logo-img

टी-२० सिरिजमा पनि नेपालको खराब प्रदर्शन, क्यानडासँग १४ रनले स्तब्ध
फाइल तस्बिर

निकै खराब लयमा रहेको नेपाली क्रिकेट टिमले टी–२० सिरिजमा पनि हारबाट सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा झुर ब्याटिङको निरन्तरता जारी राखेपछि नेपालले टी–२० सिरिजमा पनि हारबाट सुरुवात गरेको हो । 

यस खेलमा क्यानडासँग नेपाल १४ रनले स्तब्ध भयो । नेपालले हालै सम्पन्न आइसिसी विश्वकप लिग–२ सिरिजको पहिलो खेलमा पनि क्यानडासँग नै पराजय बेहोरेको थियो । टी–२० मा पनि नेपालले सोही लय दोहोर्यायो । यस खेलमा क्यानडाले दिएको १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रनमै अलआउट भयो । 

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३७ रन बनाए । यस्तै, कुशल मल्लले १२, देव खनालले ११ र सन्दीप लामिछानेले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

यस खेलमा ओपनिङ ब्याटरद्वय अनिल साह ९ र आसिफ शेख ८ रनमै आउट भए । धेरैजसो ब्याटर छक्का प्रहार गर्ने धुनमा क्याच आउट हुन पुगे । नेपाललाई १०९ रनमै अलआउट गर्नेक्रममा क्यानडाका पाकिस्तानीमूलका तीव्र गतिका बलर कलीम सानाले ४ ओभरमा २६ रन दिएर सर्वाधिक चार विकेट लिए ।



यस्तै, सादबिन जाफरले ४ ओभरमा मात्र १३ रन दिएर तीन विकेट हात पारे । प्रवीन कुमार र अखिल कुमारको नाममा एक/एक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रन बनायो ।

उसका लागि सादबिन जाफरले २३, श्रेयस मोभ्वाले २२, प्रवीन कुमारले १९, दीलप्रित बाज्वा र अखिलकुमारले १४/१४ तथा नवनीत धालिवालले १३ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २९ रन दिएर तीन विकेट लिए । यस्तै, सोमपाल कामीले ४ ओभरमा ३१ रन खर्चेर तीन विकेट नै हात पारे । 



रिजन ढकाल र दीपेन्द्र सिंह ऐरीको नाममा एक/एक विकेट रह्यो । यो जितपछि सिरिजमा क्यानडाले दुई अंक जोड्यो । ऊ अहिले तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले अब टी–२० श्रृंखलाको दोस्रो खेलमा आइतबार ओमानको सामना गर्दैछ । यी दुई टिमबीचको खेल पनि राति ९ः४५ देखि सुरु हुनेछ । 



  • प्रकाशित मिति : असोज १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया