logo-img

देशभर बाढीको प्रकोप, बढ्यो संक्रामक रोगको जोखिम

शुक्रबार बिहानदेखि आएको लगातार वर्षाले देशभरका धेरै स्थानमा बाढी, पहिरो गएको छ । शुक्रबारदेखि सुरु भएको वर्षा शनिबार बेलुकीतिर मात्र बन्द भएको थियो । बाढीपहिरो र डुबानमा परी हालसम्म एकसय ४८ जनाको मृत्यु भएको छ । 

यस्तै, ५५ जना बेपत्ता भएका छन् । विपदमा परी एक सय एकजना घाइते भएका छन् । बाढी–पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे दश, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा छजना, सोलुखुम्बुमा पाँच, पाँचथरमा पाँच, भक्तपुरमा पाँचजनाले ज्यान गुमाए । 

गृह मन्त्रालयका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ । दुई दिनको वर्षामा मानवीय मात्रै होइन, लाखौँको धनजनको क्षति भएको छ । 

यस समयमा पानीजन्य संक्रामण रोगको पनि उच्च जोखिम हुन्छ । निरन्तरको वर्षाले धारा, इनारको पानी धमिलो एवं दूषित भएको हुन सक्छ । योबेला शुद्धीकरण नगरी पानी पिउँदा झाडापखाला, हैजा, आउँ, टाइफाइडदेखि विभिन्न छालाजन्य समस्या निम्तिनसक्ने जनस्वास्थ्यविद्ले जनाइरहेका छन् । 



संक्रामकरोगको कहरबाट बचौँ : जनस्वास्थ्यविद् 

दूषित पानीको उपभोगले विभिन्न रोग संक्रमणको उच्च जोखिम हुने विज्ञहरू बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार दूषित पानी पिउँदा हैजा, झाडापखाला, आउँ, टाइफाइड रोगको जोखिम उच्च हुन्छ । बाढीप्रभावितलाई हेपाटाइटिस ‘ए’ र ‘ई’लगायत स्वास्थ्य समस्याले सताउन सक्छ । त्यस्तै, नुहाउन र कपडा धुनका लागि फोहोर पानीको प्रयोग गर्दा छालाजन्य समस्याहरू लुतो, दाद, घाउखटिरा र आँखा पाक्ने रोगले पनि पिरोल्न सक्ने उनको भनाइ छ ।



‘अहिले बाढी, पहिरोका कारण पिउने पानी दूषित भइरहेको हुन्छ । दूषित पानी पिउँदा पानीजन्य समस्याहरू देखिन सक्छन् । झाडापखाला हुने, ज्वरो आउने, बान्ता गराउने खालका संक्रामक रोगको जोखिम उच्च हुन्छ,’ डा. पुन भन्छन्, ‘यी पानीजन्य समस्या र रोगको संक्रमणले बाढी प्रभावित मात्र नभई जो–कोहीलाई सताउन सक्छ । यस्ता लक्षण देखिनेबित्तिकै नजिकैको स्वास्थ्य चौकी जानुपर्छ । घरमै पनि सावधानी अपनाउनुपर्छ ।’ बाढी प्रभावित क्षेत्रका बासिन्दा र विस्थापितहरू पानीजन्य रोग संक्रमणको उच्च जोखिममा रहेकाले पानी उमालेर पिउनुपर्ने डा. पुनको सुझाव छ । 



यस्तै, वर्षातको पानी बिसर्जन नहुँदा खाल्डाखुल्डी, सवारीसाधनका टायर एवं गमलामा जमेर बसेको हुन्छ । त्यसखालको पानीमा लामखुट्टे, भुसुनाहरू हुर्कने र कीटजन्य रोग उत्पन्न गर्ने जोखिम उच्च हुने डा. पुन बताउँछन् । ‘वर्षात् रोकिएको केही समयपछि कीटजन्य रोगहरूको पनि जोखिम झन् बढ्दै जान्छ,’ डा. पुन भन्छन्, ‘समयमै सजग नहुने हो भने यस वर्ष कीटजन्य समस्याले झन् बढी सताउन सक्छ ।’ 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनीका अनुसार विपद््को बेला स्थानीय निकाय बढी सक्रिय हुनुपर्छ । ‘पिउने पानीको शुद्धीकरण गर्नमा ध्यान दिनुपर्छ । नियमित रूपमा क्लोरिन झोल वा ट्याब्लेट हालेर वा उमालेर पानीलाई शुद्धीकरण गरी पिउने व्यवस्था मिलाउनुपर्छ । यसका लागि स्वास्थ्यकर्मी, स्वयंसेविकालाई यथाशीघ्र परिचालन गर्नुपर्छ,’ डा. मरासिनीको सुझाव छ, ‘पिउने पानीको स्रोत (मुहान)हरू सफा नगर्ने हो भने कीटाणुहरू घरघरमा पुग्न सक्छन् । यस काममा जनप्रतिनिधि एवं विभिन्न राजनीतिक दलका कार्यकर्ताहरू परिचालित हुनुपर्छ ।’ 

घरका नल्का, एवं इनारमा भलको पानी पसेको छ भने क्लोरिन राखेर मात्र पिउनयोग्य हुने डा.मरासिनी बताउँछन् । उनका अनसार क्लोरिन झोल वा ट्याबलेट हालेर वा उमालेर पानीलाई शुद्धीकरण गरेपछि मात्र पिउनुपर्छ । शुद्धीकरण गरेको पानी सधैँ सफा भाँडामा छोपेर राख्नुपर्छ । पानी निकाल्ने भाँडा सधैँ सफा राख्नुपर्छ । वर्षातको बेला सडेगलेका, बासी र झिँगा भन्केका खानेकुराहरू खानुहुँदैन । काँक्रो, गाजर, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुराहरू पनि सफा पानीले धोएर मात्र खाने बानीको विकास गर्नुपर्छ । 

बाढीका कारण विभिन्न स्थानमा पानीको मुहान प्रदूषित हुने भएकाले यस्तो बेला रुखाखोकी, झाडापखाला, हैजा, आउँ, निमोनिया तथा टाइफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा उपचार गर्न जान डा. पुन सुझाउँछन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई पानीजन्य रोगहरू निम्तिन सक्ने भएकाले स्वास्थ्यमा रोगका कुनै पनि लक्षण देखिए नजिकै रहेको स्वास्थ्य चौकी तथा चिकित्सककहाँ जान सुझाएको छ । यसका साथै मन्त्रालयले यस्तो परिस्थितिमा स्वास्थ्यको विशेष ख्याल गर्न अनुरोध गरेको छ । 

कस्तो सावधानी अपनाउने ? 

– पानी उमालेर मात्र पिउने गर्नुपर्छ, 
– क्लोरिन झोल वा ट्याब्लेट हालेर शुद्धीकरण गरिएको पानी पिउने,
– सडेगलेका, बासी, झिँगा भन्केका खानेकुरा नखाने, 
– दिसा–पिसाब जथाभावी नगर्ने, चर्पीमा मात्र गर्ने, 
– बच्चाको दिसा पनि चर्पीमै बिसर्जन गर्ने, 
– फोहोरलाई निश्चित ठाउँमा सही तरिकाले व्यवस्थापन गर्ने, 
– खोक्दा, हाच्छिउँ गर्दा सफा कपडाले नाक, मुख छोप्ने 

 

  • प्रकाशित मिति : असोज १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया