logo-img

पुरुषमा पनि हुन्छ स्तन क्यान्सरको जोखिम (भिडियोसहित)
के हो स्तन क्यान्सर ? कसरी गरिन्छ उपचार ?

पछिल्लो समय महिलामा स्तन क्यान्सरको समस्या धेरै मात्रामा देखिइरहेको छ । नेपाल हेल्थ रिसर्च काउन्सिलले नेपालका सात जिल्लामा स्तन क्यान्सरसम्बन्धी अध्ययन गरेको थियो । जसमध्ये पाँच जिल्लामा स्तन क्यान्सर हुने महिलाको संख्या निकै धेरै देखिएको थियो । 

विश्वमा गरिएका विभिन्न अध्ययनले ५० देखि ६० वर्षका महिलामा अन्यको तुलनामा बढी स्तन क्यान्सर हुने गरेको देखाएको छ । तर, नेपालमा भने ४० देखि ५० वर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर धेरै देखिएको पाइएको छ । स्तन क्यान्सर र नेपालमा स्तन क्यान्सरको अवस्थाका बारेमा फरकधारकर्मी रेश्मा सिंहले हाल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चिकित्सक तथा अध्यापकको रूपमा कार्यरत कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट डा. समिम अख्तर गरिएको कुराकानीको सम्पादित अंश :

स्तन क्यान्सर के हो ? 

शरीरको अन्य कुनै अन्य अंगजस्तै स्तन पनि खास कार्य गर्नलाई विभिन्न कोषहरूले बनेको अंग हो । स्तन शरीरको बाहिरी भागमा रहेकाले यसमा भएका परिवर्तनलाई सजिलै पत्ता लगाउन सकिन्छ । तर, कुनै किसिमका कोषहरू अनावश्यक रूपमा बढ्दै गयो भने यी नयाँ कोषको समुहलाई स्तन ट्युमर अथवा गाँठो भनिन्छ । 
हुन त स्तनमा हुने सबै गाँठाहरू क्यान्सर हुँदैनन् । लगभग १० प्रतिशत गाँठाहरू मात्र क्यान्सर हुन्छन् । खासगरी स्तनमा सानो गाँठो (खासगरी नदुख्ने) गाँठो जसमा क्यान्सर हुने बढी सम्भावना हुन्छ । 

महिलामा स्तन क्यान्सर हुँदा कस्ता लक्षण देखिन्छन् ?
 
स्तन क्यान्सरको सुरुको अवस्थामा कुनै पनि लक्षण देखापर्दैनन् । सामान्यतया दुख्न पनि दुख्दैन । विभिन्न जाँचहरूबाट मात्रै यस अवस्थाको क्यान्सर पत्ता लाग्दछ । हाम्रो समाजमा केही समस्या नभई स्वास्थ्य परीक्षण गराउने चलन छैन ।

जब क्यान्सर बढ्न थाल्छ, यसले स्तनमा परिवर्तन आउँछ । स्तन अथवा काखीमा प्रायः नदुख्ने साह्रो गाँठो हुनु स्तन क्यान्सरको मुख्य लक्षण हो । अन्य लक्षणमा स्तनमा निको नहुने घाउ, दूधको मुन्टोबाट असामान्य चिज बग्नु, स्तनमा दुख्ने गाँठो तथा दूधको मुन्टोमा परिवर्तन आउनु अथवा कहिलेकाहीँ झरेर जानु आदि हुन् । स्तनमा कुनै किसिमका गाँठाहरू देखियोे भने चिकित्सकसँग परामर्श गरी यसको उपचार गर्नु उचित हुन्छ । 



पुरुषमा स्तन क्यान्सर हुने सम्भावना कति छ ?

सामान्यतया स्तन क्यान्सर महिलामा हुन्छ । तर, यसको मतलब यो होइन कि पुरुषमा स्तन क्यान्सर हुन सक्दैन । महिलामा जस्तै पुरुषमा पनि स्तन क्यान्सरको जोखिम हुन्छ । यद्यपि पुरुषमा स्तन क्यान्सरको जोखिम महिलाको तुलनामा कम हुन्छ ।



एक हजारजना स्तन क्यान्सरको बिरामीमध्ये एकभन्दा कम पुरुषमा देखिन्छ । पुरुषमा स्तन क्यान्सरको समस्या देखिनुका मुख्य कारण यही हो भनेर पत्ता लागेको छैन । तर, जोखिमका कारण भने धेरै छन् ।
 
नेपालमा स्तन क्यान्सरको अवस्था कस्तो छ ?

अहिलेको अवस्थामा नेपालमा कुनै पनि क्यान्सरको वास्तविक तथ्यांक दिन गाह्रो भए पनि विभिन्न केन्द्रीय स्तरका अस्पतालहरूको तथ्यांकलाई हेर्ने हो भने पुरुषमा सबैभन्दा बढी फोक्सोको क्यान्सर र महिलामा पाठेघरको मुखको क्यान्सर पाइएको छ । महिलामा स्तन क्यान्सर दोस्रो नम्बरमा पर्दछ ।

अमेरिका तथा अन्य पश्चिमी मुलुकमा भने महिलामा हुने सबैभन्दा बढी क्यान्सर स्तन क्यान्सर हो । हाल आएर नेपालमा पनि स्तन क्यान्सर हुनेको संख्या बढ्दै गएको देखिन्छ । हालसालै प्रकाशित एक रिर्पाेटअनुसार नेपालमा पाँच प्रमुख क्यान्सरमा फोक्सो, पाठेघरको मुख, स्तन, आमाशय र घाँटीको क्यान्सर पर्दछ ।

स्तन क्यान्सर के कारणले हुने गर्छ ?

स्तन क्यान्सर प्रायःजसो महिलामा हुने गर्दछ । कहिलेकाहीँ पुरुषमा पनि एक प्रतिशत स्तन क्यान्सर हुन्छ । हामीकहाँ स्तन क्यान्सर ३० वर्षदेखि ५० वर्षको उमेरका महिलामा सबैभन्दा बढी ६० प्रतिशतसम्म देखिन्छ । हुन त स्तन क्यान्सर जुनसुकै उमेरमा हुन सक्छ । 

स्तन क्यान्सर हुने विभिन्न कारण छन् । तीमध्ये महिनावारी चाँडो हुनु तथा ढिलो बन्द हुनुले क्यान्सरको सम्भावना बढ्छ । यसैगरी वंशाणुगत, अस्वस्थकर जीवनशैली, अस्वस्थकर खाद्य पदार्थ तथा अत्यधिक रक्सी सेवन गर्ने महिलामा पनि स्तन क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ ।

स्तन क्यान्सरको पहिचान कसरी हुन्छ ?

स्तन क्यान्सर हुँदा लक्षण निकै ढिलो गरी देखिन सक्छन् । त्यसैले स्तन क्यान्सरलाई समयमा नै पत्ता लगाउने हो भने लक्षणलाई कुरेर बस्नुहुँदैन । ४० वर्षमाथिका महिलाले वर्षमा एकचोटि मेमोग्राम गराउने गर्नुपर्छ । मेमोग्रामको सुविधा नभए अल्ट्रासाउण्ड गराएर हेर्नुपर्छ ।

२० वर्षमाथिका महिलाले हरेक वर्ष स्तन परीक्षण गराउनु उपयुक्त हुन्छ । यसरी जाँच गराउने गरे गिर्खा हुनुभन्दा अगाडि नै पत्ता लाग्छ र समयमै उपचार गराउन सकिन्छ । अन्तिम चरणमा रोग पत्ता लागेमा वा जटिल खालको क्यान्सर भएमा उपचार गर्दागर्दै बिरामीको मृत्यु पनि हुन सक्छ । स्तन क्यान्सर शरीरका अन्य भागमा सरिसकेको अवस्थामा रोग निको पार्न गाह्रो हुन्छ । त्यसैले सुरुको अवस्थामा थाहा हुने हो भने स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ ।

विकसित देशहरूमा भने प्रायःजसो बिरामी सुरुको अवस्थामा चिकित्सककहाँ पुग्छन् जसले गर्दा क्यान्सर निको पार्न सकिन्छ । 

स्तन क्यान्सरको उपचार कसरी गरिन्छ ?

स्तन क्यान्सरको निदानको लागि तीन किसिमका जाँचहरू, जस्तैः चिकित्सकद्वारा जाँच, भिडियो एक्सरे अथवा स्तनको विशेष एक्सरे तथा स्तनको ट्युमरबाट निकालिएको कोष तथा तन्तुको जाँच गर्नुपर्दछ । प्रायःजसो बिरामीमा यी तीनवटा जाँचबाट क्यान्सरको निदान हुन्छ ।

निदानपछि स्तन क्यान्सरको अवस्था पत्ता लगाउनुपर्दछ । स्तन क्यान्सरको अवस्था ट्युमरको नाप र कहाँसम्म फैलिएको, ग्रन्थीहरूमा सरेको छ कि छैन तथा अन्य अंगहरूमा सरेको छ कि छैन भनेर जाँच गर्नुपर्दछ ।

स्तन क्यान्सरका उपचार विधिहरू यस रोगको अवस्थामा भर पर्दछ । एकदमै सुरुको अवस्थामा छ भने शल्यक्रिया गरी निकालिदिए पुग्छ । केमोथेरापी र रेडियोथेरापी गरिराख्नुपर्दैन । ट्युमरको हर्माेन रिसेपटर हेरेर हर्माेन थेरापी पनि गर्नुपर्दछ । अवस्था हेरी एउटै बिरामीमा सबै किसिमका उपचार विधिहरू समेत प्रयोग गर्नुपर्ने हुन्छ । नेपालमै सबै उपचार विधिहरू उपलब्ध छन् । 

हाम्रो देशभित्रै स्तन क्यान्सरको सम्पूर्ण उपचार विधि उपलब्ध भएकाले डरलाग्दो रोग भए पनि उपचार गरी निको पार्न सकिन्छ । स्तनमा साविकभन्दा केही परिवर्तन वा गाँठागुठीहरू आउनेबित्तिकै चिकित्सकको सल्लाहअनुसार स्तन क्यान्सरलाई निको पार्न र अन्य अंगहरूमा सर्नबाट रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ ।

क्यान्सरको जोखिमबाट बच्न के गर्नुपर्छ ? 

क्यान्सर रोगबाट बच्न धूम्रपान तथा मद्यपान गर्नुहुँदैन । यसका साथै प्रशोधित खानेकुरा तथा जंकफुड नखाने, शारीरिक रूपमा सक्रिय रहन नियमित व्यायाम, योग गर्ने बानीको विकास गर्नुपर्छ ।

यससँगै तनाव कम लिने, पर्याप्त मात्रामा आराम गर्दा पनि स्तन क्यान्सरको जोखिमबाट बच्न सकन्छि । स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरेर उपचार गर्नुपर्छ भन्ने सन्देश सबैमा पुर्याउन सके पनि यसबाट हुने जोखिमबाट धेरै हदसम्म बच्न सकिन्छ ।

  • प्रकाशित मिति : असोज १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया