बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्धारलाई तीव्र पारिएको छ ।
आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिका लगायत विभिन्न प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर परिचालित रहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।
उनले भने, ‘गत शनिबार खराब मौसमका कारण काभ्रेपलाञ्चोकमा हेलिबाट उद्धार गर्न सकिएन । मौसममा सुधार आएसँगै सेनाको हेलिकप्टर उद्धारमा निरन्तर खटिएको छ ।’
उनले सोमबार (हालसम्म) सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोकको दार्चा र मंगलटारबाट १३२ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको जानकारी दिए । उद्धार गरी ल्याइएका र अलपत्र यात्रु तथा स्थानीयहरूलाई गृह मन्त्रालयले तत्कालको राहत सामाग्री पनि उपलब्ध गराइरहेको उनले बताए ।
त्यसै गरी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सिन्धुली र ललितपुरमा समेत पठाइएको प्रवक्ता तिवारीले बताए । आइतबार काभ्रेपलान्चोक, सिन्धुली र ललितपुरमा गरी १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
बिपी राजमार्गमा अवरुद्ध सडक खुलाउनुका साथै डोरीको सहायताबाट समेत सुरक्षाकर्मीले अलपत्र यात्रुहरूको उद्धार जारी राखेका छन् ।
सो क्षेत्रको सडक सुचारु गर्न आवश्यक सवारीसाधनका लागि पेट्रोलियम पदार्थ समेत हेलिकप्टरबाट ढुवानी गरिरहेको गृह मन्त्रालयले जनाएको छ । यता पहिरोका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले अवरुद्ध सडक आइतबार रातिदेखि सुचारु भएको छ ।
विपद्मा अलपत्र परेकाहरूको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम प्रभावित क्षेत्रमा सक्रियताका साथ परिचालित रहेको गृह मन्त्रालयले जनाएको छ । प्रवक्ता तिवारीका अनुसार हालसम्म सुरक्षाकर्मीहरूले चार हजार जनाको सकुशल उद्धार गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।