तै, पौडेलले प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफू क्यान्सर रोगबाट ग्रसित भई विदेशमा गएर उपचार गर्नुपरेकाले नेपालीहरूले नेपालमा नै यससम्बन्धी रोगको उपचार गर्ने सुविधा सम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गरेको स्मरण गर्दै २०४९ सालमा तत्कालीन सरकारले लिएको विकेन्द्रीकरणको नीतिलाई कार्यान्वयन गर्ने एक उत्कृष्ट उदाहरणका रूपमा यो अस्पताल निर्माण भएको बताए ।  





  • प्रकाशित मिति : असोज १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया